newskoseli.Com

विप्लवसँग किन ‘निहुँ खोजे’ मोहनविक्रमले ?

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग पुराना एवं पाका कम्युनिस्ट नेता तथा नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह (एमबी) ले ‘निहुँ खोजेको’ दावी सो पार्टीका एक नेताले गरेका छन् ।

नेकपा (विप्लव) का विभिन्न कार्यक्रम तथा पार्टी र जनसंगठनहरुमा बिस्तारै जनआकर्षण तथा प्रवेशको लहर बढेको देखेर ‘आत्तिँदै’ मसाल र मोहनविक्रमहरुले आफूहरुसँग ‘अनाहकमा निहुँ खोजेको’ दावी ती नेताले गरे । आफ्नो पार्टीका समर्थकको बाहुल्यता रहेका विभिन्न गाउँपालिकाहरूमा विप्लव नेतृत्वको पार्टीले ‘जवर्जस्ती चन्दा असुली’ तीव्र बनाएको र उनीहरूका कार्यक्रमहरूमा सहभागी हुन आफ्ना समर्थकहरुलाई ‘धम्की दिने गरेको’ भन्दै नेता सिंहले विरोध गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले बिहीबार प्रेस विज्ञप्ति प्रकाशित गर्दै ‘त्यस्तो धम्की नदोहोर्‍याउन’ विप्लव नेतृत्वको पार्टीलाई चेतावनी दिएका छन् । ‘हामी यस्तो गतिविधिलाई गलत मान्दछौं र विरोध गर्दछौं’– महामन्त्री सिंहको विज्ञप्तिमा भनिएको छ ।

आफूहरुले नेकपा (विप्लव) लाई मित्रशक्ति माने तापनि उनीहरूले चाहिँ आफूप्रति सत्रुतापूर्ण व्यवहार अपनाउँदै गइरहेको गुनासो महामन्त्री सिंहले गरेका छन् । ‘उनीहरू र हाम्रा बीचमा भएका कतिपय राजनीतिक मतभिन्नताका कारणले उनीहरूका आन्दोलनका सबै कार्यक्रमहरूलाई हामीले समर्थन गर्न नसक्ने कुरा प्रस्ट छ । त्यो अवस्थामा उनीहरूले आफ्नो आन्दोलनको समर्थनका लागि कुनै पनि प्रकारको दबाव दिने वा जबर्जस्ती गर्ने कार्य हाम्रा लागि सह्य हुन सक्दैन । उनीहरूले त्यस प्रकारको कुनै कारबाही गरेमा त्यसको हामीले सशक्त प्रकारले प्रतिरोध गर्ने कुराको पनि जानकारी गराउन चाहन्छौं’– चेतावनी दिँदै सिंहले भनेका छन् ।

विप्लव नेतृत्वको नेकपाका ती नेताले भने सहकार्य, संयुक्त मोर्चा र सम्भव भएसम्म पार्टी एकता नै गर्ने गरी पटक–पटक छलफल भइरहेको सन्दर्भलाई बिर्सेर महामन्त्री सिंहले आफूहरुमाथि इर्ष्या मात्रै पोख्ने गरी कपोलकल्पित आरोप लगाएको दावी गरेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर