newskoseli.Com

सचिवालयमा कार्यदलको प्रतिवेदन प्रस्तुत : के–के निर्णय लियो नेकपाको सचिवालयले ?

सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालयको बैठकमा साङ्गठनिक एकताका लागि गठित कार्यदलले आफ्नो प्रतिवेदन प्रस्तुत गरेको छ ।

पुस १२ मा सम्पन्न स्थायी कमिटीको बैठकले सचिवालय सदस्य रामबहादुर थापाको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेकोे थियो । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालयको बैठकमा सोही कार्यदलले तयार पारेको साङ्गठनिक एकतासम्बन्धी प्रतिवेदन पेस गरिएको हो ।

बैठकमा कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल सुरु भएको जानकारी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिए । ‘सो प्रतिवेदन पेस भएपछि के गर्ने भन्ने विषयमा छलफल भयो,’ उनले भने– ‘कार्यदलको प्रतिवेदनमाथि छलफल जारी राख्दै अर्को बैठक फागुन ९ मा बस्ने भएको छ ।’

साङ्गठनिक एकताका सन्दर्भमा कार्यदलले लामो छलफल गरे पनि केही विषयमा भने सहमति हुन नसकेको केही नेताले बताए । ९ गते बस्ने बैठकमा कार्यदलका सम्पूर्ण सदस्यसहित सचिवालयको संयुक्त बैठक बस्ने र साङ्गठनिक एकताको विषयलाई कसरी टुङ्गो लगाउने भन्ने बारेमा आवश्यक नीति र निर्णय गरिने जानकारी प्रवक्ता श्रेष्ठले दिए ।

जेठ ३ मा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता भई नेकपा गठन भएपछि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र प्रदेश समिति गठन भए पनि जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता हुन सकेको छैन । स्थायी समितिले कार्यदल नै गठन गरेर साङ्गठनिक एकता टुङ्गो लगाउने प्रयास गरे पनि कार्यदलमा सबै विषयमा सहमति हुन नसक्दा एकता प्रक्रियामा विलम्ब हुँदै आएको छ ।

आगामी संयुक्त बैठकबाट एकतासम्बन्धी विषय टुङ्गो लगाउने र देशव्यापी रुपमा अभियान सञ्चालन गर्ने मनस्थितिमा सचिवालय पुगेको बताइएको छ ।

काङ्ग्रेसमाथि आरोप : ‘निरपेक्ष विरोधवादको शिकार भयो’

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस ‘सरकारले जे गर्दा पनि विरोध गर्ने निरपेक्ष विरोधवादको शिकार भएको’ बताए । जनताले दुईतिहाइभन्दा बढी जनादेश दिएको सरकारले गरेका काम–कारबाहीको आलोचनात्मक दृष्टिकोण राख्नेभन्दा पनि विरोध गर्ने प्रवृत्ति देखिएको उल्लेख गर्दै उनले भने– ‘जसरी पनि विरोध गर्ने, जेमा पनि विरोध गर्ने प्रवृत्तिबाट काङ्ग्रेस मुक्त हुनुपर्छ ।’

नेपाली काङ्ग्रेसले आफूलाई भन्दै आएको लोकतन्त्रवादी चरित्र निर्वावाह गर्न नसकेको उल्लेख गर्दै उनले भने– ‘जनताले दुईतिहाइ मत दिएको सरकार छ तर सरकार चाहिँ मैले भनेको जस्तो गरेर चल्नुपर्छ भन्ने काङ्ग्रेसमा सबैभन्दा ठूलो तुष छ ।’ विधेयक तथा समान्य प्रस्ताव पारित गर्दा समेत विरोध गर्ने, पारित गर्न पाइँदैन भनेर अवरोध गर्ने अलोकतान्त्रिक चरित्र काङ्ग्रेसले देखाएको प्रवक्ता श्रेष्ठको गुनासो छ ।

काङ्ग्रेस लोकतान्त्रको मूल्य–मान्यताविरुद्ध गएको भन्दै उनले भने– ‘जनादेश अनुसार सरकार चल्नुपर्छ, कांग्रेस वाचडग हुने र जनतामा जाने हो तर विधान र विधिसम्मत लोकतान्त्रिक तरिकाले जानु पर्नेमा काङ्ग्रेस गएन ।’ सुशासन कायम गर्दै समृद्ध नेपाल बनाउने साझा अभियान हामी सबैको भए पनि राष्ट्र निर्माणको यो अभियान पूरा गर्न उक्त दलले सहयोग गर्नु पर्नेमा जे गरे पनि विरोध गर्ने निरपेक्ष विरोधवादको सिद्धान्तबाट काङ्ग्रेस मुक्त हुनुपर्ने प्रवक्ता श्रेष्ठको टिप्पणी छ ।

सरकारको काम–कारबाहीलाई पार्टीले अझ प्रभावकारी र परिणाममुखी बनाउन थप छलफल गर्ने जानकारी दिँदै सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र योजनालाई कार्यान्वयन गर्न लागि पर्ने उनले बताए । सरकारका नीति तथा कार्यक्रम सकारात्मक रहेको भन्दै ती विषयलाई आत्मसात् गर्नु आजको आवश्यकता भएको र सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माण गर्नु आजको प्रमुख कार्यभार रहेको प्रवक्ता श्रेष्ठले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर