newskoseli.Com

महाधिवेशनको तयारीमा किराँती नेतृत्वको माओवादी केन्द्र : जनसेवाबाट सुरु गर्‍यो प्रचार अभियान

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितको ठूलो तप्का एमालेसँग एकीकृत भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) गठन गर्नतिर लागेपछि त्यसमा असहमति जनाएर तत्कालीन नेकपा (माओवादी केन्द्र) लाई पुनर्गठन गरेका गोपाल किराँतीले नेतृत्व गरेको नेकपा (माओवादी केन्द्र) राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ ।

किराँती नेतृत्वको माओवादी केन्द्रले बुधबार नेपालकै सबभन्दा पुरानो कलेज, त्रि–चन्द्र क्याम्पसमा सरसफार्इ गरेर आठौं महाधिवेशनको प्रचारप्रचार अभियान उदघाटन गरेको छ । जनयुद्ध दिवसका दिन अर्थात् फगुन १ मा सुरु हुने महाधिवेशनको प्रचार र जनसहयोग अभियान एकैसाथ अगाडि बढाएर आठौं महाधिवेशनको व्यापक तयारी गरिरहेको जानकारी सो पार्टीका एक नेता बलराम पुनले न्युजकोसेलीलाई दिएका छन् ।

११ पुसदेखि ३१ पुससम्म सातै प्रदेशका प्रदेशस्तरीय बैठक र प्रशिक्षण सकेपछि माओवादी केन्द्रले राजधानीबाटै महाधिवेशनको प्रचारप्रसारलाई विधिवत सुरु गरेको हो । बैठक र प्रशिक्षणका क्रममा आफूहरुले देशव्यापी रुपमा माओवादी नेता–कार्यकर्ता, समर्थक–शुभचिन्तक र जनताको भावना बुझ्दै जनयुद्ध र आन्दोलनहरुको इतिहासलाई निरन्तरता दिने प्रयास गरेको पुनले बताए ।

कतिपयले अब माओवादी आन्दोलन सकियो, वर्तमान संसदीय व्यवस्थाभित्रैबाट समाजवाद स्थापना हुन्छ भन्ने हौवा फैलाइरहे तापनि माओवादी आन्दोलन निरन्तर अघि बढिरहेको र यसलाई कसैको, कुनै ताकतले रोक्न नसक्ने दावी पुनर्गठित माओवादी केन्द्रको विदेश विभाग इन्चार्ज समेत रहेका पुनले गरे ।

‘२० वर्ष पहिलेको माओवादी आन्दोलनभन्दा आजको माओवादी आन्दोलन वैचारिक, व्यावहारिक र संगठनात्मक हिसाबले निकै परिपक्व र रचनात्मक ढंगले अघि बढिरहेको छ,’ पुनले भने– ‘दुई–चार जनाको खराब नियतको कारण माओवादी पार्टी र आन्दोलन केही तल–माथि भए तापनि देश जनताको मुक्तिका लागि संसदीय व्यवस्थाको अन्त्य र जनवाद हुँदै वैज्ञानिक समाजवादको स्थापना अपरिहार्य छ, हाम्रो पार्टी झन् मजबुत र सशक्त भएर निरन्तर रुपमा त्यसै बाटोतर्फ अगाडि बढिरहने छ ।’

माओवादी आन्दोलन ‘कुनै दलाल, अवसरवादी र गद्दारहरुको पेवा र ठेक्का’ नभएको भन्दै १० वर्षे जनयुद्ध र १७ हजार सहिदहरुको वलिदानबाट निर्मित र स्थापित पार्टी भएको दावी उनले गरे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर