newskoseli.Com

शिक्षामन्त्रीको घोषणा : अब माविको पाठ्यक्रममै ‘योग शिक्षा’ !

जहाँ, जुन सन्दर्भको कार्यक्रममा पुग्यो, त्यही अनुसारका मौखिक आश्वासन दिँदै हिँड्ने विगतका सत्ताधारीहरुको चरित्र वर्तमान सरकारका जिम्मेवार मन्त्रीहरुले पनि दोहोर्‍याइरहेका छन् ।

यस्ता आश्वासन दिँदै हिँड्न हाम्रा मन्त्रीहरुलाई कुनै विचार–विमर्श, बहस–छलफल र अध्ययन–अनुसन्धानको आवश्यकता पर्दैन, बस्, निजी आम्दानीको सम्भावना, व्यक्तिगत अभिरुचि र गुटगत स्वार्थको योग भए पुगिहाल्छ ।

हालै मात्र ठीक यही प्रवृत्तिको पुनरावृत्ति गरेका छन् शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले । बर्दिवास नगरपालिकाले बडादसैंको अवसरमा अहिले सातदिने योगशिविर सञ्चालन गरिरहेको छ । बर्दिवासमा फूलपातीका दिन (मङ्गलबार) आफैं योगसाधनामा सामेल भएर मन्त्री पोखरेलले योगशिविरको शुभारम्भ गरे ।

सो अवसरमा योगले शरीर मात्र नभई मन, विचार र कामप्रतिको लगनलाई पनि स्वस्थ्य राख्ने मन्त्री पोखरेलले बताए । सदविचार, सदआचरण र सत्कर्म अवलम्वनमा योगले सघाउने उनले बताए । ‘योगले मानव मन र शरीरलाई जोड्ने कुरा विज्ञानले पुष्टि गरेको छ,’ मन्त्री पाखरेलले योग शिविरमा सहभागीलाई हौस्याँउँदै भने– ‘अब योगलाई शिविरमा मात्र होइन, आफ्नै घरमा नियमित दैनिक तालिकामा गाभ्नुहोस् ।’

यतिसम्म त ठीकै थियो, राष्ट्रको आवश्यकता, भावना र सन्दर्भ एवं पदीय हैसियत बिर्सेर मन्त्री पोखरेलले भन्दै गए– ‘वर्तमान सरकारले योगलाई अब उच्च प्राथमिकतामै राखेर माध्यमिक तहको पठनपाठनका लागि पाठ्यक्रममै राख्न लागेको छ ।’ विश्व स्वास्थ्य सङ्गठनले ६२ प्रतिशत नसर्ने रोगको भयानकता बताएकोतर्फ इङ्गित गर्दै योगले यो भयानकता नियन्त्रण गर्ने दावी मन्त्री पोखरेलले गरे ।

योगलाई अब अभियानकै रूपमा नगर क्षेत्रमा निरन्तरता दिइने वर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले योगशिविरमा बताए । शिविरमा काठमाडौं इञ्जिनियरिङ कलेज कालिमाटीका योग शिक्षक शान्त खरेलले प्रशिक्षण दिँदै छन् । पहिलो पटक आयोजित यस योगशिविरमा ५० जना सहभागी रहेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर