newskoseli.Com

मुख्यमन्त्रीको चेतावनी : ‘प्रदेश– ३ मा भ्रष्टलाई ठाउँ छैन’

प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भ्रष्टाचार नियन्त्रण अभियान आफैंबाट सुरु गर्न अनुरोध गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं वार्षिकोत्सवमा बोल्दै रकमको लेनदेन मात्र भ्रष्टाचार नभई तोकिएको समयभर कार्यालयमा रहेर कार्यसम्पादन नगर्नु पनि भ्रष्टाचार भएको उनले बताए ।

प्रदेश सरकार भ्रष्टाचार नियन्त्रणका लागि शून्य सहनशीलता सहित प्रस्तुत हुने दाबी मुख्यमन्त्री पौडेलले गरे । ‘हामी भ्रष्टप्रति अत्यन्तै निर्मम हुन्छौं, प्रदेश– ३ मा भ्रष्टाचारीको कुनै गुञ्जायस छैन, त्यस्तालार्इ यो प्रदेशमा कुनै स्थान छैन’– उनले भने ।

प्रदेश– ३ का प्रमुख सचिव आनन्दराज ढकालले सबैलाई ऐन–नियमको परिधिभित्र रहेर काम गर्न अनुरोध गर्दै भने– ‘हामी सबै जना नीति–नियमभित्र बाँधिएका छौं, ऐनविपरीत कार्य गरे छानबिन र कारबाही हुन सक्दछ भन्नेतर्फ सचेत हुनुपर्छ ।’ हाल भ्रष्टाचारीले प्रविधिको दुरुपयोग गरेर वा देशको सीमापारि गएर आर्थिक लेनदेन गरेको पाइएकाले त्यसलाई तत्काल नियन्त्रण गर्नु आवश्यक रहेको उनले बताए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख होमकला पाण्डेले भ्रष्टाचार नियन्त्रण गर्न प्रमुख आयुक्तको नेतृत्वमा अनुसन्धान टोली गठन भएको जानकारी दिँदै भ्रष्टाचार नियन्त्रणमा नागरिकको परिचालनमा जोड दिइएको बताइन् । कार्यक्रममा कवि निमेष निखिल, भ्रष्टाचार नियन्त्रण अभियन्ता भीम श्रेष्ठ र पत्रकार महासङ्घ प्रदेश– ३ का अध्यक्ष प्रताप विष्टले तल्लो तहदेखि नै सफाइ अभियान चलाउनुपर्ने खाँचो औंल्याए ।

कार्यक्रममा बारा, पर्सा, चितवन र मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, भ्रष्टाचार नियन्त्रण अभियानमा लागेका अभियन्ता तथा पत्रकार महासङ्घका जिल्ला अध्यक्षहरु सहभागी भएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर