newskoseli.Com

त्रिभुवन विश्वविद्यालय अब ‘निःशुल्क वाइफार्इ क्षेत्र’ !

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय हाता अब ‘निःशुल्क वाइफार्इ क्षेत्र’ बन्ने भएको छ ।

त्रिविलाई सूचना प्रविधिसँग जोड्नका लागि ‘निःशुल्क वाइफार्इ क्षेत्र’ घोषणा गर्न लागिएको हो । यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको छ । सूचना प्रविधिको प्रयोग गरेर शिक्षा प्रदान गर्न र सूचनामा विद्यार्थीको सहज पहुँच कायम गराउन त्रिविलाई पहिलो पटक निःशुल्क वाइफार्इ क्षेत्र घोषणा गर्न थालिएको त्रिवि योजना निर्देशनालयका कार्यकारी निर्देशक प्रा.डा. ऋदिशकुमार पोखरेलले जानकारी दिए ।

‘त्रिविका हरेक कामकारबाही सूचना प्रविधिमार्फत गर्नका लागि निःशुल्क वाइफार्इ क्षेत्र बनाउन लागिएको हो,’ उनले भने– ‘अब त्रिविका हरेक क्रियाकलाप सूचना प्रविधिबाट हुन्छ ।’ त्रिविलाई कागजविहीन बनाउन र विद्यार्थीलाई सूचना प्रविधि प्रयोग गरेर शिक्षा प्रदान गर्नका लागि वाइफार्इ क्षेत्र बनाउन थालिएको निर्देशक प्रा.डा. पोखरेलले बताए । उनका अनुसार अबको एक महिनाभित्र त्रिविलाई निःशुल्क वाइफार्इ क्षेत्र बनाई सकिनेछ ।

निःशुल्क वाइफार्इ क्षेत्र बनाउनका लागि त्रिविले नेपाल टेलिकमसँग सम्झौता गरिसकेको छ । अहिले त्रिवि क्षेत्रभित्रका सबै स्थानका वाइफार्इका लागि अप्टिकल फाइबर बिछ्याउने काम समेत द्रूत गतिमा भइरहेको छ । अप्टिकल फाइबर बिछ्याउने काम एक महिनाभित्र सकिनेछ र त्यसपछि ‘निःशुल्क वाइफार्इ क्षेत्र’ घोषणा गरिनेछ । त्रिविलाई सूचना प्रविधिमैत्री बनाउनका लागि १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

‘अब इन्टरनेटमा खोजेर पनि विभिन्न विषयको अध्ययन गर्नुपर्दछ,’ उनले भने– ‘विद्यार्थीलाई पनि पठनपाठनमा इन्टरनेट आवश्यक पर्ने भएकाले उनीहरुलाई सजिलो होस् भनेर निःशुल्क वाइफार्इको व्यवस्था गर्न थालिएको हो ।’ विद्यार्थीले त्रिविमा गएर आफूलाई अनुकूल हुने पाठ्यसामग्री, पाठ्यक्रम र अन्य सामग्री खोज्न सक्नेछन् ।

निश्चित क्षेत्रसम्म वाइफार्इ हुनेछ र त्रिविको क्षेत्रमा प्रवेश गर्नासाथ सबैको कम्युटर, ल्याबटप र मोबाइलमा निःशुल्क इन्टरनेट हुनेछ । विद्यार्थीले त्रिविको जुनसुकै ठाउँमा बसेर पनि आफूलाई चाहिएको पाठ्यसामग्री इन्टरनेटबाट पढ्न सक्नेछन् ।

पहिलो चरणमा त्रिविको केन्द्रीय क्याम्पसमा निःशुल्क वाइफार्इ घोषणा गरेपछि बिस्तारै देशैभरका आंगिक क्याम्पसमा यो योजना लागू गर्ने लक्ष्य रहेको जानकारी निर्देशक प्रा.डा. पोखरेलले दिए । उनका अनुसार त्रिविले दोस्रो चरणमा उपत्यकाका र तेस्रो चरणमा देशभरिका आंगिक क्याम्पसमा यो योजना लागू गर्नेछ ।

त्रिविले थाल्यो स्मार्ट बोर्डको प्रयोग

सूचना प्रविधियुक्त माध्यमबाट शिक्षा दिनका लागि त्रिवि केन्द्रीय क्याम्पसले ‘मार्कर र बोर्ड’ को सट्टामा ‘स्मार्ट बोर्ड’ समेत प्रयोगमा ल्याएको छ । शिक्षा, व्यवस्थापन र विज्ञान सङ्कायमा ‘स्मार्ट बोर्ड’ को सुरुआत गरिएको त्रिविले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर