newskoseli.Com

रामचन्द्र पौडेललको प्रश्न : युरोपतिर पुग्ने कि रुवान्डा र सोमालियातिर ?

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले युरोपतिर पुग्ने कि रुवान्डा र सोमालियाति पुग्ने भनी प्रश्न गरेका छन् । उनले मुलुकमा अब सिद्धान्तको राजनीति आवश्यक भएको बताएका छन् ।

नेपाल राष्ट्रिय मगर सङ्घ केन्द्रीय समितिको आयोजनामा शनिबारदेखि दमौलीमा सुरु गण्डकी प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उदघाटन गर्दै सिद्धान्तको राजनीतिले मात्रै मुलुकलाई समृद्ध बनाउने वरिष्ठ नेता पौडेलले बताए ।

उनले भने– ‘सिद्धान्तको राजनीतिले नेपाललाई युरोपतिर पुर्याउँछ, सांस्कृतिक द्वन्द्वको राजनीतिले नेपाललाई रुवान्डा र सोमालियातिर पुर्याउँछ ।’ प्रजातान्त्रिक समाजवादको आदर्शले मात्रै सबै जातजाति, भाषा, धर्म र क्षेत्रलाई समान अवसर दिने नेता पौडेलले बताए ।

सरकारको एक वर्षको काम प्रभावकारी नभएको आरोप पौडेलले लगाए । सरकारले एक वर्षको समय त्यत्तिकै खेर फालेको टिप्पणी गर्दै सरकारले समयको सदुपयोग गर्न नसकेको उनले बताए । ‘हिजो लाखको र करोडको भ्रष्टाचार सुनिन्थ्यो, आज अरबौंका भ्रष्टाचारका कुरा बाहिर आएका छन्,’ नेता पौडेलले भने– ‘त्यसतर्फ सरकारको ध्यान जान सकेको छैन ।’

सरकारले ल्याएको रोजगार कार्यक्रम कार्यकर्ता पोस्ने काम मात्रै भएको वरिष्ठ नेता पौडेलले टिप्पणी गरे । रोजगारीको विकल्प नभर्इकन रोजगारी दिन्छु भन्नु कार्यकर्तालाई पैसा बाँड्ने काम भएको पौडेलको भनाइ छ । काङ्ग्रेस सुध्रिएर अघि बढ्नुपर्नेमा जोड दिँदै काङ्ग्रेसभित्रै शुद्धीकरणको आवश्यकता रहेको पौडेलले बताए ।

समृद्धि र विकासका लागि काङ्ग्रेसको सरकार आवश्यक रहेको बताउँदै मत प्रतिशत बढाउने गरी सङ्गठन अगाडि बढाउनु पर्नेमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले जोड दिए । नेपाल एकीकरणमा मगर समुदायको भूमिका उदाहरणीय रहेको चर्चा गर्दै पार्टीको केन्द्रीय तहमा समेत मगर समुदाय आउनुपर्ने उनले बताए ।

सबै जातजातिको हकहित संरक्षणका लागि पार्टी प्रतिबद्ध रहेको केन्द्रीय सदस्य भीष्मराज आङ्देम्बेले बताए । सरकारले सदाचारको बाटो बिराएको केन्द्रीय सदस्य धनराज गुरुङले बताए । काङ्ग्रेस देशलाई समृद्धिको दिशामा अगाडि बढाउने अभियानमा लाग्नुपर्नेमा केन्द्रीय सदस्य शङ्कर भण्डारीले जोड दिए । जिम्मेवार ढङ्गबाट सरकार अगाडि बढोस् भन्ने काङ्ग्रेसको शुभकामना रहेको केन्द्रीय सदस्य प्रदीप पौडेलले बताए ।

आइतबारसम्म सञ्चालन हुने प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाबाट प्रतिनिधि सहभागी रहेको जानकारी नेपाल राष्ट्रिय मगर सङ्घका केन्द्रीय सभापति ओम घर्तीमगरले दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर