newskoseli.Com

२ अध्यक्ष मिलेर संसारकै नमूना काम गर्‍यौं, संविधानले दिए त प्रधानमन्त्री पनि २ जनै हुन्थ्यौं : प्रधानमन्त्री ओली

आफूहरुले दुई अध्यक्ष मिलेर पार्टी चलाउँदै ‘संसारकै नमूनायोग्य तरिकाले काम गरिहेको प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन् ।

तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानुन व्यवसायी सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानुन व्यवसायी एशोसिएसनबीच आइतबार एकीकरण गरी नेपाल कानुन व्यवसायी सङ्गठन घोषणा गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएएका हुन् ।

प्रधानमन्त्री ओलीले भने– ‘प्रजातन्त्रको नमूना काम गर्ने हाम्रो पार्टी नै हो, दुई अध्यक्ष भएर राम्ररी पार्टी चलाएका छौं, यत्तिको राम्रो उदाहरण संसारमा कहीं देखिएको छैन ।’ ठट्यौली शैलीमा प्रधानमन्त्री ओलीले अगाडि भने– ‘संविधानले दिँदैन र पो, नत्र त प्रधानमन्त्री पनि दु्ई जना नै बनी मिलेर देश पनि चलाउँथ्यौं ।’

मुलुकमा गणतन्त्र संस्थागत गर्न नचाहनेहरुले अनेक खालका प्रचार गरेको भन्दै अकारण प्रचारयुद्ध सुरु गरिएकोमा उनले दुःखेसो पोखे । नेपाल प्रहरीले तालिम केन्द्र पनौती सार्ने भनेर १५ सय रोपनी जग्गा किन्ने निर्णय तीन दशक अगाडिको भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने– ‘राष्ट्रपतिले प्रहरीको ठाउँ लिन खोजेको रे, यो राष्ट्रपतिका विरुद्ध होइन, गणतन्त्रका विरुद्धको आक्रमण हो, गणतन्त्रका विरुद्ध बोलेरै राजतन्त्र ब्युँताउँछौं भन्ने सपना नदेखे हुन्छ ।’

जनताको शासनमा नागरिकको अधिकार र प्रेस स्वतन्त्रता खुम्चिएको भन्दै गलत प्रचार गरिएको प्रधानमन्त्री ओलीले बताए । कम्युनिस्ट सरकारले यस्तो काम नगर्ने उनले स्पष्ट पारे ।

सोही कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई समृद्ध बनाउने अभियानमा कानुन व्यवसायीले काम गर्नुपर्नेमा जोड दिए । कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका बीचमा हुने कमीकमजोरी हटाउन, पार्टी निकटका कानुन व्यवसायीले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने प्रचण्डले बताए ।

नयाँ गठन भएको नेपाल कानुन व्यवसायी सङ्गठनमा संयोजक रुद्र नेपाल र सहसंयोजक डा. दिनमणि पोखरेल रहेका छन् । कानुन व्यवसायीको ४५ सदस्यीय कार्यसमिति चयन भएको छ । यसअघि सङ्गठनको नेतृत्व रुद्र नेपाल र एशोसिएशनको नेतृत्व रमन श्रेष्ठले गरेका थिए । दुई पार्टीबीचको एकतापछि दुई कानुन व्यवसायी सङ्गठनबीच एकता भएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर