newskoseli.Com

७ महिना हेर्दा ओली सरकार असफलताउन्मूख : डा. खड्का

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. नारायण खड्काले विगत ७ महिनाका गतिविधि हेर्दा केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार असफलतातर्फ उन्मूख देखिएको बताएका छन् ।

बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा बोल्दै डा. खड्काले भने– ‘स्वयम नेकपाकै शीर्ष नेताहरुले सरकारको आलोचना गरिरहनुभएको छ र ७ महिनाको कार्यकालका संकेत हेर्दा हामीले पनि अनुमान गर्न सक्छौं, अहिले धेरै ठूलो दबाब र उकुसमुकुसका साथ नेकपाकै नेताहरुले पनि भनिरहनुभएको छ– सरकार असफलतातर्फ उन्मूख छ, ओली नेतृत्वको सरकार क्रमिक रुपमा असफलतातर्फ उन्मूख नै ।’

‘केही दिन अगाडि, व्यवस्थापिका संसदको अन्तिम बैठकका दिन नेकपाकै वरिष्ठ नेता माधवकुमार नेपालजीले पनि ‘जहाज डुब्नै लाग्यो, कोही आएर बचाइदेऊ न’ भनेर गीत गाउनुभयो; मलाई लाग्छ त्यो उहाँले बोल्नैपर्ने भएर होला, बाध्य भएर बोल्नुभएको हो,’ डा. खड्काले अगाडि भने– ‘हिजो–अस्ती मात्रै पनि म मिडियामा सुन्दैछु कि पूर्वप्रधानमन्त्री एवम् नेकपाका नेता झलनाथजीले पनि सरकार असफल भयो भन्नुभएको छ, प्रचण्डजीको बोली पनि सकारात्मक छैन, सरकारको कामकारबाहीबारे नेकपाभित्रै व्यापक असन्तुष्टि छ ।’

७ महिनाको कार्यकाल हेर्दा वर्तमान सरकार असफलतातर्फ उन्मूख रहेको स्पष्ट संकेतहरु देखापरेको बताउँदै उनले भने– ‘तर म व्यक्तिगत रुपमा सरकारको सफलताको कामना गर्दछु, सरकार असफल होस् भन्न म चाहँदिन ।’

ठूलठूला कुरा गरेर गरिब–निमुखा जनतालाई आशामा अल्झाउनु नहुने उनको सुझाव छ । ‘कहिले रेल आउला भनेर गरिब जनतालाई कुनै मतलब छैन, यसले उनीहरुलाई आकर्षण गर्दैन,’ डा. खड्काले अगाडि भने– ‘दैनिक जीविकाको सवालमा मात्रै जनताको ध्यान छ तर सरकारले महँगी, भ्रष्टाचारलगायतमा खोई त अनुगमन गरेको ?’

सरकारको प्रस्तुतिबाट बहुसंख्यक जनता निराशा देखिँदै गएको बताउँदै उनले भने– ‘बलात्कारपछि निर्मला पन्तको हत्या भयो, प्रधानमन्त्रीले निर्मलाको हत्यारा पत्ता लगाउन १२ वर्ष लाग्न सक्छ भन्नुभयो, प्रधानमन्त्रीजस्तो व्यक्तिले यस्तो गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिने हो ?’

सरकारले अन्तर्राष्ट्रिय सम्बन्धमा भने सुधार गरेको भन्दै प्रधानमन्त्री ओलीको प्रशंसा गरे । ‘हेर्नुहोस्, बीपीले पनि अन्तर्राष्ट्रिय सम्बन्ध सुधार गर्नुभएको थियो, उहाँको सरकार पनि दुईतिहाई बहुमतको थियो तर १८ महिनामै ढल्यो,’ डा. खड्काले भने– ‘कहीं ओलीजीको नियति पनि त्यस्तै नहोस्, अब भाषणबाजी गरेर देश चल्दैन, जनताले डेलिभरी खोजेका छन्, मुल्यवृद्धि नियन्त्रण गर्नुपर्छ ।’

सरकारले ५ वर्षसम्म राम्रो काम गरोस् भन्ने आफूहरुको चाहना भएको खड्काले बताए । बुढीगण्डकी गेजुवालाई दिनु गलत भएको भन्दै उनले विरोध जनाए । नेता खड्काले भने– ‘कुनै तयारी नै नगरी किन दिइयो ? हचुवाको भरमा निर्णय गर्नुहुँदैन ।’ वाइड बडी जहाज खरिद प्रकरणमा पनि ठूलो भ्रष्टाचार भएको कुरा सुन्नमा आएको बताउँदै यसको यथार्थताबारे प्रष्ट पार्न उनले सरकारसँग माग गरे ।

सरकारले आफूहरुसँग कुनै छलफल तथा सम्बाद नै नगरेको भन्दै उनले गुनासो पोखे । ‘प्रधानमन्त्री भारत, चीन र संयुक्तराष्ट्र जानुभयो, संयुक्त राष्ट्रसंघ जानुभन्दा पहिले देउवाजीसँग डाइलग गरेको भए हुन्थ्यो,’ डा. खड्काले भने– ‘अमेरिकाबाट कोस्टारिका पनि जानुभयो, १८ देखि २० करोड खर्च भयो तर भ्रमणदलमा प्रतिपक्षी दलका सांसदहरुलाई समावेश गर्नुभएन, प्रधानमन्त्रीले सम्बाद नै गर्नुभएन ।’

दुईतिहाइको बहुमत भएर मात्रै नहुने बताउँदै सरकारले राजनीतिक, धार्मिक, आर्थिक र विदेश नीतिलाई सन्तुलनमा राख्न सक्नुपर्नेमा उनले जोड दिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर