newskoseli.Com

जनयुद्धका यी घाइते : जसको खुट्टाभित्र अझै छन् गोलीका छर्रा…

दसवर्षे नेपाली जनयुद्धका एक घाइते मनबहादुर घर्तीको खुट्टाभित्र अहिले पनि गोलीका छर्रा बाँकी नै छन् ।

गोली लागेको ठाउँ देखाउँदै आफूले उपचार खर्च नपाएको गुनासो ३३ वर्षीय घर्तीले गरे । ताराखोला गाउँपालिका– ५ का घर्ती २०६० तिर दाङमा भएको सशस्त्र भीडन्तमा घाइते भएका थिए ।

उपचारपछि हिँडडुल गर्न सक्ने भए पनि दुखाइको समस्या भने ठीक भएको छैन । ‘सामान्य अवस्थामा जस्तो हिँड्न सहज छैन,’ उनले भने– ‘चिकित्सकले छर्रा हड्डीमा मिलेर बसेको छ, निकाल्दा झन् समस्या हुन्छ भनेपछि निकालिएको छैन ।’ घाइते भएपछि तत्कालै माओवादी सेनाको स्वास्थ्य टोलीले उनको प्राथमिक उपचार गरेको थियो ।

पछि सीमापार भारतसम्म पुगेर आफूले थप उपचार गरेको घर्तीले बताए । उनले शरीरभित्र गोलीका छर्रा बोकेर हिँडेको १५ वर्ष भैसकेको छ । जनयुद्धको नेतृत्व गर्ने तत्कालीन नेकपा (माओवादी) अहिले विभाजित भई विभिन्न ध्रुवमा कित्ताकाट हुन पुगेको छ । एएटा हिस्सा भने सत्ताधारी नेकपाका रुपमा सरकारको नेतृत्व गर्ने ठाउँमा हुँदा पनि आफू अन्यायमा परेको उनको गुनासो छ ।

पछिल्लो समय पार्टीका केही जिम्मेवार नेताले फोन गरेर काठमाडौं आउनोस् उपचार खर्च दिलाउँछौं भनेर आश्वासन दिएको घर्तीले बताए । घाइते भएपछि जनमुक्ति सेनामा निष्क्रिय बनेका घर्ती शान्ति प्रक्रियासँगै पार्टी राजनीतिमा सक्रिय भएका थिए । अहिले उनी गाउँकै एक जलविद्युत् आयोजनामा व्यवस्थापकका रुपमा कार्यरत छन् ।

नेपालको अवस्था फेरिन्छ र जनजीविकाका क्षेत्रमा आमूल परिवर्तन हुन्छ भन्ने विश्वासमा आफू जनयुद्धमा होमिएको घर्तीको भनाइ छ । द्वन्द्वपीडितको नाम भजाएर कतिपयले राज्यबाट सेवा–सुविधा लिएर दुरुपयोग गरेको उनको आरोप छ । आर्थिक सहयोग पाएमा गोलीका छर्रा निकाल्ने उनको सोच छ ।

जनयुद्धले घर्तीको परिवारमा अर्को पनि पीडा दिएको छ । उनका माइला दाजु बाजेन्द्र २०५८ देखि बेपत्ता छन् । आमा, जेठा दाइ र भाइसहित परिवारमा बस्दै आएका घर्तीले १२ कक्षासम्मको अध्ययन गरेका छन् । कक्षा ८ मै पढाइ छाडेर जनयुद्धमा होमिएका उनले शान्ति प्रक्रियापछि पढाइ अघि बढाएका हुन् ।

मनबहादुरको उपचार खर्चका लागि गाउँपालिकाबाट प्रक्रिया अघि बढाइएको गाउँपालिकाका अध्यक्ष प्रकाश घर्तीले बताए । ‘गृह मन्त्रालयमा सिफारिस पठाएका छौं,’ उनले भने– ‘सबैले पाउँदा उहाँको कसरी छुट्यो ? हामी पनि अनभिज्ञ छौं ।’ राससबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर