newskoseli.Com

पशुपति शर्माको ‘लुट्न सके लुट्’ को संसदमा पनि चर्चा ! कुन–कुन सांसदले के–के भने ?

प्रतिनिधिसभाको सोमबारको बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका एक आयुक्तको भ्रष्टाचार र एक लोकगायकको ‘लुट्न सके लुट’ बोलको गीतले समेत चर्चा पाएको छ ।

भ्रष्टाचारमा मुछिएका आयुक्त राजनारायण पाठकले पदबाट राजीनामा गरेका सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सांसदहरुले सरकारसँग माग गरे । संवैधानिक पदमा रहेर भ्रष्टाचार गर्ने व्यक्तिले पदबाट राजीनामा दिँदैमा छुट पाउन नहुनेमा उनीहरुले जोड दिए । दोषी देखिए पाठकलाई कारबाही हुनुपर्ने माग सांसदद्वय अमृता थापा र गणेश पहाडीले गरे ।

सांसद अमरेशकुमार सिंहले गायक पशुपति शर्माको हालै सार्वजनिक गीतलाई रोक लगाइएको भन्ने सूचना सही हो भने त्यसले लोकतान्त्रिक अधिकार हनन् हुने टिप्पणी गरे । तर, सांसद झपटबहादुर रावलले भने गायक शर्माको गीतमा सरकारले कुनै पनि प्रतिबन्ध नलगाएको जिकिर गरे ।

ठेकेदारले बाटो निर्माणमा गरेको ढिलाइले नागरिकको स्वास्थ्यमा असर परेको भन्दै सांसद उमाशङ्कर अर्गरियाले सरकारको ध्यानाकर्षण गराए । मोरङमा ठेकेदारले बाटो निर्माणमा गरेको ढिलासुस्ती र कमसल निर्माणका कारण जनताले दुःख पाएको भन्दै सांसद घनश्याम खतिवडाले त्यस्ता ठेकेदारमाथि कडा कारबाही गर्न माग गरे ।

किसानलाई सहज र सुलभ रुपमा मलको व्यवस्था गराउन सांसद अमनलाल मोदीले सरकारको ध्यानाकर्षण गराए । हालै बझाङमा भएका सवारी दुर्घटनामा मृत्यु भएकालाई क्षतिपूर्ति र घाइतेको उपचारमा प्रभावकारी काम गर्न सरकारले आवश्यक कदम चाल्नुपर्ने सांसद आशाकुमारी विकले बताइन् ।

बर्दिबासको रातुखोलामा मापदण्डविपरीत ढुङ्गा, गिटी, बालुवाको दोहन बढेको भन्दै सांसद इन्दुकुमारी शर्माले सरकारको ध्यानाकर्षण गराइन् । मालपोत कार्यालयको अनलाइन प्रणाली अस्तव्ययस्त भएको र एक व्यक्तिको नाम अर्को व्यक्तिका नाममा दर्ता हुने समस्या भएको भन्दै सांसद उमा रेग्मीले यसमा तुरुन्त सुधार गर्न माग गरिन् ।

सांसद कलिला खातुनले मुसलमान विद्यार्थीको छात्रवृत्ति काटिएको भन्दै तत्काल उचित व्यवस्था गर्न माग गरिन् भने सांसद कृष्णप्रसाद दाहालले काठमाडौंमा भएको प्रदूषणले वाग्मती नदी भएर बग्ने अन्य जिल्लामा समेत असर परिरहेको र नदीमा जलचर प्राणीको विनाश भएको भन्दै आवश्यक सुधारका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

सांसद गणेशसिंह ठगुन्नाले दार्चुलामा भारतको स्वीकृति नभएर केही स्थानमा झोलुङ्गे पुल निर्माण हुन नसक्दा जनताले दुःख पाएको भन्दै यस सम्बन्धमा सरकारले पहल गर्न माग गरे । सांसद गोपालबहादुर बमले संसदको शून्य समयको सुनुवाइ पनि शून्य भएको भन्दै यसको सुनुवाइ प्रभावकारी बनाउनुपर्ने माग गरे । सांसद गङ्गा चौधरीले महिलाको महिनावारी हुनु प्राकृतिक विषय भएको भन्दै यसमा रहेको कुप्रथालाई नियन्त्रण गर्न तीनै तहका सरकारले महाअभियान लैजानुपर्ने बताएको खबर राससले प्रेषित गरेको छ ।

यप यो सामग्री पनि हेर्नुहोस्–
(भिडियो) पशुपति शर्माको ‘लुट्न सके लुट’ ले किन मच्चायो हंगामा ?

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर