newskoseli.Com

‘विप्लव भेटिएनन्, राउत खोजिएनन्’ : के भन्छन् विप्लव ? (भिडियोसहित)

देशमा द्वन्द्वरत समूहलाई मूलधारमा ल्याउने कार्यादेश पाएको उच्चस्तरीय सरकारी वार्ता टोलीले चार महिनामा ४५ भूमिगत तथा अर्धभूमिगत समूहको पहिचान गरी २३ वटासँग वार्ता गरेको छ ।

तीन चरणको वार्तापछि २२ समूह शान्तिपूर्ण राजनीतिमा अवतरण हुन सहमत भएका छन् भने तीन समूहले राज्यलाई हतियार बुझाएका छन् । पटक–पटक वार्तामा बसेर सहमतिमा पुगेको जनमुक्ति सेना नेपाल भने सम्झौता गर्ने बेला सम्पर्कमा आएन ।

जनतान्त्रिक तराई मुक्ति मोर्चा विवेक समूह, जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूह र खुम्बूवान मुक्ति मोर्चा (संयुक्त) ले पेस्तोल, रिभल्बरलगायतका ३३ थान हतियार बुझाएको वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले बताए । उनीहरूले हतियारसँगै गोलीगठ्ठा पनि बुझाएका छन् । अन्य केही समूह पनि हतियार बुझाउने तयारीमा रहेको पाण्डेले बताए ।

‘हामीले खोजी गर्दा ४५ समूहको पहिचान भयो, यसमध्ये २६ समूह मात्र अस्तित्वमा रहेछन् । यीमध्ये २३ समूहसँग वार्ता भयो, २२ समूहले शान्ति प्रक्रियामा अवतरण हुने प्रतिबद्धता जनाए,’ पाण्डले भने– ‘उनीहरूको अवस्था निकै कमजोर रहेछ । कुनै समूहका नेता जेल परेको, कुनै नेतालाई वारेन्ट जारी गरेको र कसैको सम्पत्ति रोक्का भएको पायौं ।’

वार्ता टोलीले आफ्नै कार्यकक्षदेखि ललितपुरको गोदावरी तथा तराईका विराटनगर, राजविराज र वीरगञ्जलगायतका क्षेत्रमा ती समूहसँग वार्ता गरेको थियो । भूमिगत तथा अर्धभूमिगत समूहसँगको सहमतिमा टोलीले वार्तास्थल तय गरेको थियो ।

८ भदौमा गठित कार्यदललाई दिइएको तीन महिने म्याद ८ मंसिरमै सकिएको थियो । तर, समय अपुग भएको भन्दै थप समय मागेपछि १० पुससम्मका लागि थपिएको थियो । वार्ता टोलीले चार महिनामा भएका कामको विवरण सहितको प्रतिवेदन १० पुसमै प्रधानमन्त्रीलाई बुझाएको छ । वार्ता टोलीले प्रतिवेदन बुझाएपछि स्वतः म्याद सकिएको छ । आवश्यक परे पुनः वार्ता टोली गठन गरिने पाण्डेले बताए ।

पाण्डे नेतृत्वको टोलीमा सुरेश आलेमगर, ताराकान्त चौधरी, लीला भण्डारी र गृह मन्त्रालयका सहसचिव कुमारबहादुर खड्का सदस्य थिए ।

विप्लव र सीके राउतसँग किन भएन वार्ता ?

सरकारले द्वन्द्वरत समूहसँग वार्ता गर्ने योजना बनाएर खासगरी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीलाई राजनीतिको मूलधारमा ल्याउने लक्ष्य लिएको थियो । वार्ता टोलीले विप्लवलाई भेट्न धेरै कोसिस पनि गर्‍यो । तर, विप्लवले भेट्न नचाहेको संयोजक पाण्डेले बताए ।

‘हामीले वार्ताका लागि विप्लव समूहका केन्द्रीय सदस्यसम्मका नेतासँग छलफल गर्‍यौं तर विप्लवसँग भेट गराउने वातावरण मिलाउनुभएन । चाहँदा पनि भेट्न पाएनौं । वार्ताको वातावरण नै नबनाएपछि आधिकारिक पत्र पनि पठाएनौं’– उनले भने ।

छुट्टै स्वतन्त्र मधेस राज्य माग गर्दै भूमिगत आन्दोलनमा रहेका सीके राउतसँग भने सरकारले वार्ताको योजना नै नबनाएको पाण्डेले बताए । ‘हामीलाई पहिलेदेखि नै सीके राउतसँग वार्ता गर्ने म्यान्डेट थिएन,’ उनले भने– ‘देश टुक्र्याउन खोज्ने पृथकतावादीसँग वार्ता गर्ने कुरै हुँदैन ।’

वार्ता टोलीको क्रियाकलाप र प्रतिवेदन बारेको यो खबर शुक्रबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

के भन्छन् नेत्रविक्रम चन्द ‘विप्लव’ ? हेर्नोस् तलको भिडियो…

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर