newskoseli.Com

मुख्यमन्त्रीको गुनासो : ‘मिडियाले सहयोग गरेनन्’

सरकारले द्रुत गतिमा सैद्धान्तिक र व्यावहारिक रुपमा काम–कारबाही अगाडि बढाएको भए पनि सञ्चार माध्यमले अपेक्षित सहयोग नगरेको प्रदेश– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले गुनासो गरेका छन् ।

केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय तहले कानुन निर्माण, विकास निर्माण, संविधान कार्यान्वयन र सङ्घीयता लागू गर्ने सवालमा तीव्र गतिमा काम–कारबाही अगाडि बढाए पनि सञ्चार माध्यमले त्यसलाई बेवास्ता गरेको भन्दै उनले दुःखेसो पोखे । प्रदेश स्थापनाको १ वर्ष पुगेको एवम् मुख्यमन्त्री दाङ आएको अवसर पारेर प्रेस चौतारी र प्रेस सेन्टर निकट पत्रकार सङ्गठनले शनिबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सरकारले गरेको वास्तविक कामलाई जनतासामु हुबहु ल्याइदिन मुख्यमन्त्री पोखरेलले सञ्चार माध्यमलाई आग्रह गरे ।

पछिल्लो समय पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, रोजगार, खेलकुदमा उल्लेखनीय काम भइरहे पनि त्यसलाई नजरअन्दाज गरिएको भन्दै सरकारले गर्न लागेको राम्रो कामलाई जनतासम्म पुर्याउनका लागि सञ्चार माध्यमको साथ अपरिहार्य भएको उनले बताए । प्रदेश सरकारले गरिरहेका गतिविधिको बारेमा जानकारी दिँदै अहिले आफूहरु संविधान र सङ्घीयता कार्यान्वयनको चरणमा रहेको उनले उल्लेख गरे । प्रदेश– ५ ले १२ वटै जिल्लामा प्रदेश तहका करिव १ सय ५० वटा कार्यालय स्थापना गरेर काम थालेको जानकारी उनले दिए ।

प्रदेशलाई आवश्यक पर्ने आधारभूत तहको कानुन निर्माण पनि गरिसकेको जानकारी गराउँदै अब प्रदेशले प्रदेश तहको समिति निर्माण र आवधिक योजना निर्माणको काम सुरु भएको उनले उल्लेख गरे । आफूहरु अरू प्रदेशको तुलनामा एक कदम अगाडि रहेको दाबी पनि उनले गरे ।

नेपाल कम्युनिस्ट पार्टीको प्रदेश– ५ का प्रमुख समेत रहेका मुख्यमन्त्री पोखरेलले पार्टीको आधारभूत तहको एकता टुङ्गिसकेको जानकारी दिए । केही जिल्लामा जिल्ला कमिटी निर्माण र भ्रातृसङ्ठन गठनको काम बाँकी रहे पनि अरू सबै काम सकिएको उनले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर