
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भेनेजुयलाको राजनीतिक संकटका सम्बन्धमा जारी गरेको बहुचर्चित वक्तव्य प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली तथा प्रचण्ड दुवै अधयक्षको सहमतिमा ड्राफ्ट गरिएको खुलासा सो पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले गरेका छन् ।
दुवै अध्यक्षको सहमतिमा तयार भएको प्रचण्डको विज्ञप्तिकै स्पिरिटमा नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयले पनि विज्ञप्ति जारी गरेको र ती दुवैलाई पार्टीले अनुमोदन गरिसकेको महासचिव पौडेलले बताएका छन् । यसकारण भेनेजुयला प्रकरणबारे पार्टीभित्र कुनै विवाद नरहेको महासचिव पौडेलले प्रष्ट्याएका छन् । यो प्रकरणलाई लिएर विभिन्न क्षेत्रबाट गरिएका टिप्पणीको कुनै अर्थ नरहेको महासचिव पौडेलको भनाइ छ ।
आइतबार रुपन्देहीको मणिग्राममा लुम्बिनी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित ‘रेडियो लुम्बिनी’ को २०औं साधारणसभा एवं दसौं अधिवेशनको उदघाटन गर्दै महासचिव पौडेलले भने– ‘भेनेजुयला प्रकरणले नेकपाभित्र विवाद जन्माएको प्रचारवाजी भैरहे पनि यथार्थमा यो प्रकरणलाई लिएर पार्टीभित्र कुनै विवाद छैन, सचिवालय बैठकले नै यस विषयमा पार्टीको धारणा स्पष्ट पारिसकेको छ ।’
पूर्व अर्थमन्त्री समेत रहेका पौडेलले अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै सरकारका बारेमा चिन्ता गर्नु आवश्यक नरहेको समेत बताए । सरकारका काम–कारबाहीलाई लिएर रचनात्मक ढंगले सुझाव दिनुलाई अन्यथा भन्न नमिल्ने पनि उनको भनाइ छ । सरकारका काम–कारबाहीलाई अझै प्रभावकारी ढंगले अघि बढाइने जानकारी महासचिव पौडेलले दिए ।
‘शान्तिका नाममा धन्दा गर्न चाहनेहरु’ ले नेकपाभित्र विवाद छ भनेर देखाउन खोजेको जिकिर गर्दै अब त्यो सम्भव नभएको महासचिव पौडेलले बताए । ‘शान्तिका नाममा धन्दागर्नेहरुको उद्देश्य पूरा हुन अब सम्भव छैन, सरकार आफ्नो गतिमा अगाडि बढ्छ’– पौडेलले भने ।