newskoseli.Com

गृहमन्त्रीको दावी : शान्ति–सुरक्षा कायम गर्न सरकार सफल

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले मुलुकमा शान्ति–सुरक्षा कायम गर्न सरकार सफल भएको दावी गरेका छन् ।

राष्ट्रियसभाको बिहीबारको बैठकमा उठेका जिज्ञासाको जवाफ दिँदै गृहमन्त्री बादलले भने– ‘मुलुकमा भइरहेका महिला हिंसालगायत विभिन्न घटनामा संलग्नलाई कानुनी कठघरामा उभ्याउन सरकार सफल भएको छ ।’ निर्मला पन्तको बलात्कारपछि हत्या जघन्य अपराध भएको उल्लेख गर्दै घटनामा संलग्नलाई कानुनी कठघरामा ल्याउन सरकार दृढ रहेको गृहमन्त्री थापाले बताए । उनले भने– ‘निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाको अनुसन्धानमा लापरबाही गर्ने प्रहरी अधिकृतलाई समेत कारबाही गरिसकिएको छ ।’

सुन तस्करको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको बताउँदै ३३ किलो सुन प्रकरणमा संलग्नलाई कानुनको कठघरामा ल्याइएको उल्लेख गर्दै सुन तस्करीका केही नाइकेलाई छिट्टै पक्राउ गरेर कारबाही गरिने गृहमन्त्री थापाले बताए । फेरि पनि नयाँ बाटो प्रयोग गरेर तस्करले छिटफुट सुनको तस्करी गरिरहेको जानकारी आएको बताउँदै सरकार ती रुटलाई पनि ध्वस्त पार्न लागिपरेको उनले दावी गरे ।

पूर्वराजदूत केशव झाको हत्याको घटनाको अनुसन्धान भइरहेको उल्लेख गर्दै सो घटनासँग सम्बन्धित विषयलाई अनुसन्धान गर्न विधि विज्ञान प्रयोगशालामा पठाइएको गृहमन्त्री थापाले बताए । मुलुकमा जुन कुनै प्रकारको एकाधिकारको अन्त्य भइसकेको बताउँदै उनले भने– ‘नयाँ कानुन निर्माण गरेर भए पनि सिन्डिकेटको अवस्था अन्त्य गरेरै छाड्छौं ।’

सर्वसाधारणलाई सिंहदरबारमा सहज प्रवेशका लागि सुरक्षा व्यवस्थामा कुनै असर नपर्ने गरी योजना निर्माण गरिरहेको उनले उल्लेख गरे । विभिन्न राजनीतिक आन्दोलनमा मृत्युवरण गरेका व्यक्तिलाई सहिद घोषणाको प्रक्रिया अघि बढाइएको र केही समयअघि करिव तीन हजार सेना–प्रहरीलाई सहिद घोषणा गरिएको गृहमन्त्रीले बताए ।

यसअघि राष्ट्रियसभा सदस्य कोमल वलीले आश्रममा आनीमाथि दुर्व्यवहार गर्ने रामबहादुर बम्जनमाथि तत्काल कारबाही गर्न माग गरिन् । अर्का सदस्य जितेन्द्रनारायण देवले तराईमा हुने आगलागीको घटना न्यूनीकरण गर्न सरकारको ध्यानाकर्षण गराए । छलफलमा अन्य सदस्यहरुले मुलुकमा भइरहेका हत्या–हिंसाका घटनाबारे सरकारको ध्यानाकर्षण गराए ।

राष्ट्रियसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै सांसद वृषेशचन्द्र लालले जुनसुकै बहानामा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्नुपर्ने बताए । सांसद सरिता प्रसार्इंले काष्ठमण्डप पुनर्निर्माणमा दुई प्रकारका काठ प्रयोग गरिएको भन्दै नयाँ र पुराना काठ प्रयोग नगर्न सरकारको ध्यानाकर्षण गराए । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर