newskoseli.Com

अलमलमा राजपा : अझै पनि ‘पर्ख र हेर’ को नीति !

‘सत्ताका लागि जस्तोसुकै निर्णय र सम्झौता गर्न पछि नपर्ने’ जस्ता आरोप खेपिरहेका मधेशकेन्द्रित दल राष्ट्रिय जनता पार्टी (राजपा) अहिले सत्ता वा सङ्घर्षको अलमलमै रहेको देखिन्छ ।

सम्झौतालाई भर्‍याङ बनाएर सरकारमा पुग्ने तर काम नगर्ने राजपाको परिपाटी विगतकै रोग हो । मधेशका मुद्दामा बेमेल मात्र होइन, सरकारमा जाने होडबाजी र दाउपेचका साथै अन्तरपार्टी र पार्टीभित्रकै तादम्यता नहुँदा पो कमजोर बन्न पुगेको हो कि भन्ने अनुमान लगाउन थालिएको छ ।

मुलुकको राष्ट्रिय राजनीतिमा दरिलो प्रभाव पार्ने यो मधेशकेन्द्रित दल आफ्नै मुद्दामा एकताबद्ध हुन नसक्दा अलमल र पार्टीभित्रै दरार उत्पन्न भएको देखिन्छ । यद्यपि, नेताकै भनाइमा बाहिर आएजस्तो अवस्था पार्टीभित्रको सत्यता होइन । तर, पछिल्ला दिनमा दलगत र पार्टीभित्रकै नेताबीचको खटपट र अलमलले उनीहरुबीचको विवादलाई सतहमा ल्याएको छ ।

सञ्चार माध्यममा पार्टीगत र सरकारसँगको सम्बन्धलाई लिएर विभिन्न टीकाटिप्पणी भइरहेको छ । सत्ता समर्थक राष्ट्रिय जनता पार्टी र सत्तारुढ सङ्घीय समाजवादी फोरम नेपालबीच अहिले खटपट चलिरहेको छ । यता, सरकारमा रहेको समाजवादी फोरमभित्र पनि विवादको आवाज बढ्दै गएको देखिन्छ ।

पार्टीभित्रको आन्तरिक द्वन्द्व र सरकारसँगको सम्बन्धलाई व्यवहारमा परिणत गर्न समाजवादी फोरममा पनि खटपट भइरहेको बताइन्छ । यता, सरकारलाई समर्थन गरेको राजपाले न त आफ्ना मुद्दालाई अघि बढाउन सक्यो न त सत्तायात्रामै सामेल हुन पुग्यो । यसरी राजपाभित्र अलमल र बेमेल बढेको देखिन्छ ।

पार्टीभित्रकै विवादलाई किनारा लगाउन नसक्दा राजपा कमजोर बनेको छ । यसको असर सरकारसँगको सम्बन्ध र पार्टीले अख्तियार गरेको मुद्दामा समेत कमजोर हुने देखिन्छ । राजपाभित्र किन अलमल र खटपट त भन्ने जिज्ञासामा राजपाको अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले राजपा कुनै अलमल र बेमेलमा नभएको बरु ‘पर्ख र हेर’ को रणनीतिमा रहेको बताए ।

‘हामी पर्ख र हेरको अवस्थामा छौं, सरकारलाई निरन्तर रुपमा घचघच्याइरहेका छौं, मुद्दा सम्बोधन गर्नुस् नत्र विरोधको बाटोमा जानुपर्ने बाध्यता हुन्छ । तर, पर्खाइको पनि सीमा हुन्छ । धैर्यताको बाँध कुनै पनि बेला टुट्न सक्छ, त्यो अवस्था आउन नदिन सरकार बेलैमा सजग हुनुपर्छ’– उनले भने ।

‘तपार्इंहरु त सरकारमा जान आतुर हुनुहुन्छ नि’ भन्ने जिज्ञासामा राजपाका नेता महतोले सरकारमा जान आफ्नो पार्टीलाई पटक–पटक सरकारी पक्षबाट आग्रह गरिएकै हो तर आफूहरुले चासो नदिएको बताए । आशा र विश्वासका साथ दुईतिहाइको शक्तिशाली सरकारलाई समर्थन गरेकाले अझै पनि मुद्दा सम्बोधन हुने आशामै रहेको उनले उल्लेख गरे ।

महतोले भने– ‘हाम्रा सवाललाई सरकारले ध्यान दिनुपर्छ, निर्वाचित सांसद रेशम चौधरीले न्याय पाउनुपर्छ, आन्दोलनका क्रममा परेका बन्दीको रिहाइ र मुद्दा फिर्ता तथा संविधान संशोधनको विषय र आम जनताले उठाएका सवालमा सरकार गम्भीर हुनुपर्छ ।’

आम जनता र पार्टीले उठाएका सवाललाई सरकारले बेलैमा सम्बोधन नगरे समर्थन फिर्ता लिएर सङ्घर्षमा जानुपर्ने बाध्यात्मक अवस्था आउन सक्ने ‘खतरा’ नेता महतोले औंल्याए ।

सरकारलाई समर्थन जारी रहन्छ…

आफ्ना मुद्दा सम्बोधन भएपछि मात्रै सरकारमा जाने या नजाने विषयको टुङ्गो लाग्ने राजपाले बताएको छ । पार्टी आफ्ना मुद्दाको अडानमै रहेको भन्दै माग सम्बोधन भएपछि सरकारमा सभागिताको कुरा आउने नेता महतोले बताए । सरकारमा सहभागी नभए पनि आफ्ना माग सम्बोधन भएमा सरकारलाई समर्थन भने जारी रहने उनले प्रष्ट पारे ।

‘अहिले सरकारमा जाने सोच–चिन्तन बनिसकेको छैन, मुद्दामा सरकारले तदारुकता देखाए सत्तायात्रा गौण विषय हो’– नेता महतोले भने । आफ्नो मुद्दा सम्बोधनका लागि सरकारसँग आग्रह गरिरहेको र छिट्टै नै प्रधानमन्त्रीसँग पार्टीको अध्यक्ष मण्डलले भेट गरेर आफ्ना कुरा राख्नने जानकारी राजपाका संयोजक महेन्द्र राय यादवले दिए ।

महाधिवेशनको सङ्घारमा रहेको राजपाले पार्टीका गतिविधिका साथै सरकारसँगको विषयलाई पनि सँगै अघि बढाउने नीति लिएको छ । वैशाखको पहिलो साता महाधिवेशनको तयारीमा जुटेको राजपा अहिले पार्टीकै काममा बढी व्यस्त देखिन्छ । सरकारसँग उठाइएका मुद्दा र महाधिवेशनको तयारीलाई एकसाथ अघि बढाउने नीति रहेको संयोजक यादवले बताए ।

महाधिवेशनले नै नेतृत्व तय गर्छ…

पार्टी नेतृत्वबारे विभिन्न अडकलबाजी भइरहे पनि महाधिवेशनले नै नेतृत्वको टुङ्गो लगाउने नेता महतोको भनाइ छ । ‘पार्टीभित्र त्यस्तो केही विवाद छैन, बाहिर त्यत्तिकै हल्ला आइरहेको छ । यो चक्रीय प्रणाली आउँदाखेरि विवाद देखाइदियो, जुन प्रणाली वैधानिकताको सूत्र नै अध्यक्षमण्डल थियो, त्यसलाई हामीले केही दिन टारेका थियौं, कसैले अनावश्यक कुरा उचालेका कारण विवादजस्तो देखियो, हामी आफ्ना मुद्दामा संवेदनशील छौं’– महतोले भने ।

अधिकार प्राप्तिका लागि मधेशी, थारु, दलित, आदिवासी, जनजातिले भिन्नभिन्न रुपमा आन्दोलन गरे पनि ती आन्दोलन र उठेका सवालले पूर्णता पाउन नसकेको उनको निष्कर्ष छ । मुलुकलाई निकास दिन बहुल राष्ट्रिय राजनीतिलाई आत्मसात गरी राज्यले समान अवसर र सहभागिताको व्यवहार गर्नुपर्ने धारणा उनले राखे ।

उल्लेखित मुद्दामा एकताबद्ध सङ्घर्ष भएमा मात्र राज्यलाई एकमुष्ठ समाधान खोज्न सजिलो हुने उल्लेख गर्दै यदि त्यसो नभए विगतको जस्तो एक–अर्काका विरुद्ध प्रयोग गर्ने र लडाउने अवस्था सिर्जना हुने चेतावनी महतोले दिए ।

मधेशी मुद्दामा फोरमसहित मधेशी शक्तिको कठोर सङ्घर्षका बीच अघि बढेको अवस्थामा सबै कुरा छाडेर सत्तामा गएको राजपाको आरोप छ । ‘हिजो मुद्दामा सँगसँगै लडेका थियौं, अहिले दुईतिहाइको शक्तिशाली सरकारसँग बाहिरबाटै माग सम्बोधन गर्न सकिने थियो । तर, सबै कुरा छाडेर तीनबुँदे सहमति गरी फोरम सरकारमा सहभागी भयो, यसले जनतालाई निराश बनाएको छ’– उनले भने ।

विषयवस्तु जे–जति आए पनि मुद्दामा मधेशकेन्द्रित दलबीच विभाजन नरहेको नेता महतोको दावी छ । फोरमका नेतासँग निरन्तर छलफल भइरहेको र अन्य राजनीतिक शक्तिसँग पनि छलफल चलिरहेको उनले बताए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर