newskoseli.Com

ल्होसारका के–के हुन् विशेषता ? किन मनाउने ‘ग्याल ल्होसार’ ?

माघ २२ अर्थात् १९ फेब्रुअरी ५ तारिखदेखि २१४५ ल्हाेसारलाई बिदा गरी २१४६औं स–मो–फाग्लो (माटो स्त्री वर्ग सुङ्गुर) ल्हाेसार सुरु हुँदैछ ।

नयाँ वर्ष प्रवेशकाे रूपमा जनजाति र विशेष गरेर नेपालमा शेर्पा, लामा, भोटे, ह्योल्मो, तामाङ र गुरुङ आदिले ल्हाेसार मनाउँदछन् ।

ल्हाेसार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नयाँ साललाई स्वागत गर्नेसँग जाेडिएकाे छ ।

लेखक जम्बाला लामा

प्रत्येक वर्षको ल्हाेसार (नयाँ साल) को गणना र नामाकरण १२ वटा जनावरहरुको नाम, ५ वटा धातु र २ लिङ्गबाट हुन्छ । १२ वटा जनावरको नामहरुः मुसा–जिवा, गोरु–लाङ, बाघ–ताक, खरायो – ह्योई, गरूड –डुक, सर्प–डुल, घोडा–ता, भेंडा–लुक, बाँदर–टे, चरा–ज्या, कुकुर–खी र सुँगुर–फाग हुन् ।

५ धातुहरुः माटो–स, आगो–मे, काठ –सिङ, फलाम–च्या र पानी–छ्यु हुन् भने २ लिङ्गहरु पुरुष–फो र स्त्री–मो हुन् । १२ जनावरको नाम, ५ धातु र २ लिङ्गको सहायताले १२० वर्षसम्मको गणना गर्न सकिन्छ ।

नेपाल लगायत जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा मनाइने ल्हाेसार (नयाँ साल) को गणना मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित चन्द्र पात्राे अनुसार मनाउने गरिन्छ ।

ल्हाेसारकाे इतिहास

ल्होसारको सुरूआतः २१४६ वर्ष अगाडिदेखि नै कश्याप बुद्वबाट भएको देखिन्छ ।जुन कुरा विभिन्न बुद्विष्ट लामा धर्मगुरूहरूका भनाइ र तथ्य हरूबाट बुझ्न सकिन्छ । सर्वप्रथम पृथ्वीमा कश्याप बुद्वको आगमन भएको थियोे ।

त्यसताका पृथ्वीमा कश्याप बुद्व देखेपछि ठूलो ठूलो दानव, जनावर र चार मारहरूले कश्याप बुद्वमाथि आक्रमण गरे । त्यसमा बुद्वले जीत हाँसिल गरे । त्यसपछि भगवान् बुद्वले पृथ्वीमा रहेका सम्पूर्ण प्राणी अर्थात जनावरदेखी पंक्षीसम्मलाई उनीहरू सबैको नामकरण गर्ने विषयमा बोलाए । त्यसको लागि भगवान बुद्वबाट वचन भएको थियोे ।

बुद्वको बचनपछि सबै जनाबर मध्ये १२ वटा मात्रै उपस्थित भए । त्यसमध्ये मुसा सबैभन्दा अगाडि, त्यसपछि गाई, त्यसपछि क्रमशः बाघ, खरायो , गरूड, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर बुद्वको अगाडि पुगे ।

मुसाकाे जुक्तिले पुग्यो अगाडि

भगवानकाे अगाडि पुगनकाे लागि सबैभन्दा अगाडि गाई थियाे तर मुसा पाे अगाडि पुग्याे । किनकि गाई जाँदै गर्दा मुसाले थाहा पाएर बाटाेमाथि ढुकेर बस्याे किनभने मुसाले समुन्द्र तर्न सक्ने थिएन । उसले जुक्ति निकालेर ढुकेकाे ठाउँबाट गाईकाे जुराेमा फुत्रुक्क हाम फाल्याे । त्यहाँ अडेर बस्याे र समुन्द्र तरिसकेपछि भगवानकाे नजिकै गाई पुगेपछि मुसा फुत्त हाम् फालेर भगवानकाे पाउमा पर्याे ।

भगवान् बुद्वले त्यसपछि मुसाकाे नाम पहिलो नम्बरमा राख्नुभयाे । यसरी जिवा (मुसा) पहिलाे वर्गमा रहन सफल भयो । त्यसपछि दोस्रोमा गाई आयो र अरू क्रमशः आए।अन्तिममा सुँगुर आयो ।

ल्हाेसारका प्रकारहरू

नेपालमा विशेषगरी ३ प्रकारका ल्हाेसार मनाउने गरेकाे पाईन्छ । त्यसमा पहिलाे महिनामा मान्ने ग्याल ल्हाेसार, दाेश्राे महिनामा मान्ने काेङपाे ल्हाेसार र तेस्रो महिनामा मान्ने साेनाम ल्हाेसार ।

प्रथम महिना (सुरूआत)

ग्याल ल्होसार अर्थात् ग्यालको अर्थ जित, ल्हो भनेको वर्ग र सारको अर्थ नयाँ हो । भगवान् बुद्धले पृथ्वीमा चार सारमाथि जित हासिल गरेको प्रथम महिनामा मुसा वर्गमा परेकाले मुसाको नामबाट नै ग्याल लेखिएको हो ।

यो ल्होसार पृथ्वीका सबै प्राणीसँग आबद्व भएको हुनाले यो वर्गलाई नयाँ वर्ष मान्ने गरिन्छ । अर्थात्, यसमा मानवसँग आवद्व हुने तत्व र ग्रहसँग आवद्व भएको कारणबाट त्यो नयाँ वर्षमा जुन वर्गमा जन्मेको व्यक्ति हुन्छ त्यो व्यक्तिलाई (राङकेक) अर्थात् आफैंलाई ठूलो ग्रहले सताउँछ ।

जस्तो कि, हालै भइरहेको वर्ग अर्थात् सुँगुर वर्गलाई अब ठूलो ग्रहले सताउँछ । त्यसको लागि धर्म गुरूहरूसँग सरसल्लाह गरि आफ्नो वर्गको ग्रह शान्ति गर्नुपर्नेछ ।

दोस्रो वर्ग– कोङपो लोसार – यो तिब्बतको कोङ भन्ने प्रान्तमा एउटा गाउँ छ । त्यो ठाउँमा ठूलो धर्म गुरु कोङपो रिम्पोछे बस्दै आईरहेको हुँदा उनले त्यो ठाउँमा तिव्वत भएतापनि समुन्द्र किनार नजिक भएकोले त्यहाँको अन्न गहुँ र करू पाकेर भण्डार गर्ने बेलामा अन्नवाली थन्क्याएर पुजा गरेर खाने चलन भएकोले कङपो ल्होसार मान्ने चलन रहेछ । जुन दशौं महिना अर्थात मंसिरमा पर्छ ।

सोनाम ल्होसारः सोनामको अर्थ किसान हो । तिव्वतको विकट पहाडी हिमाली भेगतिर अन्नवाली ढिलो पाक्ने कारणले माघको अन्तिममा बाह्रौं महिनामा अन्नवाली थन्काईसकेपछी पुजाआजा गरेर प्रसाद ग्रहण गर्नलाई सोनाम ल्होसार नामकरण गरिएको हो ।

निष्कर्ष

यसरी हेर्दा ग्याल ल्होसार वास्तविक रूपमा नयाँ वर्ष प्रवेशको आधार देखिन्छ भने अन्य लोसार चाहिँ खाने र थकाइ मारेर रमाइलो गर्ने चाडको रूपमा मात्रै रहेकोे देखिन्छ । तसर्थ ग्याल ल्होसारलाई भव्यताका साथ नयाँ वर्ष प्रवेशको रूमा मनाउन तथा त्यसैलाई आधार मानेर क्यालेन्डर तयार पार्नु पर्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर