newskoseli.Com

ओली–प्रचण्डसहित २१ ‘भीआईपी’ विरुद्ध सर्वोच्चमा मुद्धा

प्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत २१ जनाविरुद्ध सर्वोच्च अदालतमा मुद्धा दायर भएको छ ।

प्रधानमन्त्री ओलीसहित उच्च ओहदाका व्यक्तिहरुविरुद्ध ग्रामथान गाउँपालिका– ३, मोरङ स्टायी ठेगाना भएका नेपाली सेनाका भगौडा ३८ वर्षे झलकुमार भगतले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।

भगत २०६२ साउन ८ मा तत्कालीन शाही नेपाली सेनाबाट ‘विद्रोह’ गरी माओवादी सेनामा गएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि उनले वार्इसीएलको स्थानीय नेता बनेर केही समय काम गरेका थिए । आफ्नै निवासमा सुतिरहेका बेला मोरङ प्रहरीले उनलाई २०७४ मंसिर ८ मा पक्राउ गरी इटहरीस्थित नेपाली सेनाको पूर्वी पृतनाको जिम्मा लगाइदिएको थियो ।

‘निर्वाचनविरोधी गतिविधिमा संलग्न रहेको’ आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको थियो । तर, पछि ‘भगौडा’ भन्दै नेपाली सेनाले उनलाई नियन्त्रणमा लिएको पारिवारिक स्रोतको भनाइ छ । उनीविरुद्ध २०७४ पुस १७ मा सैनिक अदालतबाट ‘सर्वस्वसहित जन्मकैद’ को फैसला भएको थियो । उनी मकवानपुरस्थित भीमफेदी कारागारमा बन्दी छन् ।

विस्तृत शान्ति सम्झौता, तत्कालीन सात राजनीतिक दल र विद्रोही माओवादीबीच भएको सहमतिलगायतको भावनाविपरीत आफूविरुद्ध अन्यायपूर्वक फैसला सुनाइएको दाबी भगतले गरेका छन् । रिटमा प्रधानमन्त्री ओलीसहित शान्ति सम्झौताका हस्ताक्षरकर्ता तत्कालीन नेकपा (माओवादी) र हाल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, प्रधान सेनापति पूर्णचन्द्र थापा, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालसहित २१ जनालाई विपक्षी बनाइएको छ ।

रिट निवेदकका पक्षबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद भण्डारी, शम्भु थापा, हरि फुयाँल, रमणकुमार श्रेष्ठ, गोविन्द बन्दी, बालकृष्ण नेउपाने, उपेन्द्रकेशरी न्यौपाने, तुलसी भट्ट, शेरबहादुर केसी, रामप्रसाद श्रेष्ठ र एकराज भण्डारीले बहस गर्ने बताइएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर