newskoseli.Com

को हुन् २९औं प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणा ? (संक्षिप्त परिचयसहित)

राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार नवनियुक्त प्रधान न्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथग्रहण गराएकी छन् ।

शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधान न्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायत उपस्थित थिए ।

राणालाई संसदीय सुनुवाइ समितिबाट मङ्गलबार सर्वसम्मत अनुमोदन गरिएको थियो । उमेरहदका कारण प्रधान न्यायाधीश ओमप्रकाश मिश्रले मङ्गलबारदेखि नै अवकाश लिएपछि नेपालको २९औं प्रधान न्यायाधीशको कार्यभार सम्हाल्ने अवसर राणालाई मिलेको हो ।

पिता युवराजशम्शेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा वि.सं. २०१४ मङ्सिर २८ मा काठमाडौंको कालिकास्थानमा उनको जन्म भएको थियो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका राणाले वि.सं. २०३६ मङ्सिर ६ मा अधिवक्ताको प्रमाणपत्र प्राप्त गरी २०५२ चैतसम्म कानुन व्यवसायीका रुपमा काम गरेका थिए ।

न्यायपरिषदको सिफारिसमा २०५३ वैशाखदेखि पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम सुरु गरेका राणाले २०५२ चैतमा अतिरिक्त न्यायाधीशको नियुक्ति लिएर २०६१ चैत ३० मा स्थायी न्यायाधीशका रुपमा पुनरावेदन अदालतमा र २०६५ असोज ७ दखि विशेष अदालतमा काम गरे । त्यस क्रममा पुनरावेदन अदालत दिपायल, राजविराज र बुटवलमा कायममुकायम मुख्य न्यायाधीशको काम गर्ने अवसर पाएका थिए ।

२०७१ जेठ १३ मा सर्वोच्च अदालतमा स्थायी न्यायाधीश नियुक्त भएका राणाले बुधबारै सर्वोच्च अदालतमा पुगी पदभार ग्रहण गरे । उनको कार्यकाल झन्डै ४ वर्षको हुने राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर