newskoseli.Com

विप्लवले गरे ‘कडा’ अपिल : ‘दलाल, भ्रष्ट, सुदखोर, तस्कर र कालोबजारियामाथि जनकारबाही’ !

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ‘दलाल, भ्रष्ट, सुदखोर, तस्कर र कालोबजारीलाई जनकारबाही’ गर्ने उद्घोषसहित आम जनसमुदायमा अपिल गरेको छ ।

वर्तमान सरकारको कडा आलोचना गर्दै सो पार्टीले ‘जनताको राज्य वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि सबै क्रान्तिकारी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी शक्तिहरुलाई एकताबद्ध बनेर हातेमालो गर्न समेत आह्वान गरेको छ । यस्तो छ नेकपाले प्रकाशित गरेको अपिलको पूर्णपाठ–

नेपाल कम्युनिस्ट पार्टीको अपिल

आदरणीय जनसमुदाय !

सामाजिक दलाल सरकार असफल भएको छ, जनता समस्यामा छन्, देश सङ्कटमा छ, क्रान्ति अगाडि आउँदैछ, हाम्रो पार्टीले क्रान्तिलाई नेतृत्व दिँदै अगाडि बढिरहेको छ । २०७४ सालको चुनावमा केपी–प्रचण्डले दिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’ र ‘गाउँगाउँमा सिंहदरबार’ को नारा आज ‘दुःखी नेपाली, कङ्गाल नेपाल,’ ‘गाउँगाउँमा भ्रष्टाचार र बलात्कार’ मा परिणत हुन पुगेको छ ।

मतदान गर्दा नेपाली जनताले गरेको सुख र समृद्धिको अपेक्षा जनताकै थाप्लोमा असङ्ख्य करको भारी, भ्रष्टाचार, महँगी, तस्करी, राष्ट्रघात, निर्मला हत्याकाण्ड, ठूलो जहाज काण्ड, चिनी काण्ड, बुढिगण्डकी काण्ड, चन्द्रागिरि काण्ड, एनसेल काण्ड, क्रिश्चियन धर्मप्रचार काण्डजस्ता काण्डै–काण्डको आतंकमा परेर समाप्त भएको छ । जनतामा सरकारप्रति असन्तुष्टि र आक्रोशभन्दा केही बाँकी छैन ।

देशमा जति नै विकासको नारा दिए पनि उद्योग–धन्दाको अवस्था कमजोर भएर गएको छ, व्यापार घाटा बढेको बढेकै छ । महँगीले जनताको ढाड भाँचेको छ, अर्थतन्त्र दलाल र सुदखोरहरुको हातमा पुगेको छ, राष्ट्रबैंकबाट सस्तो दरमा ऋण लिएर चर्को दरमा लगानी गर्ने बैंक माफियाहरुले जनतालाई लुटेका छन्, उब्जाउ जमिन भूमाफियाको खण्डीकरणमा परेर बर्वाद भएको छ । युवा पलायन बढ्दै गएको छ, एमाले–माकेहरुले खुलेआम बेश्यालय खोलेर यौन व्यवसायबाट पैसा कमाउने कुरा गरेर पुँजीवादीहरुको छाडापनलाई पनि उछिनेका छन्, नदीनाला बेचेर खाने क्रम जारी छ, महिलाहरुमाथि मध्ययुगीन हिंसा थोपरिँदैछ, शिक्षा र स्वास्थ्य क्षेत्र व्यापारीकरणमा परेर तहसनहस बन्दै गएको छ, न्यायको आवाज उठाउने नेपाल कम्युनिस्ट पार्टीमाथि झुट्टा मुद्दा लगाउने, गिरफ्तार गर्ने, यातना दिने, जेल हाल्ने कार्य गरिँदैछ । सरकारका यी सबै हर्कतबाट देश संकटमा परेको प्रष्ट हुन्छ ।

आदरणीय जनसमुदाय !

सामाजिक दलाल सरकारको असफलता र देशको संकटलाई एमाले–माकेका केही नेताले केपी ओलीको असफलता भनेर सरकारमा आफू पुग्ने खेल खेलेका छन् । काङ्ग्रेस–राप्रपाले ‘कम्युनिस्ट सरकार’ को असफलता भनेर आफू सरकारमा पुग्न या चुनावी नारा बनाउन खोजेका छन् । केही पार्टीले काङ्ग्रेस–कम्युनिस्टको असफलता भन्दै आफूहरु सरकारमा आउनुपर्ने नारा दिएका छन् ।

तर, हाम्रो पार्टीको सुरुदेखिको धारणा छ कि यो असफलता र संकट केवल सरकार र मन्त्रीहरुको मात्र होइन, अपितु दलाल पुँजीवादी सत्ता, संसदीय व्यवस्था र समाजिक दलाल पुँजीवादको असफलता र संकट हो । यसको समाधान भनेको केपी सरकारको परिवर्तन, एमाले–माके सरकारको परिवर्तन होइन र हुन सक्दैन; दलाल पुँजीवादी सत्तालाई नै जरैबाट उखेलेर फाल्नु र वैज्ञानिक समाजवादी सत्ताको स्थापना गर्नु हो । आजसम्म जनताले ठूलो बलिदान गर्दा पनि प्राप्त हुन नसकेको जनताको सत्ताको निर्माण हो ।

जनसमुदाय !

तपार्इंहरुलाई थाहै छ, हाम्रो पार्टी जनयुद्धदेखि शान्ति सम्झौतासम्म निरन्तर दलाल पुँजीवादी सत्ताको अन्त्य र जनताको सत्ता वैज्ञानिक समाजवाद स्थापनाको आवाज उठाउँदै र लड्दै आएको छ । हामीले जनयुद्धका भीषण आँधीमय दिनमा मात्र होइन, शान्ति सम्झौताका कथित शान्तिका दिनमा पनि निकै दुःख–कष्ट झेलेर सम्पूर्ण राष्ट्रघाती र जनघाती कार्यका विरुद्ध सङ्घर्ष गरेका छौं ।

आज हाम्रो जीवन अत्याचारी दमनभित्र चलिरहेको छ तर हामी नेपाली जनताको मुक्ति, अधिकार र देशको स्वाधीनताका लागि अन्तिम दमसम्म लड्ने प्रणका साथ संघर्षको मोर्चामा डटिरहेका छौं । हामी एकीकृत जनक्रान्तिको महान् यात्रामा अनवरत समर्पित छौं ।

हामीलाई पूर्ण विश्वास छ कि रहेक समय न्याय, सत्य, परिवर्तन र अधिकारको पक्षमा क्रान्तिकारी शक्तिहरुलाई साथ दिँदै आएका श्रमिक जनताले उनीहरुकै लागि लडिँदै गरेको वैज्ञानिक समाजवादी सत्ताका लागि ‘एकीकृत जनक्रान्ति’ लाई अवश्य पूर्ण साथ दिनेछन् । जनताले राणालाई हेरे, राजालाई हेरे, काङ्ग्रेसलाई हेरे, एमाले–माके संशोधनवादी कम्युनिस्टलाई हेरे– कसैले पनि जनता र देशको हितमा काम गरेनन् । त्यसको एउटै विकल्प वैज्ञानिक समाजवाद हो भन्ने बुझ्न अब कुनै गाह्रो छैन ।

हाम्रो पूरा प्रतिबद्धता छ कि जनता, देश, वैज्ञानिक समाजवादभन्दा अर्को कुनै हाम्रो स्वार्थ छैन । त्यसका लागि जुनकुनै मूल्य चुकाउन तयार छौं । तसर्थ, २१औं शताब्दीमा जनताको राज्य वैज्ञानिक समाजवाद स्थापना गर्नका लागि सबै क्रान्तिकारी, देशभक्त, लोकतन्त्रवादी, वामपन्थी शक्तिहरु एकताबद्ध बनेर हातेमालो गरौं । जनताको विजय अवश्यम्भावी छ ।

राष्ट्रघात, जनघात, भ्रष्टाचार, बलात्कार, हत्या विरुद्ध सङ्घर्ष गरौं !
दलाल, भ्रष्ट, सुदखोर, तस्कर र कालाबजारीलाई जनकारबाही गरौं !!

 

विप्लवको सम्पूर्ण विचार बुझ्न हेर्नुहोस् यो भिडियो–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर