newskoseli.Com

ओली ‘गफाडी’, सरकार ‘भित्रैभित्रै कुहिएको फर्सी’ : बाबुराम

नयाँ शक्ति पार्टीले प्रधानमन्त्री केपी ओलीको स्वभाव गफाडी, अनुत्तरदायी एवं दम्भी देखिएको आरोप लगाएको छ ।

सो पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय बैठकमा बुधबार पार्टीको राजनीतिक प्रतिवेदन पेस गर्दै त्यस्तो धारणा अघि सारेका छन् ।

उखानटुक्का सुनाएर जनतालाई भ्रममा पार्न सक्नु नै राजनीतिक कौशल हो भन्ने मनोवैज्ञानिक भ्रमबाट प्रधानमन्त्री ग्रस्त रहेको बाबुरामको भनाइ छ । सरकार जनअपेक्षा अनुसार काम गर्न असफल भएको नयाँ शक्तिको निष्कर्ष छ ।

सरकार अकर्मण्यता, भ्रष्टाचार एवं यथास्थितिको दलदलमा फसेकाले आफ्नो पार्टीकै नेता–कार्यकर्ताबाट आलोचना हुन थालेको भट्टराईको विश्लेषण छ । प्रधानमन्त्रीको कार्यशैली र सरकारका गतिविधिले सत्तारूढ नेकपा पनि अधोपतनको दिशामा गएको भट्टराईको विश्लेषण छ ।

सरकार ‘भित्रैभित्रै कुहिएको फर्सी बाहिरबाट हेर्दा राम्रो देखिएजस्तो’ मात्र भएको उनको भनाइ छ । ‘आफूलाई कम्युनिस्ट, सर्वहारावादी, जनवादी, गरिबमुखी, समाजवादी, साम्यवादी आदि भन्न रुचाउनेको पहिलो बहुमतको सरकार बन्दा केही हुन्छ कि भन्ने आशा सर्वसाधारणमा जागृत हुनु अस्वाभाविक थिएन’, बाबुरामले आफ्नो राजनीतिक प्रतिवेदनमा भनेका छन्– ‘हाम्रो पार्टीलाई राम्रोसँग थाहा थियो कि यिनीहरु भित्रैभित्रै कुहिएको फर्सी बाहिरबाट सग्लो देखिएका मात्र हुन् । यिनीहरुले जनसमुदायमा भ्रम छर्न र भोट प्राप्त गर्न सके पनि देशको दीर्घकालीन हित र भविष्यका लागि कुनै सार्थक योगदान गर्न सक्ने छैनन् ।’

बाबुरम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालको केन्द्रीय बैठकबारेको यो खबर बिहीबारको अन्नपूर्ण पोस्ट दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर