newskoseli.Com

देउवाको चेतावनी : ‘सरकार प्रेसमाथि आक्रमण गर्न उद्यत् छ, यो सह्य हुँदैन’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकार प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न उद्यत् रहेको आरोप लगाउँदै यो कुरा कुनै हातमा पनि सह्य नहुने चेतावनी दिएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाले शनिबार नेपाल प्रेस युनियन कास्कीको नवौं अधिवेशन तथा पुरस्कार वितरण समारोहको पोखरामा उदघाटन गर्दै वर्तमान सरकार प्रेस स्वतन्त्रतामाथि आक्रमण गर्न उद्यत् रहेको आरोप लगाए र भने– ‘प्रेसमाथि हुने कुनै किसिमका हस्तक्षेप काङ्ग्रेसलाई सह्य हुँदैनन् ।’

प्रेस स्वतन्त्रता र प्रजातन्त्र एक–अर्कामा अन्योन्याश्रित भएको सभापति देउवाले बताए । वर्तमान सरकार हरेक क्षेत्रमा असफल भएको उल्लेख गर्दै हिजो जथाभावी सपना बाँडेको सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेको उनले बताए ।

२००७ देखि प्रेस स्वतन्त्रता एवं लोकतन्त्रका पक्षमा निरन्तर सङ्घर्ष गरेको काङ्ग्रेस लोकतन्त्रको रक्षा एवं प्रेस स्वतन्त्रताका पक्षमा सधैं क्रियाशील रहिरहने दृढता उनले व्यक्त गरे । सभापति देउवाले नेपाल प्रेस युनियन कास्कीले स्थापना गरेको प्रेस युनियन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट अग्रज पत्रकार कविर राणा र समिरजंग शाहलाई सम्मान गरे । ३५ हजार ५ सय ५५ रुपैयाँ नगद सहितको उक्त पुरस्कार २ जनालाई संयुक्त रुपमा प्रदान गरिएको हो ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रेस स्वतन्त्रता एवं लोकतन्त्रका विरुद्धमा हुने जुनसुकै क्रियाकलापमा सशक्त कलम चलाउनुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासङ्घका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपालमा प्रजातन्त्र एवं प्रेस स्वतन्त्रताको आन्दोलनमा प्रेस युनियनले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताए । नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले संविधानले दिएका अधिकारलाई पनि वर्तमान सरकारले नियन्त्रण गर्न खोजेको आरोप लगाउँदै संविधानको रक्षा र लोकतन्त्रको विकासका पक्षमा कलम चल्नुपर्ने धारणा राखे ।

नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष शिरोमणि बरालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुरस्कार व्यक्तित्व छनोट समितिका संयोजक एवं न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुली, पुरस्कृत व्यक्तित्वद्वय कविर राणा र समीरजंग शाह, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्ष हरिहर विरही, युनियन कास्कीका उपाध्यक्ष माधव रेग्मी, सचिव प्रकाशचन्द्र सापकोटालगायतले प्रेस स्वतन्त्रताको पक्षमा भनाइ राखेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर