newskoseli.Com

उपराष्ट्रपतिको कटाक्ष : ‘बौद्धिक देखाउन अरुका भाषाको नक्कल’

आफूलाई ‘बौद्धिक देखाउन’ नेपालमा अरु भाषाको नक्कल गर्ने क्रम बढिरहेको भन्दै उपराष्ट्रपति नन्दबहादुर पुनले असन्तुष्टि प्रकट गरेका छन् ।

‘अन्तर्राष्ट्रिय मातृभाषा दिवस, २०१९’ को अवसरमा बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको ‘राष्ट्रिय मातृभाषा कविता महोत्सव’ को उदघाटन सत्रमा बोल्दै उपराष्ट्रपति पुनले आफ्नो कुरा अरुलाई बुझाउन प्रविधिको विकास भएकाले अरुको भाषा बोल्नुपर्ने बाध्यता नभएको बताए ।

सरकारी विद्यालयमा अङ्ग्रेजी भाषाको प्रयोग बढ्नु दुःखद् भएको उनले बताए । संस्कृत भाषा नै विश्वको सबैभन्दा पहिलो लिपिबद्ध भाषा भएको भन्दै अल्पसङ्ख्यक वा बहुसङ्ख्यक सबैले बोल्ने भाषाको महत्त्व उत्तिकै हुने उनले बताए । ‘भाषा र संस्कृति नहुँदा भूगोलले मात्रै देश रहँदैन,’ उनले भने– ‘भाषा संरक्षण र प्रवर्द्धनका लागि एकपछि अर्को पुस्तामा हस्तान्तरण गर्दै जानुपर्छ ।’

मातृभाषाको संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठानले आठ वर्षदेखि मातृभाषाको कविता गोष्ठी गर्दै आएको प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले बताए । उनका अनुसार भाषाको अवस्थाका बारेमा समेत प्रतिष्ठानले विभिन्न कार्यक्रम गरिरहेको छ ।

नेपालको पहिरन, वाद्ययन्त्र र भूगोलमा विविध भएकै कारण सुन्दर भएको प्रतिष्ठानका पूर्वउपकुलपति बैरागी काइँलाले बताए । बगैंचामा एउटा सेतो फूल मात्रै हुँदा सुन्दर नभए पनि त्यहीं विभिन्न रङ्गका फूल हुँदा सुन्दरता थपिएजस्तै नेपालमा विभिन्न जाति र तिनका भाषाले देश सुन्दर बनाएको शताब्दी पुरुष सत्यमोहन जोशीले बताए ।

मातृभाषाको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले वर्षेनि कविता सम्मेलनको आयोजना भइरहेको प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले बताए । ‘भाषिका’ लाई पनि ‘भाषा’ का रुपमा राखिएकाले त्यसको व्यवस्थापनका लागि प्रतिष्ठानले छलफल गरिरहेकोे प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायले बताए ।

विहरुले वाचन गर्ने कवितालाई आगामी दिनमा पुस्तकका रुपमा प्रकाशित गरिने जानकारी प्रतिष्ठानकी मातृभाषा–साहित्य विभागकी प्रमुख लक्ष्मी मालीले बताइन् । संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनस्को) ले सन् १९९९ मा गरेको निर्णयअनुसार सन् २००० देखि फेब्रुअरी २१ मा यो दिवस मनाउन थालिएको हो । नेपालले भने आठ वर्षदेखि यो दिवस मनाउँदै आएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर