newskoseli.Com

सरकारविरुद्ध खनिए कांग्रेस नेताहरु : देउवाले भने– ‘प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भयो’

सरकारले प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप गरी प्रजातन्त्रलाई कमजोर बनाएको नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आरोप लगाएका छन् ।

सोमबार नेपाल प्रेस युनियन जिल्ला शाखा लमजुङको छैटौं जिल्ला अधिवेशनमा बोल्दै सभापति देउवाले सरकार प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी हत्यारालाई उन्मुक्ति दिन लागिपरेको बताए । ‘सरकारले निर्मला पन्तको हत्यारालाई बचाउन घटनामा भेटिएका सबै प्रमाण नष्ट गरेको छ, देशमा हत्या–हिंसाका घटनामा वृद्धि हुँदा समेत सरकार मूकदर्शक बनेको छ’– उनले भने ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले हावादारी गफ लगाउँदै हिँडेर विकास निर्माणका क्षेत्रमा केही काम नगरेको आरोप लगाए । ‘नब्बे प्रतिशत राष्ट्रिय योजना कांग्रेस सरकारकै पालामा सुरुआत भएका हुन्,’ उनले भने– ‘कम्युनिस्टहरू हावादारी कुरा मात्र गर्छन्, काम केही गर्दैनन्, काम केही नगर्ने र अरुले गरेका राम्रा काम समेत आफैंले गरेको भन्दै हिँड्ने प्रवृत्ति कम्युनिस्टमा हावी भएकाले विकासले गति लिन सकेको छैन ।’

नेपाली कांग्रेसका अर्का केन्द्रीय सदस्य दिलबहादुर घर्तीले कम्युनिस्ट सरकारले प्रेसदेखि अदालतसम्म हस्तक्षेप गरी संसदीय शासन व्यवस्थामाथि नै हस्तक्षेप गरेको आरोप लगाए । कम्युनिस्ट सरकारले ल्याउन खोजेको अधिनायकवादका विरुद्ध सबै एकजुट भएर लाग्नुपर्ने उनको भनाइ छ ।

नेपाल प्रेस युनियनका अध्यक्ष बद्री सिग्देलले प्रेस युनियन एक भएपछि कांग्रेस पार्टी एकजुट हुने अपेक्षा गर्दै आफू सबै जिल्लामा प्रेस युनियनलाई एकढिक्का बनाउने अभियानमा लागेको बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर