NewsKoseli.Com

संशोधनवाद पनि सामन्तवाद–साम्राज्यवादविरोधी हुन्छ र ?

मार्क्सवादले हामीलाई सिकाएको कुरा भनेको ‘संशोधनवाद लबस्तरो पुँजीवाद हो ।’ त्यसले मार्क्सवादको झन्डा बोक्छ र पुँजीवादको सेवा गर्छ । संशोधनवादीहरू वास्तविक पुँजीवादीहरू भन्दा खतरनाक हुन्छन् किनकि तिनीहरूले कम्युनिस्टको झन्डा देखाएर किसान–मजदुरलाई झुक्याउँछन र बिटुल्याउँछन् ।

संशोधनवादीहरू सारमा सामन्तवादविरोधी हुँदैनन् बरु सामन्तवादसँग घाँटी जोड्न पुग्छन या आफैं सामन्त बन्छन् । संशोधनवाद साम्राज्यवादविरोधी पनि हुँदैन बरु त्यो शक्तिशाली छ भने चीनजस्तै आफैं साम्राज्यवादी बन्छ र कमजोर छ भने दलाल बन्छ । संशोधनवादबारेको यो अकाट्य नियम नेपाल र संसारभर लागू हुन्छ । तर, नेपालमा संशोधनवादलाई सामन्तवाद–साम्राज्यवादविरोधी पनि देख्ने गल्ती हुँदै आएको छ । अमूक राजनीतिक पार्टीलाई संशोधनवादी देख्ने तर अर्कोतिर त्यसलाई सामन्तवाद–साम्राज्यवादविरोधी मानेर सहकार्य पनि गर्ने रोगबाट नेपालको कम्युनिस्ट आन्दोलन ग्रसित छ ।

नेपालमा हाल नेकपा नामको पार्टी छ, त्यो पार्टी हिजोको एमाले र माओवादी केन्द्रको एकताबाट बनेको हो । दुवै पार्टीको चरित्र संशोधनवादी भएपछि तिनीहरूको एकता सम्भव भएको हो । हाल त्यो पार्टी सामन्तवादविरोधी पनि छैन र साम्राज्यवादविरोधी पनि छैन । सामन्तवादका रहलपहल अवशेषहरूलाई मास्नुको सट्टा आफूमा संवद्ध गर्ने काम त्यसले गरिरहेको छ भने साम्राज्यवादको दलाली गर्ने काम खुलेरै गरिरहेको छ । हाल त्यो पार्टीले नेतृत्व गरेको सरकारको पुगनपुग एक वर्षका गतिविधि हेरियो भने पनि त्यो कुराको राम्रैसँग पुष्टि हुन्छ । तर, हाम्रो वाम आन्दोलनमा हालको सरकारी नेकपालाई कहिले प्रगतिशील देखेर त कहिले सामन्तवाद–साम्राज्यवादविरोधी देखेर अंकमाल गर्ने गल्ती भैरहेको छ ।

एक पटक प्रगतिशील रहेको शक्ति अर्को समय घोर प्रतिक्रियावादी पनि हुन्छ भन्ने मान्यताले कुनै बेला सहकार्य गरेको हिसाबले अहिले पनि सहकार्य गर्न सकिन्छ भनेर टाँसिने कुरा ठीक होइन । हो, कुनै समय माले यो देशको सबैभन्दा क्रान्तिकारी शक्ति थियो । कुनै समय नेकपा (माओवादी) ले यो देशमा एउटा वीरतापूर्ण विद्रोहको नेतृत्व गर्थ्यो । त्यो समयका लागि त्यो सही हो । तर, हाल मालेबाट एमाले हुँदै नेकपा बनेकाहरू र माओवादीबाट नेकपामा खसेकाहरू हिजोका जस्तै छैनन्, ती त प्रतिक्रियावादमा पतन भैसकेका साम्राज्यवादका निम्नवैतनिक नोकरहरू हुन् ।

ती शक्तिहरूको प्रतिक्रियावादी चरित्रको भण्डाफोर जति राम्रोसँग हुन्छ, त्यति नै क्रान्तिकारी विचार र आन्दोलनलाई फाइदा पुग्छ । हालको सरकारी नेकपालाई मित्रशक्ति मानेर सहकार्य गर्ने सोचले हामी सबैलाई कुनै न कुनै दिन संशोधनवादको आहालमा लगेर चोबल्छ । संशोधनवादीहरूका लागि त क्रान्तिकारीहरूलाई बिटुल्याउँन पाउँदा फाइदै–फाइदा छ तर त्यसको जम्मै घाटा क्रान्तिकारीहरूलाई छ । यो विषयमा क्रान्तिकारीहरूले गम्भीरतापूर्वक सोच्नै पर्दछ ।

कुनै राजनीतिक पार्टी साम्राज्यवादको दलाल भएपछि उक्त पार्टीको कुनै खास जनवर्गीय संगठन (जवस) चाहिँ प्रगतिशील भैरहन सक्दैन । जस्तै– हालको नेकपा संशोधनवादी, साम्राज्यवादको दलाल हो भन्ने निस्कर्ष निस्कन्छ भने त्यसको सांस्कृतिक मोर्चा चाहिँ साम्राज्यवादविरोधी हुन सक्दैन । अनि साम्राज्यवादको दलाल पार्टीको जवससँग साम्राज्यवादविरोधी मोर्चा बनाउँछु भन्ने कुरा कि त अज्ञानता हुन्छ कि त बेइमानी हुन्छ ।

हिजो हामीले गरेको हुनाले आज पनि गर्नुपर्छ भन्ने हुँदैन । हिजो अध्ययन र अनुभवको कमीले गल्ती नै भएको रहेछ भने पनि त्यसलाई सँच्याउने आँट गर्नुपर्छ ।

प्रसंग अलिकति प्रगतिशील लेखक संघमा जोडौं । यो संस्था २००९ सालमा बनेको हो । सुरुमा यसले प्रगतिशील भूमिका खेल्यो । सामन्तवादको विरोध गर्‍यो र साम्राज्यवादको पनि विरोध गर्‍यो । तर, हाल स्थिति त्यस्तो छैन । एमाले र माओवादी केन्द्र मिलेर नेकपा बनेको छ । संशोधनवादीहरू देशैभरि उत्साहित छन् । उनीहरूको दवदबा बढ्दो छ । प्रलेसमा पनि त्यसको स्वतः प्रभाव पर्छ । तर, अन्य शक्तिहरू पनि प्रलेस छाड्न नसक्ने मनशायमा देखिन्छन् । यो भनेको मार्क्सवादी साहित्यिक फाँटका लागि निराशाको स्थिति हो ।

प्रगतिशील लेखक संघको अहिलेको स्थितिमा व्यापक पुनरावलोकन नगरी यथाअवस्थामा टाँसिन खोज्नु भनेको संशोधनवादपरस्त सोच नै हो । क्रान्तिकारी लेखक–साहित्यकाहरूले योभन्दा उन्नत विकल्पबारे सोच्न थाल्नु आजको आवश्यकता हो । तर, त्यतापट्टि खास काम हुन सकेको छैन ।

 

प्रतिकृया दिनुहोस्

Google AdSense

आजको तिथि, मिति र अहिलेको समय

ट्विटरमा न्युजकोसेली

Google AdSense

आजको विनिमय दर