newskoseli.Com

बीएस्सी एजीको भर्नामा लफडा : त्रुटि नसच्याए कडा संघर्ष– क्रान्तिकारी

त्रिविले हालै लिएको कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको प्रवेश परिक्षा र भर्ना प्रक्रिया अपारदर्शी र त्रुटिपूर्ण भएको भन्दै अखिल क्रान्तिकारीले त्यसलाई तत्काल सच्याउन माग गरेको छ ।

पूर्व नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले मंगलबार उपकूलपतिलाई ध्यानाकर्षणपत्र पेस गर्दै प्रवेश परीक्षाको नतिजा र भर्नाको प्रक्रियाप्रति असहमति जनाएर यस्तो माग गरेका हुन् ।

प्रवेश परीक्षाको नतिजाअनुसार कोटा भर्ना ५५८ नम्बरदेखि मात्र सुरू गरिँदा ५५७ क्रम संख्यासम्मका विद्यार्थी अन्यायमा परेको भन्दै कोटामा भर्ना हुन पाउने विद्यार्थीहरुलाई तत्काल भर्नाको व्यवस्था गर्न उनले ध्यानाकर्षणपत्रमा माग गरेका छन् । प्रवेश परीक्षा र नतिजा सार्वजनिक गर्दा नै विद्यार्थीहरु स्पष्ट हुने व्यवस्था गर्न पनि उनले माग गरेका छन् ।

पत्रमा त्रिविले उपलब्ध गराउने छात्रवृत्ति पारदर्शी गर्न माग गर्दै उक्त मागहरु तत्काल पूरा नगरिए कडा संघर्षमा उत्रने चेतावनी समेत दिएका छन् ।

यस्तो छ अध्यक्ष तामाङले उपकूलपतिलाई बुझाएको पत्र–

श्री उपकुलपतिज्यू,
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर, काठमाडौं ।

विषय भर्ना प्रक्रियामा भएको त्रुटि सच्याउने सम्बन्धमा ।

त्रि.वि. अन्तर्गत कृषि तथा पशुविज्ञान अध्ययन संस्थानको २०७५ पुस २४ को सूचनाका आधारमा २९ र ३० गतेका लागि तोकिएको स्नातक तहको भर्ना अन्तर्गत कोटा प्रणालीका लागि गरिएको भर्ना अन्त्यन्त अवैज्ञानिक र अव्यावहारिक भर्इ त्रुटिपूर्ण हुन गएको पाइएको छ ।

प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्दा मेरिट र कोटाको छुट्टाछुट्टै नतिजा सार्वजनिक नगरिएको र मेरिटको कति क्रम संख्यासम्म भर्ना हुने र कोटाको कति क्रम संख्याबाट भर्ना गरिने हो, सोको स्पष्टता सूचनाबाट हुन नसकेको देखिन्छ । अतः कोटाको सिटमा भर्ना हुँदा कोटामा बढी अंक प्राप्त गर्ने वास्तविक विद्यार्थीहरुले अध्ययन गर्नबाट वञ्चित भई कम अंक प्राप्त गर्ने विद्यार्थी भर्ना भएको र उक्त प्रक्रिया निष्पक्ष एवं पारदर्शी नभएकाले तत्कालै तपशिलका विषय सम्बोधनका लागि अनुरोध गरिन्छ ।

१. प्रवेश परीक्षाको नतिजाअनुसार कोटा भर्ना ५५८ नम्बरबाट मात्र गरिँदा ५५७ क्रम संख्यासम्मका कोटामा भर्ना हुन पाउने विद्यार्थीहरुलाई तत्काल भर्ना हुने व्यवस्था गरियोस् ।

२. प्रवेश परीक्षा र नतिजा सार्वजनिक गर्दा नै विद्यार्थीहरुले स्पष्ट हुने व्यवस्था गरियोस् ।

३. छात्रवृत्ति पारदर्शी गरियोस् ।

यी विषय सम्बोधन नगरिएमा तत्कालै हाम्रो संगठन कडा संघर्षमा जान बाध्य हुनेछ ।

… … … … …
रञ्जित तामाङ
अध्यक्ष

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर