newskoseli.Com

बालुवाटारमा नेकपा सचिवालय बैठक : मन्त्रीहरूको फेरबदलबारे छलफल

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय सचिवालयको बैठक सुरू भएको छ । बैठकले पूर्वनिर्धारित अन्य कार्यसूचीका अलावा मन्त्रीहरुको फेरबदल सम्बन्धमा समेत छलफल गर्ने बुझिएको छ ।

बिहान ११ बजेपछि बस्ने भनिएको बैठक केही ढिलो गरी बस्न लागेको हो । यसअघि असोज २४ मा बस्ने भनिएको सचिवालय बैठक असोज २७ का लागि सारिएको थियो । सो समयमा पनि बैठक बस्न नसकेपछि ओली र प्रचण्डबीचको छलफलबाट दसैंलगत्तै (कात्तिक ४ र ५ मा) बस्नेगरी सारिएको थियो ।

पार्टीका तल्ला कमिटीहरुको एकीकरण, स्थायी कमिटी बैठकका लागि एजेन्डा निर्धारण तथा सरकारको काम–कारबाहीबारे समीक्षा गर्न बैठक बस्न लागेको हो । बैठकमा मुख्यगरी प्रदेशका पदाधिकारी छनोट,सरकारका काम–कारबाही लगायतका विषयमा छलफल हुने बताइएको छ ।

यसअघि प्रदेश कमिटीका पदाधिकारी चयनमा एकलौटी गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गर्दै सचिवालयमा असन्तुष्टिपत्र दर्ता गराएका थिए । यस बैठकमा माधव नेपालले दर्ता गराएको असन्तुष्टिपत्रका विषयमा पनि छलफल हुने जानकारी नेताहरुले दिएका छन् ।

कात्तिक १२ र १३ मा बस्ने भनी यसअघि नै तय भैसकेको स्थायी समितिको बैठकमा प्रस्तुत गरिने एजेन्डाका विषयमा समेत सचिवालयको यो बैठकमा छलफल हुने बताइएको छ । सत्तारुढ दलभित्रै सरकारका काम–कारबाहीबारे असन्तुष्टि बढेकाले यो बैठकमा मन्त्रीहरुको फेरबदलबारे समेत छलफल हुने बुझिएको छ ।

दसैंलगत्तै केही मन्त्रीहरूको फेरबदल गर्न सक्ने संकेत प्रधानमन्त्री ओलीले यसअघि नै गरेका थिए । प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालको तीन महिने अवधि पूरा भएका बेला सबै मन्त्री र सचिवलाई बोलाएर कार्ययोजना पेस गर्न र प्रभावकारी काम गर्न निर्देशन दिएकोमा ७ महिना बितिसक्दा समेत प्रभावकारी काम गर्न नसकेका मन्त्रीहरु फेर्ने संकेत यसअघि नै गरेका थिए ।

आफ्नो भारत भ्रमणको पूर्वसन्ध्यामा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समेत सरकारको ‘टिम परिवर्तन’ गरेर भए पनि प्रभावकारी ढंगले काम अघि बढाउनुपर्ने बताएका थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर