newskoseli.Com

मुख्यमन्त्री पोखरेलले १० कक्षामा पसेर के पढाए ९० मिनेट ?

बिहानको १० बजेको थियो । अन्य दिनजस्तै सोमबार पनि तुलसीपुर उपमहानगरपालिका– ७ स्थित मावि कालाखोलाका विद्यार्थी प्रार्थना गरिरहेका थिए ।

ठीक त्यसैबेला प्रदेश– ५ का मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेशसभा सदस्य उत्तरकुमार वली, तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेलगायतका अतिथि ग्वारग्वार्ती छिरे विद्यालय । विद्यार्थीले प्रार्थना गरिरहेकै बेला औपचारिक कार्यक्रम आयोजना गरियो अनि सुरु भयो प्रदेश– ५ सरकारको कार्यक्रम– ‘विद्यालयमा एक दिन, कक्षा कोठामा एक दिन ।’

औपचारिक कार्यक्रमलगत्तै कक्षा १० ‘ए’ मा पढाउन सुरु गरे मुख्यमन्त्री पोखरेलले । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले कक्षा १० को ‘बी’ र प्रदेशसभा सदस्य उत्तरकुमार वलीले कक्षा ८ मा पढाएर ‘विद्यालयमा एक दिन, कक्षा कोठामा एक दिन’ कार्यक्रमको उदघाटन गरे ।

यी ‘भीआईपी अतिथि’ हरुले विद्यार्थीलाई करिव ९० मिनेट पढाए । प्रदेश सरकारले स्थानीय सरकारसँग समन्वय गरेर विद्यालय र समुदायको सम्बन्धलाई थप समधुर गराउन बनाएको योजनाअनुसार प्रदेश– ५ मै पहिलो पटक तुलसीपुर उपमहानगरपालिकाबाट उक्त कार्यक्रमको सुरुआत भएको हो ।

अब सबै अभिभावक वर्षमा एक दिन विद्यालय आउने कार्यक्रमको सुरुआत भएको मुख्यमन्त्री शङ्कर पोख्रेलले बताए । ‘अब सबै अभिभावक वर्षमा एक पटक विद्यालय आउनुहुन्छ, पढाउन सक्ने अभिभावकले पढाउनुहुन्छ, अन्य प्रतिभा भएका अभिभावकले प्रतिभा देखाउनुहुन्छ,’ उनले भने– ‘यसरी अभिभावक विद्यालय आएमा विद्यालयप्रति अपनत्व महशुस हुन्छ र लाई व्यवस्थित गर्न सघाउ पुग्छ ।’

अभिभावकले यसरी सामुदायिक विद्यालयमा आएर लगानी गरेमा सामुदायिक विद्यालयप्रति आकर्षण बढाउन सकिने उनको भनाइ छ । समुदायले नै निर्माण गरेका सामुदायिक विद्यालयमा अभिभावकको लगाव घट्दै गैरहेको भन्दै त्यसलाई जोड्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने मुख्यमन्त्री पोखरेलले बताए ।

तुलसीपुर उपमहानगरपालिकाबाट यो अभियान सुरु भएको भन्दै यसलार्इ प्रदेशका सबै सामुदायिक विद्यालयमा पुर्‍याइने मुख्यमन्त्री पोख्रेलले बताए । ‘सामुदायिक विद्यालयको अवस्था सुधार गर्न अभिभावक, शिक्षक र विद्यार्थीको पनि उत्तिकै भूमिका हुन्छ, यसमा सबैले ध्यान दिनुपर्छ’– उनले भने ।

सामुदायिक विद्यालयको स्रोत–साधन धेरै भए पनि अभिभावक र विद्यार्थीको आकर्षण निजी विद्यालयप्रति बढेको भन्दै अब विद्यार्थीको सामुदायिक विद्यालयलाई आकर्षणको केन्द्र बनाउनुपर्ने मुख्यमन्त्री पोख्रेलले बताए ।

शिक्षाको गुणस्तर वृद्धि गर्न यो कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले बताए । विद्यार्थीको कमी भएका विद्यालयमा सङ्ख्या बढाइने उनको भनाइ छ । तुलसीपुरका सबै विद्यालयलाई नमूना र सबै विद्यार्थीलाई सक्षम बनाइने नगरप्रमुख पाण्डेले बताए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर