newskoseli.Com

विप्लवका पत्रकारमाथि वडाअध्यक्षको खुकुरी प्रहार : आन्दोलनमा उत्रने संगठनको चेतावनी

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट ‘क्रान्तिकारी पत्रकार संगठन, नेपाल’ का जिल्ला नेता एवम् ‘माडी खबर’ साप्ताहिकका सम्पादक केन्द्रप्रकाश पीबीमाथि प्युठान जिल्लाको स्वर्गद्वारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमै खुकुरी प्रहार भएको छ ।

सोही नगरपालिकाको वडा नं. ७ का वडाअध्यक्ष टेकबहादुर भट्टराईले पत्रकार पीबीमाथि सोमबार खुकुरी प्रहार गरी घाइते बनाइदिएका हुन् । पत्रकारमाथि आक्रमण गर्ने ‘जनप्रतिनिधि’ माथि तत्काल कार्बाही गर्न सो संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले माग गरेका छन् ।

आफ्नो संगठनका स्थानीय कार्यकर्ता पीबीको स्वास्थ्य अवस्था बुझ्न सोमबार मध्यराति लुम्बिनी अञ्चल अस्पताल पुगेका अध्यक्ष डुम्रेले पछिल्लो समय नेपाली प्रेसमाथि आक्रमण र दुर्व्यवहार बढ्दै गएकोमा चिन्ता व्यक्त गरेका छन् । पत्रकार पीबीमाथिको आक्रमण पनि सोही प्रवृत्तिको पछिल्लो कडी भएको भन्दै अध्यक्ष डुम्रेले जिम्मेवार ‘जनप्रतिनिधि’ बाटै यस्तोखाले आक्रमण हुनु निकै दुःखद एवं निन्दनीय विषय भएको बताए ।

आफूलाई ‘जनताद्वारा निर्वाचित जनप्रतिनिधि’ दावी गर्नेले नै समाचार संकलन गर्ने क्रममा अनियमितता र भ्रष्टाचारको प्रसङ्ग उठ्नासाथ पत्रकारलाई खुकुरी हान्नु पराजित मानसिकताको उपज भएको डुम्रेले बताएका छन् ।

त्यस्ता ‘जनप्रतिनिधि’ लाई तत्काल कारबाही गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष डुम्रेले उक्त घटनाको घोर भर्त्सनाका साथ घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । ‘जनप्रतिनिधि’ को यस्तो रवैयाले सरकार र सरकारका प्रतिनिधिहरूको चरित्र उदांगो भएको भन्दै यस्ता खाले घृणित क्रियाकलापले यो व्यवस्थामाथि नै प्रश्नचिह्न खडा भएको डुम्रेले बताए ।

सञ्चारकर्मीको हत्या गर्ने मनशायका साथ दिनदहाडै सरकारी कार्यालयमै खुकुरी प्रहार गर्ने कथित जनप्रतिनिधिमाथि तत्काल कडा कार्बाही नगरिए आफूहरू चरणबद्ध आन्दोलनमा उत्रने चेतावनी क्रान्तिकारी पत्रकार संगठन नेपालले दिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर