newskoseli.Com

नेकपा स्थायी समिति : झलनाथ, माधव, विष्णु, बादल र गिरिराजले बोले, के–के भने ?

गत शनिबार सुरु भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको तेस्रो बैठकमा नेताहरुले धारणा राख्ने क्रम शनिबार पनि जारी रह्यो ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकका क्रममा अध्यक्षद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि हालसम्म ४६ जना स्थायी कमिटी सदस्यले विचार राखिसकेका छन् । शनिबारको बैठकमा माधवकुमार नेपाल, झलनाथ खानाल, विष्णु पौडेल, रामबहादुर थापा ‘बादल’ र गिरिराजमणि पोखरेलले धारणा राखेको जानकारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार प्रदीप ज्ञवाली अमेरिका भ्रमणबाट शनिबार मात्रै आइपुगकाले उनले आइतबारको बैठकमा धारणा राख्नेछन् । शनिबारको बैठकमा परराष्ट्रमन्त्री ज्ञवालीले अमेरिकी विदेशमन्त्रीको निमन्त्रणामा आफूले गरेको अमेरिका भ्रमण र द्विपक्षीय वार्ताबारे जानकारी गराए । भ्रमण र वार्ता अत्यन्तै सकारात्मक र फलदायी भएको जानकारी उनले बैठकलाई दिएको प्रवक्ता श्रेष्ठले बताए ।

बैठकमा नेताहरुले बोल्ने क्रम समाप्त भएकाले अब प्रतिवेदनउपर अध्यक्षद्वयले आफ्नो धारणा राखेपछि प्रतिवेदनको टुङ्गो लगाइने वरिष्ठ नेता झलनाथ खनालले बताए । मङ्सिर २९ देखि चालु बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल चलिरहेको हो ।

प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, सचिवालयबाट अहिलेसम्म भएका कार्य तथा निर्णयका साथै जिल्ला र जनसङ्गठनहरुको एकतालगायतका विषय समावेश छन् । बैठकमा सरकारको कार्यसम्पादनबारे नेताहरुले गरमागरम बहस गरिरहेका छन् । अधिकांश नेताले पार्टी र सरकारमाथि विभिन्न शक्तिबाट आक्रमण भइरहेको अहिलेको समयमा आन्तरिक एकता सुदृढ गरेर जानुपर्ने सुझाव दिएका छन् ।

प्रतिवेदनउपर छलफल चलिरहँदा नेताहरुबाट प्राप्त सकारात्मक सुझावलाई सम्बोधन गरेर समृद्ध बनाउँदै पार्टी र सरकारका कामको सबल पक्ष र कमीकमजोरीलाई केलाएर आम पार्टीपङ्क्ति र कार्यकर्तालाई उत्साहित तुल्याएर बाँकी कार्यभार पूरा गर्दै अघि बढ्ने निष्कर्ष बैठकले निकाल्ने जानकारी नेता छविलाल विश्वकर्माले दिए ।

विश्वकर्माका अनुसार आइतबारको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालले समय माग गरेर केही विषयमा बोल्ने कार्यक्रम छ । उनले पार्टी एकीकरणलाई अविलम्ब टुङ्ग्याउनुपर्ने अहिलेको आवश्यकतालाई मध्यनजर गर्दै सरकारका काम–कारबाहीलाई अझ प्रभावकारी ढङ्गले अघि बढाउन जोड दिने विश्वकर्माले बताएको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर