newskoseli.Com

दसैं सकिएसँगै नेकपामा चहलपहल : टुंगिँदै विभाग, जवस र जिल्लाको एकीकरण

आन्तरिक विवादका कारण झन्डै चार महिनादेखि अल्झिइरहेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तल्ला तहको एकीकरण प्रक्रियाले दसैं सकिएसँगै गति लिने भएको छ ।

झन्डै दुई दर्जनको संख्यामा रहेका पार्टी मातहतका जनवर्गीय संगठनहरु र जिल्ला तहका पार्टी कमिटीहरु तथा केन्द्रीय विभागहरूको एकीकरणसम्बन्धी यसअघि कतिपय कार्यदलहरुले प्रतिवेदन नै नदिएको र दिएकामा पनि तीव्र विवादमा देखिएपछि एकीकरण प्रक्रिया लम्बिँदै आएको हो ।

नेकपाले एकीकरणका अल्झिएका काम सक्नेबारे छलफल गर्न आइतबार र सोमबार (कात्तिक ४ र ५ मा) सचिवालय बैठक डाकेको छ । बैठकले छलफल गरेपछि पार्टीका स्थायी समिति बस्ने गरी समन्वय समेत गरिरहेको जानकारी केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले दिएका छन् ।

नेता श्रेष्ठका अनुसार १२ र १३ गतेका लागि स्थायी समितिको बैठक बोलाइएको छ । अब बस्ने बैठकले जिल्लास्तरको एकताको गाँठो फुकाउने र केन्द्रीय विभागहरूलाई पनि पूर्णता दिने योजना रहेको नेताहरूले जनाएका छन् ।

एमाले र माओवादी केन्द्रबीच संयुक्त चुनावी गठबन्धन सुरु भएदेखि नै नेकपाका संगठनहरू चलायमान छैनन् । जेठमा केन्द्रमा एकता गरेपछि त झन् पार्टीका काम करिव ठप्प नै छन् । दसैंअघि बसेको सचिवालयको संक्षिप्त बैठकमा एकता प्रक्रियाका अल्झन हटाउनेबारे छलफलै हुन सकेन । नेता वामदेव गौतम चुनावमा उठ्ने प्रसंग र काठमाडौं– ७ का सांसद रामवीर मानन्धरको राजीनामाको पत्र उक्त बैठकमा अकस्मात् आएपछि अन्य विषयमा छलफल हुन सकेको थिएन ।

नेकपाले हालसम्म प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव मात्रै तोकेको छ । यद्यपि सो निर्णयमाथि समेत वरिष्ठ नेता माधवकुमार नेपालको असहमति कायमै छ । नेपालको असहमति भए पनि प्रदेशका पदाधिकारीहरूले काम थालिसकेका छन् ।

प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिवहरूले सहमति कायम हुन सक्ने जिल्लाहरुको खाका बनाइरहेका छन् । दुवै पार्टीको सम्पत्ति एकीकृत गर्ने, भेलाहरू आयोजना गर्नेलगायतका काम प्रदेशका पदाधिकारीहरूले गरिरहेका छन् । अब केन्द्रबाट एउटा ठोस निर्देशन जाने बित्तिकै जिल्ला तहको सबै एकीकरण पूरा हुन्छ ।

पार्टी एकीकरण नभएका कारण सरकारले गरेका कामकारबाहीमा स्वामित्व लिन समेत नेताहरूले हिच्किचाइरहेका छन् । त्यसैले नेताहरूमा छिटो एकीकरण टुंग्याउनुपर्ने दबाब छ ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दसैंको बिदाको समयमा पनि आन्तरिक परामर्श गरी सचिवालय बैठकको तयारी गरेका छन् । सचिवालयले एकताका सैद्धान्तिक आधारबारे गृहकार्य गरेपछि स्थायी समितिमा बृहत् छलफल हुन्छ । स्थायी समिति बैठकले सरकारका कामकारबाहीको समीक्षा समेत गर्ने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर