newskoseli.Com

विप्लवलाई प्रधानमन्त्रीको चेतावनी : ‘त्यो लुटेरा समूह हो, कारबाही गरिन्छ’

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ‘लुटेरा समूह’ को संज्ञा दिएका छन् ।

‘लुट्नकै लागि नेकपा नाम राखिएको छ, लाज भैसक्यो,’ राजधानीस्थित राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित ‘राजनीतिक सहमति’ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले भने– ‘नेकपा भन्ने नाम हटाएर लुटेरा समूह वा विप्लव समूह वा प्रकाण्ड समूह भने हुन्छ ।’

‘त्यो बाटो छोड अन्यथा सरकारले शान्ति–सुरक्षा बहाल गर्न उचित कदम चाल्छ, म सुन्ने गरी भन्न चाहन्छु’– नेकपा (विप्लव) र त्यसका नेताहरुलाई चेतावनी दिँदै प्रधानमन्त्री ओलीले भने । विप्लव नेतृत्वको नेकपाले चन्दामा नाममा लुट्दै हिँडेको आरोप प्रधानमन्त्री ओलीले लगाए ।

‘विप्लव समूह लुट्ने समूह हो, चन्दाका नाममा लुटेर हिँड्न, हत्या गर्दै हिँड्न र विष्फोट गराउन मिल्दैन’ सीके राउतका माग पूरा गरेको सार्वजनिक गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले निर्देशनात्मक शैलीमा भने– ‘विष्फोट गराउने अनि कम्युनिस्ट पार्टीको नाम लिँदै हिँड्ने ? यस्तो काम बन्द गर्नोस् ।’

विप्लवका कार्यकर्ताहरुबाट बरामद भएका हतियार र पोस्टर समेत आफूले हेरेको उल्लेख गर्दै ‘विप्लव समूहलाई कारबाही गर्ने’ चेतावनी प्रधानमन्त्री ओलीले दिए ।

‘उहाँले ठ्याक्कै भनेको के हो र सन्दर्भ के–कस्तो हो, हामीलाई विस्तृत जानकारी त छैन,’ प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिबारे जिज्ञासा राख्दा नेकपा (विप्लव) का एक नेताले न्युजकोसेलीलाई भने– ‘तर, उहाँहरुका समग्र व्यवहार र अभिव्यक्ति हेर्दा हामीले ०५२ मा जनयुद्ध थालेको बेला तत्कालीन गृहमन्त्री खुमबहादुर खड्काले दिएको ध्वाँसभन्दा फरक लागिरहेको छैन ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर