newskoseli.Com

प्रचण्डले भने– ‘संविधान संशोधन हुन्छ, नागरिकताको समस्या सधैंका लागि सकिन्छ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेशमा देखिएको नागरिकताको समस्या अब सधैंका लागि अन्त्य हुने बताएका छन् ।

सिरहाको अर्नमा गाउँपालिका– १ स्थित महनौरमा सोमबार स्वास्थ्य चौकी भवनको उदघाटन गर्दैै पूर्वप्रधानमन्त्री प्रचण्डले भने– ‘नागरिकताको समस्या विगतमा जसरी थियो, अब सदाका लागि समाधान गर्ने गरी नागरिकता विधेयक संसदमा प्रस्तुत भइसकेको छ र समितिमा गम्भीर छलफल हुँदैछ, तपाईंहरु ढुक्क हुनोस् अब नागरिकताको समस्या मधेशको समस्याका रुपमा रहँदैन ।’

आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने सहमतिअनुरुप सङ्घीय समाजवादी फोरम सरकारमा आएको उल्लेख गर्दै संविधानलाई आवश्यक संशोधन गरेर मधेशी र जनजाति उपेक्षित समुदायको अधिकार सुनिश्चित गर्ने बाटो खुला रहेकाले संविधानमा संशोधन हुने उनले बताए ।

तराई–मधेशको पूर्वाधार विकासका लागि सरकारले सडक, खानेपानी, स्वास्थ्य, शिक्षालगायत सबै विषय समेटेर करिव २ अर्ब रूपैयाँको विशेष प्याकेज ल्याउन लागेको जानकारी दिँदै त्यसबाट मधेशले ठूलो फड्को मार्ने दाबी उनले गरे । ‘मधेशको विकासविना मधेशी जनताको आवश्यकतालाई सम्बोधन गर्न सकिन्न भन्नेमा प्रधानमन्त्री र मेरो बीचमा गम्भीर छलफल भएको छ,’ प्रचण्डले भने– ‘यसबारे हामी स्पष्ट छौं, त्यो कुरा यो सरकार र नेकपाले मात्र पूरा गर्न सक्छ भन्नेमा विश्वस्त छौं ।’

मुलुकबाट बेरोजगारी समस्या अन्त्यका लागि सरकार र आफ्नो पार्टीले ध्यान केन्द्रित गरेको बताउँदै बेरोजगार युवालाई स्वदेशमै रोजगारी दिने र रोजगारी दिन नसकिएकालाई बेरोजगार भत्ता दिने तयारी सरकारले गरेको उनले बताए । तराई–मधेशमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पूर्व–पश्चिम रेल–वे, फास्ट ट्र्याक निर्माण, औद्योगिकग्राम स्थापना, धार्मिकस्थलको संरक्षण र विकास, मेडिकल कलेज र विश्वविद्यालयको स्थापना, सिँचाइका पूर्वाधारहरुको विकास, कल–कारखानाको स्थापनालगायतका विकास निर्माणका योजना विस्तारको गृहकार्य अगाडि बढाइएको जानकारी उनले दिए ।

सिरहा जिल्ला आँपको दृष्टिकोणले अग्रणी रहेकाले सिरहालाई आँप क्षेत्रका रुपमा विकास गर्न आफूले पहल र प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्दै सिरहालाई धानको सुपर जोनका रुपमा घोषणा गरी लगानी बढाउनु पर्नेमा समेत उनले जोड दिए ।

कार्यक्रममा नेकपाका २ नम्बर प्रदेश सहइन्चार्ज तथा पूर्वमन्त्री विश्वनाथ साह, प्रतिनिधिसभाका सांसद लीलानाथ श्रेष्ठ, प्रदेशसभा सदस्यहरु रामकुमार यादव, प्रमोद यादव, जगत यादवलगायतले तराई–मधेशको विकासका लागि सरकारले छिटो विशेष कार्यक्रम ल्याउनुपर्ने माग गरे । सहरी विकास तथा भवन निर्माण आयोजना राजविराजका प्रमुख रमेश थिङले कूल १ करोड २१ लाख ७६ हजार रुपैयाँको लागतमा स्वास्थ्य चौकी भवन निर्माण गरिएको जानकारी दिए ।

अर्नमा गाउँपालिकाका अध्यक्ष ठक्कु महतोको अध्यक्षतामा आयोजित उदघाटन कार्यक्रममा स्वास्थ्य चौकी निर्माणका लागि जग्गा दिने जग्गादाताहरुलाई अध्यक्ष प्रचण्डले दोसल्ला ओढाएर सम्मान गरेको खबर राससले प्रेषित गरेको छ ।
–––

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर