newskoseli.Com

सचिवालयलगत्तै नेकपा स्थायी कमिटीको बैठक सुरू, के–के हुँदैछन् निर्णय ?

नेकपा केन्द्रीय सचिवालयको बैठकले स्थायी कमिटीको बैठकमा प्रस्तुत गरी छलफल गराएर निर्णय लिइने विषयवस्तुहरुको कार्यसूची तय गरेको छ । सचिवालयको बैठकलगत्तै शनिबार अपराह्न धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा स्थायी कमिटीको बैठक सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा  बसेको सचिवालयको बैठकले सांठनिक एकीकरणलाई तत्काल टुङ्गोमा पुर्‍याउने, पार्टी र सरकारको कामलाई थप व्यवस्थित बनाउने र आगामी कार्यदिशा तय गर्ने विषयमा आवश्यक निर्णय लिने प्रस्ताव स्थायी कमिटीको बैठकमा लैजाने निर्णय गरेको छ ।

एकता प्रक्रियामा बाँकी रहेका कामलाई तत्काल पूर्णता दिने, सरकारका काम–कारबाहीको समीक्षा गर्ने, सकारात्मक काम–कारबाहीलाई थप अगाडि बढाउने र कमजोरी हटाएर जानेलगायतका विषय स्थायी कमिटी बैठकमा पेस गर्ने गरी कार्यसूची तय भएको जानकारी सचिवालयको बैठकपछि पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् ।

पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा अपराह्न अबेर स्थायी कमिटीको बैठक सुरु भएको छ । शनिबारको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ । बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले २२ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् भने नेता वामदेव गौतमले पनि अलग्गै प्रतिवेदन प्रस्तुत गरेका छन् ।

स्थायी कमिटीको यस बैठकले एकता प्रक्रियामा बाँकी रहेका कामलाई टङ्गोमा पुर्‍याउने अपेक्षा गरिएको छ । तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच जेठमा पार्टी एकता भएयता प्रदेश समितिका पदाधिकारी र सदस्य चयन भए पनि जिल्ला, नगर, गाउँ तथा स्थानीय पार्टी कमिटीको एकताले अझै पूर्णता पाउन सकेको छैन ।

त्यसैगरी, जनवर्गीय एवं पेशागत सङ्गठनको समेत एकता हुन बाँकी नै छ भने केन्द्रीय विभागहरुको गठन र नेताहरुको जिम्मेवारी बाँडफँट समेत हुन सकेको छैन । त्यस्तै, पोलिटब्युरो पनि गठन हुन सकेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर