newskoseli.Com

यी हुन् सन् २०१८ का विश्वचर्चित मुख्य घटनाहरू

सन् २०१८ मा पनि अमेरिकाको चर्चा र भूमिका धेरै देखियो भने अन्य देशका विभिन्न घटनाहरु पनि विश्वव्यापी चर्चामा रहे । वर्षभरिका चर्चित मुख्य घटनाक्रमहरुको सूचीमा राजनीतिक घटनाहरु नै धेरै भएका छन् । त्यस बाहेक हिंसात्मक, आपराधिक तथा अन्य विभिन्न घटनाहरु पनि चर्चाको शिखरमा पुग्न सफल भए । यस वर्षका केही मुख्य घटनाहरुबारे संक्षेपमा चर्चा गरौं–

१. २ हजारको ज्यान लिने इन्डोनेसियाको भूकम्प

यस वर्षको सम्भवतः सबैभन्दा ठूलो विनाशकारी घटनाका रुपमा इन्डोनेसियाको भूकम्पलाई लिन सकिन्छ । सेप्टेम्बर २८ मा आएको ७.४ म्याग्निच्युडको भूकम्पले २ हजारभन्दा बढीको ज्यान लिएको छ भने झन्डै ७ सय जना अझै बेपत्ता छन् । सुलावेसीलाई केन्द्रविन्दु बनाएर आएको यस भूकम्पमा परी १ हजार ७ सय नागरिक घाइते भए भने लाखौंको भौतिक संरचना क्षतिग्रस्त भए ।

२. अनपेक्षित ट्रम्प

अमेरिकी राष्ट्रपतिमा आफू निर्वाचित भएको दुई वर्ष बितिसक्दा समेत डोनाल्ड ट्रम्पका उरन्ठेउला गतिविधि घटेनन् । ट्रम्पले राष्ट्रपतिका रुपमा अपेक्षितभन्दा पनि अनपेक्षित भूमिकाहरु धेरै देखाए । सञ्चार माध्यमहरु, आफ्नै मन्त्री र कर्मचारीहरुलाई पनि कहिल्यै पूर्ण विश्वास गरेनन् । उनले यो अवधिमा झन्डै डेढ दर्जन मन्त्री तथा मुख्य कर्मचारीहरुलाई बर्खास्त गरे भने अन्य देशहरुसँगको सम्बन्धमा पनि विश्वास बढाउन सकेनन् । उत्तर कोरियाका नेता किम जोङ उनसँगको वार्ताबाहेक उनको प्रशंशायोग्य भूमिका कमै भएको अधिकांशको ठम्याइ छ । पछिल्लो समयमा केही ठाउँमा भएको निर्वाचनको नतिजा र मेक्सिको पर्खालको बजेट पारित नभएपछि कर्मचारी तलबबिहीन भएको घटनाले ट्रम्पलार्इ नराम्ररी धक्का दिएको छ ।

३. बेलायत अल्झियो ब्रेजिक्टमै

युरोपेली संघबाट बाहिरिने निर्णय गरेको बेलायतले त्यसको प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन निकै मेहनत गर्नु परेको छ । प्रधानमन्त्री थेरेसा मेले नयाँ अन्तर्राष्ट्रिय सम्बन्धहरुमा धेरै ध्यान दिन भ्याएका छैनन् भने ब्रेक्जिट मामिलामा २ जना विदेशमन्त्रीसहित अन्य केही मन्त्री र वरिष्ठ अधिकारीहरुले समेत उनलाई साथ दिएनन् । जुन, सन् २०१६ मा भएको जनमतसङ्ग्रहमा ५२ प्रतिशत अर्थात् १ करोड ७४ लाख मतदाताले ब्रेक्जिटको पक्षमा मतदान गरेका थिए भने ४८ प्रतिशत अर्थात् १ करोड ६१ लाख मतदाताले चाहिँ बेलायत र्इयू (युरोपियन युनियन) कै सदस्य हुनुपर्छ भन्ने मत दिएका थिए । साढे दुई वर्ष बितिसक्दा पनि बेलायतमा र्इयू छाड्ने प्रक्रिया टुङ्गिन्छ भन्ने विश्वासमै अझै पनि अनिश्चिता छ ।

४. उत्तर कोरिया–अमेरिकाबीचको ‘नाटकीय’ सम्बन्ध

लामो समयदेखि एक–अर्कालाई प्रमुख दुस्मन मान्ने उत्तर कोरिया र अमेरिकाको सम्बन्धमा सन् २०१८ मा नाटकीय परिवर्तन भयो । एक–अर्कालाई सिध्याउने चेतावनी दिएको केही महिनामै ती देशका नेताहरुले १२ जुनमा सिङ्गापुरमा भएको शिखर सम्मेलनको क्रममा एक–अर्कालाई अङ्गालो हालेको भिडियो सार्वजनिक भएपछि विश्व समुदाय नै अचम्मित भएको छ । यो सम्भव बनाउने मुख्य श्रेय भने दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनलाई जान्छ । सम्बन्ध सामान्यीकरण गर्ने र कोरियाली द्वीपलाई आणविक निशस्त्रीकरण गर्ने अभियान सन् २०१९ मा पनि जारी राख्ने प्रतिबद्धता तीनवटै देशबाट व्यक्त भएको छ । अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किमको दोस्रो शिखर बैठक सन् २०१९ को सुरुमै गर्ने तयारी हुँदैछ भने उत्तर कोरियाली नेता किमले दक्षिण कोरियाको भ्रमण गर्ने योजना छ ।

५. नेतृत्व त्याग्ने मार्केलको घोषणा

जर्मनीको सत्तारुढ दल क्रिश्चियन डेमोक्रेटिक पार्टीमा १८ वर्षदेखि एकछत्र नेतृत्व गरेकी चान्सलर एन्जेला मर्केलले यस वर्ष पार्टी नेतृत्वबाट बिदा लिइन् । यसलाई पनि एउटा महत्त्वपूर्ण घटनाका रुपमा लिइएको छ । मर्केलले चौथो कार्यकालको अन्त्यपछि चान्सलरका लागि उम्मेदवारी नदिने घोषणा गरिसकेकी छन् । उनको चौथो कार्यकाल सन् २०२१ मा सकिनेछ ।

६. चौथो कार्यकालका लागि पनि पुटिन नै निर्वाचित

रुसको राष्ट्रपतिका रुपमा भ्लादिमिर पुटिन चौथो कार्यकालका लागि निर्वाचित हुनु यस वर्षको अर्को चर्चायोग्य विषय बन्यो । मार्च १८ मा भएको निर्वाचनबाट उनी अर्को ६ वर्षे कार्यकालका लागि राष्ट्रपति बनेका हुन् । रुसमा एउटै व्यक्ति दुई कार्यकाल मात्र राष्ट्रपति बन्न पाउने कानुनी प्रावधान रहे पनि पुटिन भने १८ वर्षदेखि रुसको राष्ट्रपति वा प्रधानमन्त्रीका रूपमा सत्तामा छन् । ६५ वर्ष पुगेका पुटिनको सन् २०२४ सम्मको यो कार्यकाल जोड्दा उनको शासन २५ वर्षको हुनेछ ।

७. पत्रकार खशोग्जीको हत्या

अक्टोबर २ मा टर्कीको इस्तानबुलस्थित महावाणिज्य दूतावास भएको साउदी अरबका पत्रकार जमाल खशोग्जीको हत्याको विषय लामो समयसम्म विश्वव्यापी चर्चामा रह्यो । दशकौंसम्म साउदी राजपरिवारको सल्लाहकार भएका तर पछि सम्बन्ध बिग्रेपछि अमेरिका बस्दै आएका खशोग्जीले अमेरिकी पत्रिका द वासिङ्टन पोस्टमार्फत् साउदी युवराज मोहम्मद बिन सलमानका नीतिहरूको आलोचना गर्दै आएका थिए ।

८. अमेरिकी सेनाको सिरियाबाट फिर्ती

इस्लामिक स्टेट विरुद्धको युद्ध समाप्त भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा तैनाथ २ हजार अमेरिकी सेनालाई फिर्ता लैजाने घोषणा डिसेम्बर १९ मा गरे । तर, इराक र अफगानिस्तानमा रहेका अमेरिकी सेनाको फिर्ती कहिले हुन्छ भन्ने अन्यौल कायमै छ ।

९. विश्वकप फुटबलको २१औं संस्करण

एक्कार्इसौं संस्करणको विश्वकप फुटबल प्रतियोगिताको फाइनलमा फ्रान्सले क्रोएसियालाई ४–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुम्यो । फ्रान्सले दोस्रो पटक विश्वकपको उपाधि जितेको हो । फ्रान्सले सुनको ट्रफिसँगै ४ अर्ब १० करोड रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । विश्वकप फुटबल, २०१८ को कूल पुरस्कार राशि ४३ अर्ब थियो । एक महिनासम्म चलेको प्रतियोगितामा ३२ देशका ७ सय ३६ खेलाडी सहभागी थिए । क्रोएसियाका कप्तान लुका मोड्रिक फिफा विश्वकप, २०१८ को सर्वोत्कृष्ट खेलाडी घोषित भए ।

१०. श्रीलंकामा असफल सत्ता–फेरबदल

श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले अक्टोबर २६ मा बहालवाला प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई बर्खास्त गरी पूर्वराष्ट्रपति महिन्दा राजापाक्षलाई प्रधानमन्त्री नियुक्त गरेपछि झन्डै ७ हप्ता राजनीतिक सङ्कट उत्पन्न भयो । बाहलवाला प्रधानमन्त्रीलाई बर्खास्त गर्ने र अर्को व्यक्तिलाई नियुक्त गर्ने उनका दुवै निर्णय अवैध भएको भन्दै अदालत र संसदले खारेज गरिदिएपछि श्रीलङ्का अहिले फेरि पुरानै अवस्थामा पुगेको छ । अवैध कदम अहिलेको संसारमा टिक्न सक्दैन भन्ने सन्देश दिने गरी टुङ्गिएको यो घटना यस वर्ष दक्षिण एसियाभर बढी नै चर्चामा रह्यो ।

११. यमनमा युद्धविराम

संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा, डिसेम्बर १९ मा यमनको होडेडामा हुथी विद्रोही र सरकारबीच युद्धविराम भएको छ । दस हजारभन्दा बढीको मृत्यु र लाखौं मानिस विस्थापित गराइसकेको यमन गृहयुद्धले मानवीय सङ्कट निम्त्याएको राष्ट्रसङ्घको भनाइ छ ।

१२. आणविक सम्झौताबाट इरान अलग

आणविक सम्झौताप्रति इरानी सत्ता जवाफदेही नरहेको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरु मे ८ मा फिर्ता हुने तथा इरानविरुद्ध आर्थिक नाकाबन्दी लगाउने घोषणा गरे । अमेरिकाले प्यालेस्टिनीको विरोधका बाबजुद मे १४ मा इजरायलमा रहेको राजदूतावास जेरुसेलममा स्थानान्तरण गरेको थियो ।

त्यसैगरी, जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन, मि–टु अभियान, अमेरिका–चीनबीचको व्यापारयुद्ध, सिरिया, यमन, अफगानिस्तान आदि देशमा जारी द्वन्द्व, पाकिस्तानमा पूर्वप्रधानमन्त्री नवाज शरिफलाई छोरीसहित जेलमा राखिएको घटना आदिसहित विश्वविख्यात क्रिकेट खेलाडी इमरान खानको सत्तारोहण आदि सन् २०१८ का चर्चित घटना हुन् ।

त्यस्तै, मलेसियाका पूर्वप्रधानमन्त्री महाथिर मोहम्मदले ९२ वर्षको उमेरमा फेरि देशको नेतृत्व सम्हालेका छन् भने पूर्वप्रधानमन्त्री नजिव रजाक भ्रष्टाचारको आरोपमा काराबासमा छन् । बंगलादेशमा शेख हसिनाले चौथो पटक प्रधानमन्त्रीय कार्यकाल सम्हाल्दै गर्दा उनकी चीरप्रतिद्वन्द्वी खालिदा जियाले ७३ वर्षे उमेरको अस्वस्थतामै जेलभित्र छटपटारहनु परेको छ ।

यी र यस्तै उतारचढावका बीच वर्ष– २०१८ को बिदाई र नयाँ वर्ष– २०१९ को स्वागत गरिएको छ । अङ्ग्रेजी नयाँ वर्षको सबैलाई शुभकामना !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर