newskoseli.Com

प्रतिनिधिसभाको बैठक : क–कसले, के–के बोले ?

प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा भाग लिने सांसदहरुले राष्ट्रिय–अन्तर्राष्ट्रिय, क्षेत्रीय, जिल्ला र निर्वाचन क्षेत्रसँग समसामयिक विषयमा संसदमार्फत सरकारको ध्यानाकर्षण गराए ।

पहिलो वक्ताका रूपमा बोल्दै नेकपाका नेता एवं सांसद भीमबहादुर रावलले जीएमआर कम्पनीलाई माथिल्लो कर्णाली विद्युत् आयोजना निर्माण गर्ने सन्दर्भमा भएको सम्झौता कडाइका साथ पालना गराउँदै आयोजना अघि बढाउन सुझाव दिए । नेपालको राष्ट्रिय हित र सहमतिअनुसार उक्त परियोजनालाई अघि बढाउने सन्दर्भमा सरकारबाट ठोस निर्णय गरियोस् भन्दै कानुन विपरीत कार्य गर्ने तथा आयोजना लम्ब्याउन खोज्ने कम्पनीलाई म्याद नथप्न पनि रावलले आग्रह गरे ।

नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले मुलुक अहिले जताततै समस्यै समयस्याबाट गुज्रिरहेको भन्दै निर्मला पन्तका हत्यारालाई समेत सरकारले नै संरक्षण गरिरहेको आरोप लगाइन् । देशमा अहिले भ्रष्टाचार व्याप्त रहेको उल्लेख गर्दै शान्ति–सुरक्षाको अवस्था अत्यन्त कमजोर भएको र यसमा सरकार असफल हुँदै गएको टिप्पणी उनले गरिन् ।

राष्ट्रिय जनता पार्टी नेपालका अनिलकुमार झाले अघिल्लो वर्ष असिना र बागमती नदीमा आएको बाढीका कारण रौतहटका किसानले लगाएको खेतीपाती नष्ट भए पनि हालसम्म क्षतिपूर्ति पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

सङ्घीय समाजवादी फोरम नेपालकी सरिता गिरीले युरोप र अमेरिका समेत सशङ्कित भएको चिनियाँ कम्पनी (हुवावे) लाई नेपालमा प्रधानमन्त्री कार्यालयको ‘वार रुम’ को सूचना प्रविधिको व्यवस्थापन गर्ने जिम्मेवारी किन दिइएको भनी प्रश्न गर्दै यसले मुलुकको सुरक्षा चिन्ता बढाउने पक्षलाई हेक्का राख्नु आवश्यक भएको बताइन् ।

राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले प्युठानका विभिन्न भागका चुनढुङ्गाको अव्यवस्थित उत्खननले वस्तीहरु पहिराको जोखिममा रहेको भन्दै त्यसमा सम्बन्धित निकायको ध्यान जाओस् भन्ने माग गरिन् ।

नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले २०४१ सम्म मालपोत कार्यालय भक्तपुरमा नगरपालिकाको नाममा दर्तामा रहेको सल्लाघारीस्थित रानीपोखरीको जग्गा पञ्चायतकालमा सेनालाई हस्तान्तरण गरिएको जानकारी गराउँदै जनताको कला र सांस्कृतिक सम्पत्तिका रूपमा रहेको उक्त जग्गा पुनः सार्वजनिक रूपमै कायम हुनुपर्ने माग गरे ।

नेकपाकी सत्य पहाडीले डोल्पामा सडक दुर्घटनामा मृत्यु भएका परिवारलाई राहत उपलब्ध गराउन र जिल्ला अस्पताललाई व्यवस्थित रूपमा सञ्चालन गर्न माग गरिन् । नेपाली कांग्रेसका दिव्यमणि राजभण्डारीले प्रधानमन्त्रीले संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिने क्रममा उपाधि लिन कोस्टारिकाको भ्रमण गरेकोमा आपत्ति जनाउँदै त्यहाँ भएको खर्चको विवरण सदनलाई जानकारी गराइयोस् भन्ने माग गरे ।

नेकपाका नारायण खतिवडाले गल्छी–त्रिशुली सडकअन्तर्गत नुवाकोटको विदुर नगरपालिका अन्तर्गत पर्ने ८ किमी सडकमा पर्ने जनतालाई विभेद नगरी मुआब्जा दिन माग गरे। नेकपाकै टेकबहादुर बस्नेतले दाङमा केही दिनअघि भएको बस दुर्घटनामा मृत्यु भएका व्यक्तिका परिवारलाई उचित क्षतिपूर्ति दिन र सो सडकको स्तरोन्नति गर्न माग गरेको राससले जनाएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर