newskoseli.Com

रामवीरको राजीनामा फिर्ता : टुंगियो उपनिर्वाचनको बहस

वर्दियाबाट पराजित नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसदमा पठाउने भन्दै प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन स्वीकृति माग्दै पार्टी नेतृत्वलाई बुझाएको पत्र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आइतबारको सचिवालय बैठकले अस्वीकृत गरी ‘यसबारे कुनै निर्णय गर्नु नपर्ने’ निर्णय लिएको छ । सचिवालयको यो निर्णयसँगै नेता गौतमलाई सांसद बनाउने पहल र चर्चा हालका लागि अन्त्य भएको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नं. ७ बाट निर्वाचित नेकपाका सांसद मानन्धरले पार्टीका नेता वामदेव गौतमलाई उपनिर्वाचनमार्फत प्रतिनिधिसभामा ल्याउन आवश्यक परे आफू राजीनामा दिन तयार रहेको भन्दै अनुमति पाउन पार्टी नेतृत्वसमक्ष पत्र बुझाएका थिए । मानन्धरले बुझाएको पत्रबारे छलफल गर्दै बैठकले हाल राजीनामा दिनु नपर्ने औपचारिक निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न आइतबारको बैठकमा मानन्धरले संसद् सदस्यबाट राजीनामा दिन अनुमति माग्दै बुझाएको पत्रका विषयमा छलफल गरी त्यसबारे हाल कुनै निर्णय गर्नु नपर्ने निर्णय लिइएको जानकारी बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए । असोज २२ को सचिवालय बैठकमा मानन्धरको उक्त पत्रबारे अनौपचारिक छलफल भएको थियो ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत पूर्वपरामर्श नगरी मानन्धरले एकाएक राजीनामा लागि अनुमति मागेपछि शीर्ष नेताबीच आपसी शङ्का पैदा भएको थियो । मध्यमार्गी नेताहरुको अनौपचारिक संवादमार्फत पार्टी यो निर्णयमा पुगेको हो ।

मानन्धरले राजीनामा दिने विषयबारे पार्टीभित्र र बाहिर व्यापक टीकाटिप्पणी हुनुका साथै निर्वाचित भएको एक वर्षमै सांसदलाई राजीनामा गराई बाहिरको नेतालाई उपनिर्वाचनको उम्मेदवार बनाएमा पार्टी पराजित हुन सक्ने खतरा औंल्याइएको थियो । यस्तो प्रवृत्तिले निर्वाचनका लागि राज्यको अतिरिक्त खर्च हुने बहस समेत उत्पन्न भएको थियो ।

पार्टीका उम्मेदवारले हार्ने गरी उपनिर्वाचन नगर्ने अध्यक्ष प्रचण्डको सार्वजनिक अभिव्यक्तिसँगै नेता गौतमले पनि मानन्धरले आफूप्रति देखाएको सद्भावका लागि धन्यवाद दिँदै आफू उपनिर्वाचन लड्न अनिच्छुक रहेको सार्वजनिक प्रतिक्रिया दिएका थिए ।

प्रदेशका इञ्चार्ज, सहइञ्चार्ज, अध्यक्ष र सचिव चयनमा वरिष्ठ नेता माधवकुमार नेपालले सार्वजनिक रूपमा व्यक्त गरेको असन्तुष्टि, उपनिर्वाचन, मन्त्रीहरूको कार्यक्षमतालगायतका विषयमा चलिरहेको विवाद साम्य नहुँदा सचिवालय बैठक पटक–पटक सर्दै आएको थियो ।

सचिवालयको चालु बैठकमा प्रदेश कमिटीको पूर्णता, जिल्ला कमिटीको गठन, कात्तिक १२–१३ मा हुने स्थायी समिति बैठकको कार्यसूची तर्जुमा, पार्टी, संसद् तथा सरकारको समीक्षा, केन्द्रीय कार्यालयको व्यवस्थापनलगायत विषयमा छलफल गर्ने कार्यसूची छ । जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकता घोषणा भएलगत्तै ३ महिनाभित्र तल्लो तहसम्म एकतालाई पूर्णता दिने बताइए पनि ५ महिना बितिसक्दा समेत तल्ला तहको एकता हुन सकेको छैन ।

साङ्गठनिक एकतालाई हरहालतमा टुङ्गो लगाई पार्टीलाई अझ बढी सुदृढ एकताका आधारमा, एकताबद्ध पार्टी र नेतृत्वका आधारमा सरकारलाई सफल बनाउन आवश्यक सबै निर्णय गर्नेबारे खुला र गम्भीर छलफल भएको प्रवक्ता श्रेष्ठले बताए । सचिवालयको यस बैठकले सोमबार दिउँसो पुनः निरन्तरता पाउने छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर