newskoseli.Com

हामी अपराधी हौं, जो जिउँदै छौं

म सहिद सोमबहादुर थापामार्फत सहादत, हामीले भोगेका युद्धगाथा एवम् सहादत–संस्कृतिको बात मार्दैछु । त्यो मात्र सहिद हो, जसले आफ्नो निष्ठारक्षाका लागि शक्तिसँग हाकाहाकी प्रतिरोध गर्दा बाँच्न पाउने अवसरलाई समेत सचेत रूपले अस्वीकार गर्छ ।

सरकारी अभिलेखालयमा त्यस्ता आदर गर्नुपर्ने सहिद सङ्ख्या कति छ ? त्यो यकिन छैन । सहिदको सम्मान गर्ने नैतिक अधिकार त्यसैलाई मात्र रहन्छ, जसले या त सहादतको गरिमाबोध गरेको होस् या सो भावलाई जीवनमा मनसा, वचन, कर्मणा निरन्तरता दिइरहेको होस् ।

अवस्था देख्दा भन्नुपर्ने हुन्छ– मान्छे बाँच्दैन, सपना रहिन्जेल सहिद भने बाँच्छ । हामी अपराधी हौं, जो ‘मृतशरीर’ को भरिया बन्दै जिउँदै छौं । हे, सहिद ‘तिमी मर्नैपर्थ्यो, मरेर राम्रै गर्‍यौ’ । बाँचेका भए कतै तिमी पनि हामीजस्तै आफ्नै लासको मलामी जानुपर्थ्यो ! वा कतै चाकरी–चाप्लुसी र सिंहदरबारको वरिपरी फन्को मारिरहेको भेटिन पनि सक्थ्यौ । कतै ‘समानुपातिक’ मा आफ्नो नाम नपरेकाले ‘फेसबुके धारेहात’ लगाएर राजनीतिक नाइकेहरूलाई गाली बकिरहेका पनि हुन सक्थ्यौ ।

तिमी मर्नैपर्ने थियो, मर्‍यौ, राम्रै गर्‍यौ । तर, हे सहिद तिमी मरेर पनि सुख भने पाएनौ । तिम्रा ‘हकवाला’ ले हरेक सभा–सम्मेलन, मिटिङमा एक मिनेट मौनधारणा गरेर तिम्रो खिल्ली उडाउँछन् । पछ्याउनु नपर्ने राजनीतिक धन्दाका तिमी एउटा ‘गहना’ मात्र बन्यौ । तिमीलाई अहिले सामाजिक व्यभिचारीका लस्करैमा राखिएको छ । ‘सहिद’ र ‘दस लाख रूपैयाँ’ बराबर भएको छ । शब्दको अनर्थ नै भयो । मर्‍यौ ठीक गर्‍यौ । यो हविगत त देख्नु परेन । सोच त ! बाँचेका भए तिमी पनि के हुन्थ्यौ ?

राज्यका, पार्टीका, समूहका आ–आफ्ना ‘सहिद’ छन् । नेपालमा अनेकखाले ‘नयाँ वर्ष’ जस्तै अनेकौं किसिमका ‘सहिद’ छन्, ‘सहिद दिवस’ छन् । आपसी झै–झगडामा मारिएका ‘डन’ पनि ‘सहिद’ छन् । राज्यका, पार्टीका, समूहका ‘सहिद’ हरू फरक–फरक छन् । राज्यका आँकडामा, घोषणामा, पुस्तिकामा हेर्ने हो भने यो ‘सहिदको देश’ होे । अर्थात्, कुनै पनि प्रसङ्गमा, घटनामा कोही मर्छ भने ऊ ‘सहिद’ बनिहाल्छ । अहिले ‘मृतक’ र ‘सहिद’ एक–आपसका पर्यावाची शब्द नै पो बनिसके । ‘सहिदको खेती’ विशेषता नै भए । तिमी तिनै असङ्ख्यको लस्करमा राखिएका एउटा गुमनाम ‘लास’ मात्र हौ । …मर्‍यौ, ठीकै गर्‍यौ । बाँचेका भए, तिमीलाई आफ्नै लास गह्रौं हुन्थ्यो, गन्हाउन सक्थ्यो । आज तिमीलाई ‘सहिद’ भन्नेले नै तिमीलाई दुत्कार्थे पनि होलान् ।

पार्टी र आन्दोलन रहिन्जेल माओवादी दिलबहादुर रम्तेल (१४ फागुन, २०५२, गोर्खा) हत्यादेखि २०२८ का सुखानी, झापाकालीन सहादतसम्मको सम्झनामा ‘सहिद सप्ताह’ मनाउने गर्थ्यो । सहादत–आदर्शको सम्मानमा, सहादतको बाटोको उच्च मूल्याङ्कन गर्दै त्यही आदर्श पछ्याइन्थ्यो । युद्धको ऊर्जा बन्थ्यो; ‘श्रद्धा’ बन्थ्यो, ‘सराद्धे’ होइन । मूल्यको पुनः स्मरण र वर्तमानप्रति सचेत बनाइरहन्थ्यो ।

सहिद त सपनाको निरन्तर स्वीकार हो । हरेक देश, जाति, राजनीति र वर्गका आ–आफ्ना प्रेरक व्यक्तित्व हुन्छन् । त्यही आदर्शले मानवीय मूल्य र प्रतिबद्धता पूरा गर्न दिइएका बलिदानले अपूरा सपना पूरा गर्न लल्कारिरहेको हुन्छ । आजका ‘माओवादी’ एघार हजार त्यस्तै स्वप्नद्रष्टाको ‘चिहाने ढिस्को’ मा उभिएर ‘अग्लो’ भएको शब्द र शक्ति हो ।

मृत्यु ध्रुवसत्य छ भनेर सम्झिरहन मानिसले घरअगाडि चिहान राख्ने चलन अझै पनि दुनियाँमा छ । यो लेख मेरा सहयोद्धाप्रतिको समर्पण हो । उनीहरूकै सहादतको चौतारी इतिहास बन्दै राजनीतिले क्रमभङ्ग गर्‍यो । जनयुद्धका सहिदहरूको कम्युनिस्ट व्यवस्थाका लागि सहादत भएको थियो । जेका लागि सहादत भएको थियो, त्यसको निरन्तरता माओवादीले कति दिन सकेको छ ? आदर्श पछ्याउन सकेको छ ? बहस–विषय ती कति बने ? सहिदको ‘हकवाला’ कति, को बन्न सकेका छन् र छौं ? अहिले माओवादी पार्टी, आन्दोलन, आदर्श र अभियान त छ ? हामी सामुन्ने ठिङ्ग उभिने प्रश्न हुन् ।

प्रिय कमरेड,
म तिमीलाई अहिले कुन नामबाट पुकारौं ? तिम्रा माध्यमबाट यस संसारका र हाम्रै देशका तमाम ज्ञात–अज्ञात सहिदहरूलाई हो यो पत्र । म तिम्रा नाममा अहिले केन्द्रित हुँदैछु, जसले एउटा नेपाली समाजमा अत्यन्तै सचेततापूर्ण, योजनाबद्ध क्रान्तिको सपना देख्यो/देखायो । त्यसको मूल्य हाँसीहाँसी तिर्‍यो ।

यस दुनियामा तिमीलाई अनेकौं नाम छन् । गुमनामहरूका जे नाम पनि हुन सक्छन् । कुशल इतिहासका व्यस्थापकले तिमीलाई आतङ्ककारी पनि भन्न सक्छन् । घनघोर मनोयुद्ध चलिरहेका बेला तिमीलाई जङ्गली, मूर्ख र हत्यारा भन्न सक्छन् । सुन्दर बैंस खर्चिने पटमूर्ख पनि भन्न सक्छन् । फेर्न गएका फेरिएपछि तिमीप्रति पनि आग्रह ठडिएका हुन् ।

समयसँगै फेरि ठालूवङ्शले खुब वीभत्स चर्चा गरे । कायरहरू बहादुर बनेका बेला हितअनुसारका तिम्रा चर्चा हुने नै भए । आजै यो पत्र लेख्दै गर्दा आफैंसँग, आफ्नै युगसँग बात मार्ने दिन जुर्नुको कारण भनेको माघ पहिलो हप्ता राज्यद्वारा ‘सहिद दिवस’ मनाइनु र १६ माघमा सहिद दिवस पर्नु पनि हो ।

इतिहास सम्झँदै समीक्षा गर्दा प्रश्नले जवाफ माग्छ– तिम्रा सहयोद्धा नेता–कार्यकर्ताले सहादतको आदर्श कति पछ्याए ? पछ्याउने बाचा–कबुल गरेर निरन्तरता दिए ? कतै सहादतको चिहानमा ठडिएर अग्लो देखिने ‘अगुवा‘ र पछुवालाई सहिद दिवस मनाउने, तिमीले कोरेको बाटो, देखाएका सपनाको हत्यारा बनेर सो अधिकार छ त ? हामीलाई, नकच्चरो समाजलाई र अगुवालाई परिवर्तन ‘काउसो’ बन्दै भीडमा फेरिँदै गएको यो अवस्थामा तिमी आफना सहयोद्धालाई माफ गर, टापटिपे ज्ञान र हाटहुटे नेताले भरिएको हाम्रो समाजमा अब तिम्रो ‘सराद्धे’ मात्र गर्दैछौ भनेर ।

हे सहिद, तिम्रा बहानामा भन्नुपर्ने कुरा धेरै छन् । विश्वकै ज्ञात–अज्ञात सहिदहरूको सम्झनामा टाउको निहुर्‍याउनुको अर्थ समाज यथास्थितिमा बस्न सक्दैन, जिउँदा मान्छे सत्ताका आदेशमा लुरुलुरु हिँड्ने, शक्तिले जे भन्छ– खुरुखुरु त्यसलाई नै पालन गर्नेमा सीमित रहँदैनन् भन्ने हो । जुन समाज जति उन्नत छ, त्यसले त्यति नै मूल्य तिरेको हुन्छ । समाजिक न्यायका पक्षपातीहरू त्यही आदर्श पछ्याउँदै फेरि हाकाहाकी मृत्यु स्वीकार्छन् । सोही पदचाप पछ्याउनेको भूमिका क्रान्ति बनेर सत्ता फेरिन्छन् । हो, तिमी पनि त्यही मार्गचित्र पछ्याउने एउटा अगुवा स्वप्नद्रष्टा थियौ ।

सहिदका ‘हकवाला’ त उनले देखाएका सपनालाई निरन्तरता दिने र पछ्याउने राजनीतिक पार्टी, कार्यकर्ता, जागृत युवा र समाज मात्र हुन्छन् । हामी जिइरहेको अवस्था भनेको आदर्श चीरहरणको समय हो । हाम्रो समय र समाज त्यसलाई पिच्च थुक्ने आँट गर्दैन । हामी त तमासा हेर्न र आग्रह वा कुन्ठा बान्ता गर्न अभ्यस्त भइसक्यौं । विचार, सपना र आदर्शको अस्तव्यस्तता छ । नसामा रगत हैन, पानी बगिरहेको झैं भएको छ ।

प्रियजन,
महान् मृत्युलाई फेरि एकपल्ट नमन गरौं । सम्झौं । ऊ सामान्य मान्छे मात्रै पक्कै थिएन । त्यसैले नै सामान्य मराई मात्रै थिएन । ऊ पात्रका रूपमा युगको अभिव्यक्ति थियो । उसलाई मारेर युगलाई ध्वस्त पार्ने कोसिस भएका पक्कै हुन् । ऊ स्पार्टाकस वा रक्तबिज थियो र हो । हरेक युग, हरेक समय, हरेक ठाउँमा विद्रोह भएर जन्मँदै ऊ क्रान्ति–उत्सवमा फेरिन्छ ।

उसको सहादत जीवनको अन्त्यष्टि थिएन, वास्तवमै नवीन युगको शङ्खध्वनि गर्जंदै नितान्त नयाँ मान्छेको ठाउँ आगेटिसकेको थियो । उसकै साथमा भौतिक जीवनको अन्तसम्म रहने धेरै थिए । उसले भनेका कुरा अझै गुन्जिन्छन् । जीवन र मृत्यु, आदर्श, उपदेश र व्यवहारबारे सोच्दा मित्र र विमित्रका परिभाषा र सहकार्य सोचिन्छन् । के लिन गएका थियौं ? के लिएर फर्कियौं ? के हुन गइराखेका छौं ? आफैंले लतार्न नस्कने कतिपय भूतपूर्व आदर्शवादीहरूका जीवन डुङ्डुङ्ती गन्हाइरहेका बेला उसले फेरि प्राण दिन्छ ।

कतिपय बेला परिवेशले स्वयम् कर्तालाई आफ्नै विषयको पनि बन्दी बन्नुपर्दछ र त्यस चक्रब्युहबाट निस्कन हम्मे–हम्मे पर्छ । सहिद र सहादतबारे लेख्दै गर्दा देखाइएका सपनाको पुनर्समीक्षा गर्नुपर्छ । सूत्रले तय गरेका अभियान त हामीले खारेज गर्‍यौं तर कतै अनुकूलता अनुसार भूमिकाको व्याख्या त गरेका छैनौं ? हामीलाई चिन्न सक्ने सबभन्दा पहिलो व्यक्ति हामी नै हौं । आफैंलाई हामीले झुक्याउन सक्दैनौं । सहादतको धरातलमा हाम्रा महत्त्वाकाङ्क्षा यति बढेका छन् कि बितेका दुई दशक याद गर्दा पनि हामीलाई कहाली लाग्छ । फुर्सद हुँदैन । मान्छे बौलाएर, महामूर्ख र स्वाँठ नै सहिद भएका हैनन् । केका लागि सहादत स्वीकारे ? । के थिए ? अनुत्तरित अनेकौं प्रश्नको यथोचित र पत्यारिलो जवाफ दिने नैतिक दायित्वबाट अब खस्कँदैछन् ।

के थियौं ? के हुँदै छौं ? वर्तमानको ‘म’ र ‘हामी’ लाई सहिदले देख्न, भोग्न, अनुभूत गर्न पाउने छैन । हाम्रा भूमिकाले हामीलाई चिन्न उसले पाउने छैन । ऊ त स्पार्टाकसको सन्तान हो । रक्तबिज भएर जन्मदै जानेछ, कुनै पनि समय, कुनै पनि ठाउँमा । कतै कवि गोरख पाण्डेको शब्द हामीलाई नै नभनिएको होस्–
हामी अपराधी हौं, जो ‘जिउँदै’ छौं…

केही मान्छेहरू जनयुद्धका सहिद बिर्संदै भन्ने फर्मान जारी गर्छन्– सहिदलाई सम्झनु उनीहरूलाई गिज्याउनु हुन जान्छ । पक्कै हो– अवस्था अत्यन्तै कोलाहलपूर्ण, अँध्यारो छ, जुनकिरीका उज्यालामा बाटो खोज्दै हिँड्नेहरू भोलि उज्यालो हुन्छ र जता उज्यालो हुन्छ, बटुवाको बाटो त्यतै हुइँकिन्छ भन्ने मान्यता राख्छन् ।

हे सहिद ! सहादतलाई ‘सराद्धे’ का रूपमा मनाउने हाम्रो सम्वेदनाहीन पिँढीलाई माफ गरिदेऊ र ज्यान भएका तन्नेरीलाई आशिर्वाद भने दिँदै गर; ताकि नेपाली जाति अझै पनि एउटा जिँउदो जाति हो त्यसैले ‘इतिहास मूर्दाको कथा होइन’ भन्ने सन्देश छाड्न सकोस् !

१५ माघमा विमोचित पुस्तक ‘अथक सोमबहादुर’ बाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर