newskoseli.Com

एनसेलमा विष्फोटको आरोपमा १६ पक्राउ, के भने गृहमन्त्री बादलले ?

मुलुकका विभिन्न क्षेत्रमा रहेका एनसेलको टावरमा भएको बम विष्फोट र आगजनीमा संलग्न रहेको आशङ्कामा प्रहरीले १६ जनालाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

काठमाडौं उपत्यकाबाट पक्राउ परेका ६ र बाहिरी जिल्लाबाट पक्राउ परेका १० गरी १६ जनामाथि अनुसन्धान चलिरहेको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिएका छन् । ‘कसले विष्फोट गरायो भन्ने विषय र पक्राउ परेकाको विषयमा अनुसन्धान चलिरहेको छ, अनुसन्धानपछि मात्रै यकिन हुन्छ, अहिले नै यसै भन्न सकिन्न’– प्रवक्ता सुवेदीले भने ।

निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको ललितपुरस्थित नख्खुमा अवस्थित केन्द्रीय कार्यालयलगायत देशका विभिन्न क्षेत्रमा रहेका टावरमा शुक्रबार बम विष्फोट गराएर क्षति पुर्‍याएको थियो । ललितपुरको नख्खुस्थित टावरमा भएको विष्फोटमा परी सिंहप्रसाद गुरुङको मृत्यु भएको छ भने प्रतीक्षा खड्का र आयुषा मानन्धर घाइते भएका छन् ।

ललितपुरको नख्खु बाहेक अन्य जिल्लामा भने आगजनी मात्रै भएको जानकारी रवक्ता सुवेदीले दिए । उपत्यका बाहिर कञ्चनपुर, जाजरकोट, अछाम, पूर्वी रुकुम, कपिलवस्तु, रुपन्देही, काभ्रेलगायत जिल्लामा रहेका एनसेल टावरमा आगजनी गरिएको छ । काठमाडौंको कमलपोखरीमा फेला परेको बमलाई भने डिस्पोज गरिएको थियो ।

उपचाररत घाइतेहरुसँग भेट गरी गृहमन्त्री रामबहादुर थापा ‘बादल’ उपचारको सम्पूर्ण जिम्मेवारी सरकारले लिने जानकारी दिँदै दोषीलाई पक्राउ गरी कारबाही गर्ने आश्वासन दिएका छन् ।

उक्त घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ । जाँचलाई साविकभन्दा बढाएको, सादा पोशाकमा समेत प्रहरी परिचालन गरी मोबाइल गस्ती बढाएको र मुलुकभरका प्रहरी कार्यालयलाई सुरक्षा व्यवस्था थप मजबुद पार्न निर्देशन दिइसकिएको जानकारी प्रवक्ता सुवेदीले दिए ।

शङ्कास्पद गतिविधिहरुमाथि समेत प्रहरीले निगरानी थालेको छ । विभिन्न जिल्लामा रहेका संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको प्रहरीले जानकारी दिएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर