newskoseli.Com

‘पार्टी नै एमालेलाई बुझाउन जनयुद्ध गरिएको हो ?’ : प्रचण्डहरुलाई गजुरेलको कटाक्ष

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का वरिष्ठ नेता एवं सो पार्टी संलग्न देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) का केन्द्रीय अध्यक्ष सीपी गजुरेल ‘गौरव’ ले एमालेसँग एकीकृत भएर सत्ताधारी नेकपा निर्माणमा लागेका पूर्वमाओवादी नेताहरुविरुद्ध कटाक्ष गरेका छन् ।

राजधानीमा आयोजित कार्यक्रममा बोल्दै नेता गजुरेलले प्रश्न गरे– ‘के विगतमा आफैंले प्रतिक्रियावादी भनेको एमालेलाई अन्तिममा आएर पार्टी नै बुझाउनका लागि गरिएको थियो त दसवर्षे माओवादी जनयुद्ध ?’

‘वर्तमान वाम गठबन्धन सरकार कसैबाट निर्मित हो कि जस्तो हामीलाई लागेको छ,’ देजमो केन्द्रीय समितिद्वारा प्रज्ञाभवनमा आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै गजुरेलले चेतावनीको शैलीमा भने– ‘राणा शासन होस् या पञ्चायती व्यवस्था, ती सबैलाई नेपाली जनताले सडक आन्दोलनबाटै समाप्त पारेको हुनाले यो सरकारलाई पनि सडक आन्दोलनले विस्थापित गर्छ ।’

अहिलेसम्म सत्ताका आवरणहरु तथा सरकारहरू मात्रै परिवर्तन भएकाले देश र जनताले परिवर्तनको अनुभूति गर्न नपाएको भन्दै नेता गजुरेलले बलप्रयोग सहितको आन्दोलनको बलमा मात्र सत्ता परिवर्तन सम्भव हुनेमा जोड दिए । सोही अनुरुप आन्दोलनमा होमिन आफ्ना कार्यकर्तालाई निर्देशन दिइसकिएको पनि उनले खुलाए ।

केपी ओली नेतृत्वको वर्तमान सरकारलाई ‘दलाल सरकार’ को संज्ञा दिँदै यसले दलाल तथा नोकरशाही पुँजीवादी तथा साम्राज्यवादीहरुको मात्र सेवा गर्ने, देश र जनताको सेवा नगर्ने दावी गजुरेलले गरे । वर्तमान शासन व्यवस्था नै ‘दलाल संसदीय व्यवस्था’ हो भन्दै सरकारका साथै सिंगो शासन व्यवस्थाको विकल्प खोजिनु जरुरी भएकोमा गजुरेलले जोड दिए । नयाँ जनवादी गणतन्त्रको स्थापना नै अबको विकल्प भएको उनले बताए ।

अन्तर्क्रिया कार्यक्रममा सीमाविद् एवं नापी विभागका पूर्वमहानिर्देशक बद्धिनारायण श्रेष्ठले देश, देशभक्ति, राष्ट्रियता र राष्ट्रको भावना तथा मनोविज्ञानबारे व्याख्या गर्दै यसको बचाउका लागि नेपालीहरु समयमा नै उठिहाल्नु पर्नेमा जोड दिए । ‘देशघाती, जनघाती तथा जनतामाराका विरुद्ध सबै उठिबस्नुपर्छ र जनविरोधीहरुको दोहोलो काढ्नुपर्छ,’ श्रेष्ठले भने– ‘राष्ट्र भनेपछि भूगोल हुन्छ, निश्चित जनसंख्या हुन्छ, सीमा हुन्छ, सार्वभामिकता हुन्छ, स्वतन्त्र सरकार हुन्छ तर अहिले ती हामीसँग छन् कि छैनन् भनेजस्तो स्थिति देखापरेको छ ।’ नेपालमा अहिले सार्वभौमिकता खोज्नुपर्ने, स्वतन्त्र सरकार नदेखिने र सीमाको रक्षा नहुने स्थिति आएएको भन्दै उनले चिन्ता प्रकट गरे ।

अन्तर्क्रिया कार्यक्रममा राजनीतिक विश्लेषक डा. सुरेन्द्र केसीलगायतले पनि सम्बोधन गरे । दर्शकका तर्फबाट शेखरनाथ आचार्यले सीमासम्बन्धी केही प्रश्न राखे । बुङमतीका निरन तुलाधरले तराई–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) बारेमा वैद्य माओवादीको विचार के हो भन्ने प्रश्न गरे ।

क्रान्तिकारी माओवादीका नेता परी थापाले उद्घोषण गरेको अन्तर्क्रिया कार्यक्रममा करिव एक हजार सहभागी थिए ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर