newskoseli.Com

सरकारको बचाउ गर्दै झलनाथले भने : ‘काङ्ग्रेस अनर्गल प्रचारबाजीमा’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले दुईतिहाइ बहुमतको सरकारसँग चिढिएको नेपाली काङ्ग्रेस अनर्गल प्रचारबाजीमा जुटेर भ्रम पैदा गराउने खेलमा लागेको आरोप लगाएका छन् ।

सुनसरीको दक्षिणी क्षेत्र देवानगञ्ज गाउँपालिकामा आइतबार आयोजित बृहत् सभा तथा कार्यकर्ता प्रवेश कार्यक्रममा बोल्दै नेता खनालले जनमतबाट बढारिएको काङ्ग्रेसले सरकारलाई कमजोर देखाउन हरसम्भव प्रयास गरिरहेको बताए । ‘काङ्ग्रेस आफ्नै पार्टीभित्रको बढ्दो असन्तुष्टि र गुटका कारण अत्तालिएको छ,’ उनले भने– ‘काङ्ग्रेस नेकपाको सरकारविरुद्ध दुष्प्रचारमा केन्द्रीकृत छ ।’

विभिन्न समयमा मुलुकको बागडोर सम्हाले पनि दीर्घकालीन सोच र दूरदृष्टिको अभावका कारण नेपाली काङ्ग्रेसले देश र जनताको सवालमा केही गर्न नसकेको आरोप समेत नेता खनालले लगाए । मुलुकको समृद्धि र विकासमा वर्तमान सरकारले कायापलट गरेको दाबी उनले गरे ।

कार्यक्रममा नेकपाका प्रदेश नं. १ इन्चार्ज भीम आचार्य, प्रदेश नं. १ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री जगदीशप्रसाद कुसियैतलगायतले आ–आफ्नो धारणा राखे । कार्यक्रममा रामचरण मेहता, रामचन्द्र मेहतासहित काङ्ग्रेस, राजपा र सङ्घीय समाजवादी फोरमका ३ सयभन्दा बढी स्थानीय नेता–कार्यकर्ता आ–आफ्ना पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर