newskoseli.Com

(भिडियो) पशुपति शर्माको ‘लुट्न सके लुट’ ले किन मच्चायो हंगामा ?

चर्चित लोकगायक पशुपति शर्माको पछिल्लो व्यङ्ग्यात्मक गीत ‘लुट्न सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ ले यतिबेला ठूलो हंगामा मच्चाइरहेको छ ।

गत शुक्रबार मात्र युट्युबमा अपलोड गरिएको उक्त गीतले तीव्र विवाद र बहस सिर्जना गरेपछि सर्जक पशुपति शर्माले माफी माग्दै शनिबार युट्युबबाट हटाएका छन् । सो गीत सार्वजनिक भएको दुई दिनमै ३ लाखभन्दा बढीले हेरिसकेका थिए । गीतमा प्रयोग भएका केही शब्द विवादमा तानिएपछि आफ्नो गीतका शब्दहरु परिमार्जन गरेर फेरि सार्वजनिक गर्ने उनले बताएका छन् ।

यस्ता थिए ‘लुट्न सके लुट्’ का शब्दहरु (गीतको पूर्णपाठ)

ए लुटन् सके लुट कान्छा, लुट्न सके लुट्
ए कान्छा अरु देशमा पाइँदैन, नेपालमै हो छुट्

हाम्रा गामको एउटा भाइ स्थायी शिक्षकमा लड्यो
स्थायी शिक्षक हुन्छु भनी पढ्नुसम्म पढ्यो
बल्ल बल्ल नाम निकाल्यो अहिले जागिर खान्छ
त्यसकै छोरो पढ्न फेरि बोर्डिंङतिर जान्छ
लुट्न सके लुट्…

डाक्टरले’नि जागिर यहाँ सरकारी कोटामा खान्छ
बिरामी जाँच्न फेरि क्लिनिकतिर तान्छ
हाम्रा गामको अर्को भाइले सुब्बामा जागिर खायो
दुई वर्षमै घर ठड्यायो, कहाँबाट पैसो आयो ?
लुट्न सके लुट्…

गणतन्त्र ल्याएम् भन्छन् फालेम् भन्छन् राजा
त्यै फालेका राजाजस्ता कयौं निस्के आज
जनताको मुटुभित्र काँडा कति–कति
डेढ अर्बको हेलिकप्टर चढ्छिन् राष्ट्रपति
लुट्न सके लुट्…

वाइडबडी जहाज किने, अरु लुट्नसम्म लुटे
सुनकाण्ड खै कहाँ पुग्यो, जेलमै छन् कि छुटे ?
ठूलै नेता भ्रष्टाचारी न डराउँछन्, लुक्छन्
कार्यकर्ता क्यै बुझ्दैनन्, कुकुरजस्तै भुक्छन्
लुट्न सके लुट्…

हजुरबा नि यसै मरे, बाउ नि यसै मर्छन्
हाम्रो पनि त्यै हो गति, विकास कहिले गर्छन् ?
गर्ने काम केही हैन, ठूला–ठूला भाषण
स्वर्गजस्तो देशमा हजुर यमराजको शासन
लुट्न सके लुट्…

सडकतिर त्यस्तै जात्रा, ट्राफिक लाइट छैन
ट्राफिक पुलिस सिट्टी फुक्छ, कोहीले सुन्न होइन
त्यति जाबो ट्राफिक लाइटलाई कति लाउछ (लाग्छ) खर्च ?
हाम्ले भन्नुपर्ने हो कि आफैं बुझ्नुपर्छ ?
लुट्न सके लुट्…

ठेकदारले नि टेन्डर पार्छ लिन्छ ठेक्का पट्टा
झनै बिजोग पार्छ छोड्छ काम भ्याउनुको सट्टा
यता गयो लुटेकै छन् लुट्छन् उता गयो
सब जनालाई लुट्नैपर्छ भन्नेमात्रै भयो
लुट्न सके लुट्…

ड्यांगडुंग गर्ने, हल्ला गर्ने ठूला मान्छे बन्छन्
तँलाई सोझो भन्दैनन् भाइ नामर्द हो भन्छन् ।
अब गर्न छोड्दे कान्छा आदर्शको खेती
केही न केही त बुझिस् होला भनेपछि यति
लुट्न सके लुट्…

भिडियोमा हेर्नोस् अहिले भाइरल भएको त्यसको ‘नयाँ’ स्वरुप

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर