newskoseli.Com

‘राष्ट्रपति होइन, सभापति र प्रधानमन्त्री बन्न चाहन्थें : पूर्वराष्ट्रपति रामवरण

पूर्वराष्ट्रपति डा. रामवरण यादवले राजनीति गर्दा आफूले राष्ट्रपति हुने अपेक्षा कहिल्यै नगरेको बरु नेपाली काङ्ग्रेसको सभापति तथा प्रधानमन्त्री हुने लक्ष्य राखेको बताएका छन् ।

आफू राष्ट्रपति रहँदा राजनीतिक दलहरुलाई सहमत गराउन नसकेको तथा कठिन र तरल अवस्थामा दोस्रो संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालीन बहालवाला प्रधान न्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको सम्झना समेत उनले गरेका छन् ।

सर्वोच्च अदालतका पूर्वरजिस्ट्रार र नेसनल ल कलेजका संस्थापक प्रमुख तथा कार्यकारी निर्देशक डा. रामकृष्ण तिमल्सेनाद्वारा लिखित ‘अदालतभित्र, अदालतबाहिर’ पुस्तकको मंगलबार ललितपुरमा विमोचन गर्दै पूर्वराष्ट्रपति यादवले वर्तमान संविधान आधुनिक र काम गर्न सक्ने संविधान भएकाले सोही आधारमा सङ्घीय गणतन्त्रात्मक समावेशी, धर्मनिरपेक्ष लोकतन्त्रलाई निरन्तर कायम गर्न सकिनेमा जोड दिए ।

नेपालको इतिहासका कठिन समयमा अदालतले प्रजातन्त्रको रक्षा गरेको बताउँदै आमसञ्चार, नागरिक समाज र चेतनशील समुदायले पनि अदालतको सहयोगीको भूमिका निर्वाह गर्नुपर्ने उनले बताए । संविधानसभामार्फत हतारमा एकमुष्ठ रूपमा संविधान पारित गर्नुपर्ने अवस्था बनेको सम्झँदै कानुनजस्ता कुरालाई पर्याप्त समय दिएर र छलफल गरेर अन्तिम रूप दिनु उपयुक्त हुने धारणा पूर्वराष्ट्रपति यादवले व्यक्त गरे ।

करिव ३ सय पृष्ठको, पाँच खण्डमा विभाजित र करिव ३१ वर्षको न्यायालयका अनुभव समेटिएको पुस्तक विमोचनका क्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तथा पूर्वप्रधान न्यायाधीश अनुपराज शर्माले बङ्गलादेशमा समेत प्रयोग हुन छाडेको बहालवाला प्रधान न्यायाधीशलाई सरकार प्रमुख बनाउनेमा आफू सहमत नभएको बताउँदै बहुदलीय प्रणाली भएको मुलुकमा स्वतन्त्र व्यक्तिको सरकार बन्ने र बहालवाला प्रधान न्यायाधीश सरकार प्रमुख बन्ने कुरा प्रजातान्त्रिक नभएको दाबी गरे ।

सात जना पूर्वप्रधान न्यायाधीशसँग रजिस्ट्रारका रूपमा काम गर्दा उनीहरूको व्यक्तित्व समेतका विषयमा लेखिएको पुस्तकका सम्बन्धमा पूर्वप्रधान न्यायाधीश मीनबहादुर रायमाझीले सर्वोच्च अदालतमा काम गर्दा आफूलाई थाहा नभएको विषयका जानकारी समेत पुस्तकमा समेटिएको उल्लेख गरे । पूर्वप्रधान न्यायाधीश कल्याण श्रेष्ठले कानुनी क्षेत्रको पनि साहित्य हुने र साहित्यले कानुनजस्तो निरस विषयलाई पनि सहयोग गर्न सक्ने विषयमा बहस हुनुपर्नेमा जोड दिँदै सुशासन, विकास, कानुनी राज्य तथा लोकतन्त्रले सँगै काम गर्नुपर्ने बताए ।

पूर्वप्रधान न्यायाधीश रामकुमारप्रसाद शाहले अदालत प्रशासन र न्याय प्रशासन निकै जटिल विषय भएको बताउँदै आजको अदालतको अवस्था निकै भिन्न भएको र नयाँ पुस्ताले नै अदालतप्रति जनआस्था कायम गर्न सक्ने र त्यसको गरिमा जोगाउन सक्ने धारणा व्यक्त गरे । उद्योगपति डा. उपेन्द्र महतोले हरेक व्यक्तिको मनमा अदालत हुने भन्दै त्यो अदालतले भनेका कुरा सुनेमा बाहिरको अदालत नै आवश्यक नपर्ने बताए ।

पुस्तकका समीक्षक, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य तथा पूर्वशिक्षामन्त्री डा. गङ्गालाल तुलाधरले हाल सुरक्षाकर्मी, पूर्वप्रशासक, राजनीतिज्ञ सबैमा आत्मकथा लेख्ने चाहना बढेको बताउँदै न्यायालयमा बस्नेले पनि जीवनी लेख्दा कठिनाइ आउन सक्ने बताए । फ्रिडम फोरमका प्रमुख तथा नेपाल पत्रकार महासङ्घका पूर्वसभापति तारानाथ दहालले उक्त कृति आत्मकथा नभई अनुभवको मिश्रण भएको बताउँदै भने– ‘न्यायपालिकामा क्षमता भएका व्यक्तिलाई किन अवसर दिइँदैन प्रश्न गर्नुपर्छ ।’

पुस्तकका लेखक डा. तिमल्सेनाले जीवनलाई विदेशी भाषा सिकाइसँग तुलना गर्दै आफ्नो ब्रह्मले देखेका कुरा लेखेको बताए । पुस्तक प्रकाशक घोस्ट राइटिङ नेपालका अध्यक्ष कमल ढकालले छायाँ लेखनको इतिहास ३ सय वर्षको भइसकेको बताउँदै प्रत्येक व्यक्ति आफैंमा महापुरुष भएकाले उसले आफैं वा छायाँ लेखनका माध्यमबाट आफ्ना अुनभव पछिल्लो पुस्तालाई हस्तान्तरण गर्नुपर्ने बताए । लेखकको पारिवारिक सदस्यका रूपमा पुष्पा पोखरेलले यसै पुस्तकबाट लेखकका अन्य आयाम तथा न्यायापालिकाको अवस्थाबारे थप बुझ्न सकिएको बताइन् । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर