newskoseli.Com

‘मन्त्रिमण्डलको फेरबदल होइन, गल्ती गर्ने मन्त्रीहरुमाथि कारबाही’ : बडाल

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिका सदस्य केशव बडालले सरकारको ७ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् ।

‘सरकार रातदिन काम गरिरहेको छ, सरकारबाट अहिलेसम्म कुनै अलोकप्रिय काम भएका छैनन्,’ राजधानीमा बिहीबार आयोजित कार्यक्रममा उनले भने– ‘आजको भोलि नै सबै काम हुँदैनन्, समय लाग्छ, ५ वर्षमा गर्ने काम सबै आजै पूरा हुँदैनन् ।’

अप्राकृतिक मूल्यवृद्धि भएको भन्दै नेता बडालले त्यसलार्इ सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बताए । ‘सरकारको विकल्प खोज्दा अस्थिरता निम्तिन्छ,’ उनले भने– ‘सरकारलाई सफल बनाउन सबैको सहयोग चाहिन्छ; राष्ट्रको समृद्धि, निर्माण र विकास एकल पार्टीले गर्न सक्दैन,एकताबद्ध प्रयास भयो भने मात्र देशको समृद्धि सम्भव हुन्छ ।’

अहिले मन्त्रिमण्डलमा फेरबदल गर्नुभन्दा पनि गल्ती गर्ने मन्त्रीहरुलाई कारबाही गर्नुपर्ने सुझाव दिँदै नेता बडालले भने– ‘मन्त्रिमण्डल फेरबदल गरेर हुँदैन, यदि कसैले गल्ती गरेको छ भने ऊमाथि कारबाही गर्नुपर्छ ।’

सरकारको ७ महिनाको कार्यकाल सफल भएको दाबी उनले गरे । सरकारले ७ महिनामा सम्पूर्ण ऐन तथा कानुन पारित गरेको, चीनसँग व्यापार तथा पारवाहन सन्धि गरेको, भारतसँग थप हवाई रुटको सम्झौता गरेको, तराई डुबानको समस्या न्यून गर्न भारतलाई सकारात्मक बनाएको, विराटनगरमा रहेको फिल्ड अफिस हटाएकोलगायतका फेहरिस्त सुनाउँदै सरकार सफल भएको पुष्टि गर्ने आधारहरु उनले प्रस्तुत गरे ।

राष्ट्रिय महत्त्वका विषयहरुमा सबैबीच सहकार्य र सहमति हुनु आवश्यक रहेकोमा जोड दिँदै उनले भने– ‘सरकारले साँच्चिकै गल्ती गरेको छ भने विरुद्धमा पनि उत्रनुपर्छ तर विरोधका लागि विरोध भनेजसरी अनावश्यक विरोध गर्नुहुँदैन ।’ राष्ट्रिय स्वाधिनता, अखण्डता, एकता, सार्वभौमिकता, संविधान कार्यान्यवयन र सामाजिक न्यायको काममा सबै दलहरुबीच हातेमालो हुनु जरुरी रहेकामा उनले जोड दिए ।

सरकार संविधान संशोधन गर्न पनि तयार नै रहेको उनले बताए । राष्ट्रिय एकता, अखण्डता, सार्वभौमिकताजस्ता विषयमा अनावश्यक ढंगले उदार हुन नसकिने जिकिर उनले गरे । नेता बडालको भनाइ छ– ‘जरुरी विषयमा मात्रै संविधान संशोधन हुन्छ, विभेद छ भने त्यसलाई संशोधन गर्नुपर्छ तर सीमित व्यक्तिहरूको फाइदाका लागि केन्द्रित भएर संविधान संशोधन र अरू महत्त्वपूर्ण राजनीतिक तथा नीतिगत निर्णय लिइनु हुँदैन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर