newskoseli.Com

सरकारमै बसेर उपेन्द्रको आह्वान : ‘सरकारविरुद्ध सङ्घर्षका लागि तयार रहनोस्’

सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले संविधान संशोधन गर्न सरकार तयार नभए सङ्घर्षका लागि तयार रहन ‘मधेशवासी’ हरुसँग आह्वान गरेका छन् । संविधान संशोधनकै लागि आफू सरकारमा सहभागी भएको दावी उनले गरेका छन् ।

मधेश आन्दोलनका क्रममा सहिद भएकाहरूको सम्झनामा २ नम्बर प्रदेश सरकारद्वारा शनिबार लहानमा आयोजित १२औं ‘वलिदानी दिवस तथा सम्मान कार्यक्रम’ लाई सम्बोधन गर्दै सरकारले मधेशीको हक–अधिकार र पहिचानका लागि संविधान संशोधन नगरे आफू सरकारबाट बाहिरिन समेत तयार रहेको उपप्रधानमन्त्री यादवले बताए ।

मधेशी, दलित, मुस्लिम, जनजातिलगायतमाथि अझै विभेद कायम रहेको उल्लेख गर्दै संविधान संशोधन गर्न सरकार तयार नभए सङ्घर्षका लागि तयार रहन समेत उपप्रधानमन्त्री यादवले मधेशी समुदायसँग अपिल गरे । मुलुकको प्रमुख शत्रु गरिबी, बेरोजगारी र अशिक्षा रहेकाले त्यसको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताउँदै गरिबी, बेरोजगारी र अशिक्षा अन्त्य नभएसम्म मुलुकको विकास सम्भव नभएकाले यसलाई अन्त्य गर्न सरकार प्रतिबद्धताका साथ अघि बढेको उनले बताए ।

सरकारका तर्फबाट मधेशमा शिक्षा, स्वास्थ्यलगायतको विकासका लागि योजना अघि सारिसकेको उनले बताए । सहिदको बलिदानबाट प्राप्त भएको सङ्घीयतालाई समाप्त पार्ने षड्यन्त्र भइरहेको दाबी गर्दै सङ्घीयताविरोधी गतिविधि र षड्यन्त्रप्रति जागरुप हुनुपर्ने उनले जिकिर गरे ।

प्रदेश सरकारका अधिकारहरू कटौती गरेर सङ्घीयता बिफल पार्ने षड्यन्त्र भइरहेको प्रदेश– २ का मुख्यमन्त्री लालबाबु राउतले दावी गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर