
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले एसईई– २०७५ मा सर्वाधिक अङ्क ल्याउने ६ जना विद्यार्थीलाई आइतबार पुरस्कार वितरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको प्रमुख आतिथ्य र तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा तिलाठी कोइलाडी गाउँपालिकाका ३ वटा विद्यालयका १ छात्रा र १ छात्र गरी ६ जनालाई पुरस्कार वितरण गरिएको जानकारी स्थानीय शैलेन्द्र सिंहले दिए ।
गाउँपालिकाभरमै सर्वाधिक अङ्क ल्याएका लक्ष्मीबल्लभ नरसिंह माध्यमिक विद्यालयका छात्र ओमप्रकाश साह र छात्रा इतिसा अधिकारीलाई १ थान ल्यापटप र १ थान साइकलका साथै प्रमाणपत्र प्रदान गरी सम्मानित गरियो । जनता मावि तोपाका रञ्जन यादव र रविराज सिंह र जनता मावि लौनिया तिलाठीका निभाकुमारी झा तथा देवेन्द्रकुमार खंगलाई पनि १ थान साइकल र प्रमाणपत्र दिई सम्मान गरिएको सिंहले बताए ।
कार्यक्रममा अतिरिक्त माध्यमबाट शिक्षणमा सहयोग गरेको भन्दै जनता मावि तोपाकी शिक्षिका ललिता झालाई समेत पुरस्कार प्रदान गरिएको राससले जनाएको छ ।