newskoseli.Com

प्रदेश– २ : कहाँ बस्ला स्थायी राजधानी ? नामबारे सुझाव सङ्कलन सुरु

विगतदेखि नै व्यापक चर्चा र चासोमा रहेको प्रदेश– २ को स्थायी राजधानी र नामबारे फेरि चासो र चर्चा चुलिएको छ । नामाङ्कनबारे विवाद बढेपछि प्रदेश– २ को सरकारले गठन गरेको संवाद तथा सुझाव आयोग टोली बिहीबार पर्साको सदरमुकाम वीरगञ्ज आइपुगेको छ ।

हरिवंश झाको संयोजकत्वमा गठित तीन सदस्यीय सो आयोगका सदस्यहरुमा रामप्रवेश बैठा र मोहनलाल चौधरी छन् । आयोगले प्रदेश– २ का ८ वटै जिल्लामा सुझाव सङ्कलन गरी ४५ दिनभित्र प्रदेश सरकारलाई प्रतिवेदन बुझाउनेछन् । यसै क्रममा संवाद तथा सुझाव आयोगले बिहीबार वीरगञ्जमा प्रदेश– २ को राजधानी र नामाङ्कन सम्बन्धित सुझाव सङ्कलनको थालनी गर्दै कार्यक्रम आयोजना गर्‍यो ।

कार्यक्रममा अधिकांश राजनीतिक दलका प्रतिनिधिहरुले धार्मिक दृष्टिकोणले जनकपुर धार्मिकस्थल भए पनि आर्थिक दृष्टिकोणले वीरगञ्ज समृद्ध भएको, अन्तर्राष्ट्रिय मापदण्ड वीरगञ्जमा भएको, मधेश आन्दोलनको उद्गमस्थल समेत वीरगञ्ज भएको र धार्मिक–ऐतिहासिक तथा आर्थिक रुपमा समेत सबल भएकाले प्रदेश– २ को स्थायी राजधानी वीरगञ्ज नै हुनुपर्ने सुझाव दिए ।

कार्यक्रममा विभिन्न वक्ताले प्रदेश– २ को नाम जानकी प्रदेश, मध्य–मधेश प्रदेश, भोजपुरा–मधेश प्रदेश, मधेश प्रदेश, मध्यमाञ्चल प्रदेश हुनुपर्ने सुझाव दिए ।

संवाद तथा सुझाव आयोगका संयोजक हरिवंश झाको सभापतित्वमा भएको सो कार्यक्रममा प्रदेश– २ की आन्तरिक मामिला तथा उद्योग राज्यमन्त्री उषा यादव, सांसद प्रदीप यादव, प्रदेश सांसद मञ्जुर अन्सारी, श्याम पटेल, उपप्रमुख शान्त्ति कार्की, सांसद हरिनारायण रौनियार, महिला नेतृ सुषमा तिवारी, मुन्नी श्रीवास्तव, राजपाका महासचिव राजेशमान सिंह, केन्द्रीय सदस्य रम्भा मिश्र, ओमप्रकाश सर्राफ, पोखरिया नगरपालिकाका प्रमुख दीपनारायण रौनियारलगायतले आ–आफ्नो सुझाव दिएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर