newskoseli.Com

नेकपाको सचिवालय बैठकः एकता सचिवालयले नै टुंग्याउने, ‘भेनेजुयला वक्तव्य’ अनुमोदित

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठकले पार्टी एकता प्रक्रियाका बाँकी काम पनि सचिवालयबाटै टुंग्याउने निष्कर्ष निकालेको छ । त्यसैगरी, बहुचर्चित ‘भेनेजुयला प्रकरण’ बारे पनि अध्यक्ष प्रचण्डले यसअघि जारी गरेको विज्ञप्तिकै ‘लाइन’ लाई सचिवालयको बैठकले अनुमोदन गरेको छ ।

एकता प्रक्रियाका कामलाई टुंगोमा पुर्‍याउन यसअघि गठन गरिएका तीन वटा कार्यदल झैं पछिल्लो स्थायी समितिले गठन गरेको नौ सदस्यीय चौथो कार्यदल समेत एकतासम्बन्धी ठोस प्रस्ताव तयार पार्न असफल भएको निष्कर्ष निकाल्दै त्यससम्बन्धी प्रस्ताव जे–जस्तो चरण र हालतमा छन्, सोही तत्काल (बुधबार) सचिवालयलाई बुझाउन समेत समिचिवालयको बैठकले निर्देशन दिएको छ । अब केन्द्रीय सदस्यहरुको कार्यविभाजन, पोलिटब्युरोको गठन, जनसंगठनहरुको एकता र केन्द्रीय विभागहरुको गठनजस्ता महत्त्वपूर्ण निर्णयहरु पनि अर्को पटक बस्ने सचिवालयको बैठकदेखि नै क्रमशः सचिवालयबाटै अघि बढाउने निष्कर्षमा नेकपा सचिवालय पुगेको छ ।

पुस मसान्तभित्र काम सक्ने म्यान्डेटसहित गठन भएको कार्यदलले माघ सकिन लाग्दा समेत विधानका केही विवादित विषयमा सहमति जुटाउने बाहेक सांगठनिक विषयमा कुनै पनि सहमति जुटाउन सकेको छैन । ‘अब बाँकी संगठनात्मक विषयहरु सचिवालयले टुंग्याउँछ र अनुमोदनका लागि स्थायी कमिटीमा लैजान्छ,’एक नेताले भने ।

त्यसैगरी ‘भेनेजुयला प्रकरण’ मा पनि नेकपाले आफ्नो पूर्ववत अडान नै दोहोर्‍याएको छ । कुनै पनि देशमा बाह्य हस्तक्षेप हुनु नहुने र कुनै आन्तरिक समस्या देखिए त्यहींका जनताले शान्तिपूर्ण रुपमा समाधान खोज्नुपर्ने निष्कर्ष सचिवालयले निकालेको छ । राष्ट्रसंघको बडापत्र र पञ्चशीलका सिद्धान्तहरुप्रति नेपाल सदा प्रतिबद्ध रहेको र हरेक देशको सार्वभौमसत्ता, स्वतन्त्रता र भौगोलिक अखण्डतालाई सम्मान गर्ने भन्दै यसअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा जारी विज्ञप्ति र त्यसै ‘लाइन’ बाट आएको परराष्ट्र मन्त्रालयको विज्ञप्तिलाई प्रकारान्तरले ‘अनुमोदन’ गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर