newskoseli.Com

देउवाको गुनासो : संविधानले दिएका अधिकार ‘वामपन्थी’ सरकारले कार्यान्वयन गरेन

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा नयाँ संविधान कार्यान्वयन भए पनि संविधानले दिएका पूरै अधिकार वर्तमान ‘वामपन्थी’ सरकारले कार्यान्वयन नगरेको गुनासो गरेका छन् ।

नेपाल प्रेस युनियन चितवनद्वारा शुक्रबार आयोजित ‘प्रेस युनियन मैयादेवी सूचना केन्द्र भवन’ को उद्घाटन, ‘चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ वितरण र प्रेस युनियन चितवनको आठौं जिल्ला अधिवेशन उदघाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले यस्तो गुनासो गरेका हुन् ।

संविधानले सम्पूर्ण नेपालीको अधिकारको व्यवस्था गरेको दावी गर्दै त्यसको कार्यान्वयन पक्ष पनि उत्तिकै महत्त्वपूर्ण कुरा भएकोमा देउवाले जोड दिए । कांग्रेस सधैं प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउँदै उनले भने– ‘प्रेस स्वतन्त्रता, मौलिक अधिकार र लेख्ने–बोल्ने स्वतन्त्रताको पक्षमा कुनै पनि किसिमको बन्देज लगाउन पाइँदैन ।’

कुनै पनि हालतमा प्रेस स्वतन्त्रता हनन हुन नदिने प्रतिबद्धता समेत उनले व्यक्त गरे । देउवाले भने– ‘प्रेस युनियन स्वतन्त्र निकाय हो, तपाईंहरुलाई पार्टीबाट अंकुश लगाउने काम हुँदैन ।’ उनले ५५ लाख रुपैयाँको लागतमा नवनिर्मित ‘नेपाल प्रेस युनियन मैयादेवी सूचना केन्द्र’ भवनको उदघाटन गरे ।

सोही कार्यक्रममा बोल्दै कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले लोकतन्त्रमा पत्रकारिता स्वतन्त्र र निष्पक्ष हुनुपर्ने बताए । कार्यक्रममा ५१ हजार १ सय ५१ रुपैयाँ राशिको ‘चिजकुमार–विष्णुकुमारी श्रेष्ठ स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार’ २०७२ बाट किशोर नेपाल, २०७३ बाट कुलचन्द्र वाग्ले र २०७४ बाट तेजप्रकाश पण्डितलाई पुरस्कृत गरियो । त्यसैगरी, ११ हजार १ सय ११ रुपैयाँको ‘क्रियाशील पत्रकारिता पुरस्कार’ नारायणी अनलाइनका राजु चौधरीलाई प्रदान गरियो ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देल, वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठ, प्रदेशसभा सदस्य गीता वाग्ले, भरतपुर महानगरपालिकाकी प्रमुख रेणु दाहाल, पुरस्कारदाता प्रमोदकुमार श्रेष्ठ, नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष राधेश्याम खतिवडा, प्रेस युनियन चितवनका अध्यक्ष नारायण अधिकारी, नेपाल ट्रेड युनियन कांग्रेस चितवनका अध्यक्ष हरिहर सापकोटालगायतले मन्तव्य व्यक्त गरे ।

भवन निर्माण गर्न जग्गादान गर्ने समाजसेवी मैयादेवी श्रेष्ठलगायत आर्थिक सहयोग गर्ने दातालाई पनि कार्यक्रममा सम्मान गरियो । शुक्रबारदखि सुरु युनियनको आठौं जिल्ला अधिवेशन शनिबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर