newskoseli.Com

नेकपा सचिवालय मंगलबार बस्ने : क–कसलाई, कहाँ–कहाँको जिम्मेवारी ?

केही दिन अघिदेखि लगातार बस्दै आएको नेकपाको केन्द्रीय सचिवालय बैठक शनिबार बसेर सोमबारसम्मका लागि स्थगित भएको थियो । केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन टुंगो लगाउने भनिएको सोमबारको बैठक ‘गृहकार्य पुगेन’ भन्दै स्थगित गरिएको छ ।

आइतबार र सोमबार दिउँसोसम्म गृहकार्य पूरा गरेर सोमबार अपराह्न बैठक बस्ने र ४४१ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन टुंग्याउने भनिएकोमा पार्टीभित्रका विभिन्न पक्षहरुबीच आन्तरिक भागबन्डामा ‘कुरा नमिलेपछि’ बैठक मंगलबारसम्मका लागि स्थगित भएको स्रोतले जनाएको छ । तर, नेताहरुले भने केन्द्रीय सदस्यहरूको रुचि र विषय–विज्ञता तथा पार्टी एवं देशको आवश्यकताका आधारमा कार्यविभाजन गर्नुपर्ने भएकाले गृहकार्यका निम्ति समय अपुग भएको दावी गरेका छन् ।

कार्यविभाजनपछि बहुसंख्यक केन्द्रीय सदस्यहरुलाई भूगोलको काममै खटाइने गरी गृहकार्य भैरहेको स्रोतको दावी छ । यस अघिको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पहिले केन्द्रीय सदस्यहरुको कार्यविभाजन टुंग्याएर मात्रै पोलिटब्युरो गठन गर्ने प्रस्ताव गरेपछि माधवकुमार नेपाल, झलनथ खनाल र नारायणकाजी श्रेष्ठले भने पहिले पोलिटब्युरो गठन गरेर मात्र केन्द्रीय कमिटीका सदस्यहरुको कार्यविभाजन गर्नुपर्ने मत प्रकट गरेका थिए ।

क–कसलाई, कहाँ–कहाँ जिम्मेवारी ?

स्थायी कमिटीका सदस्यहरुलाई प्रदेश इन्चार्ज र महत्त्वपूर्ण विभाग प्रमुखको जिम्मेवारी दिइने स्रोतको दावी छ । विदेश, प्रचार, संसदीय, अर्थ तथा योजना, नीति तथा अनुसन्धान र संगठनजस्ता मुख्य विभागका प्रमुखको जिम्मा भने सचिवालय सदस्य र स्थायी कमिटीका सदस्यले नै पाउने बताइएको छ ।

तत्कालीन एमालेमा पोलिटब्युरो र तत्कालीन माओवादीमा स्थायी कमिटी तथा सचिवालयमा रहेका नेताहरु र केही ‘सिनियर’ केन्द्रीय सदस्यहरुमध्येबाट जिल्ला इन्चार्ज तोकिने भएको छ । केन्द्रीय सदस्यहरुको मोटामोटी कार्यविभाजन र प्रदेश कमिटीका सदस्यहरुको नामावली सचिवालयमा टुंगो लागेपछि स्थायी कमिटी बैठक बोलाएर ती सबैलाई त्यहींबाट अनुमोदन गराउने तयारी छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर